चार महिनामै नेपालबाट बाहिरियो साढे ६ खर्ब, व्यापार घाटा ५६ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चौमासमा नै नेपालबाट दैनिक उपभोग्य बस्तु तथा सेवा खरिदसहितका नाममा साढे ६ खर्ब रुपियाँ बाहिरिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिना (साउन–कात्तिक)को तथ्यांक अनुसार ६ खर्ब ५० अर्ब रुपियाँको आयात भएको छ । यस्तो आयात गत वर्षको सोही अवधिको तुलनामा ६१.५७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सो अवधिमा भएको यस्तो आयात चार खर्ब दुई अर्ब रुपियाँको मात्रै थियो ।

तथ्यांक अनुसार नेपालको व्यापार घाटा चार महिनामा नै ५६.८३ प्रतिशतले बढेको छ । यस्तो व्यापार घाटा गत वर्षको सोही अवधिमा तीन अर्ब ६२ अर्ब मात्रै थियो भने समीक्षा अवधिमा यस्तो व्यापार घाटा पाँच खर्ब ५६ अर्ब रुपियाँ पुगेको छ ।

Advertisement

यो अवधिमा नेपालबाट भएको निर्यात चाहिँ जम्मा ८२ अर्ब रुपियाँको मात्रै छ । नेपालबाट भएको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १०४.२९ प्रतिशतले बढेको भएपनि आयातको तुलनामा निर्यातको हिस्सा न्यून रहेको छ । गत वर्ष यो अवधिमा नेपालबाट भएको निर्यात ३६ अर्ब रुपियाँको मात्रै थियो ।

नेपालबाट भएको यस्तो आयात निर्यातको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापार ५६.४५ प्रतिशतले बढेको छ । यो  अवधिमा नेपालले सात खर्ब ३२ अर्ब रुपियाँको वैदेशिक व्यापार गरेको छ । यस्तो व्यापार अघिल्लो वर्षको सोही अवधिमा चार अर्ब ४२ अर्ब रुपियाँको मात्रै थियो ।

तथ्यांक अनुसार नेपालको निर्यात हिस्सा जम्मा ११.२१ प्रतिशतको मात्रै छ । यस्तो हिस्सा अधिल्लो वर्ष ९.०८ प्रतिशत रहेको पनि तथ्यांकले देखाएको छ । यो अवधिमा नेपालको आयात हिस्सा भने ८८.७९ प्रतिशत छ । गत वर्ष यस्तो हिस्सा ९०.९२ प्रतिशत रहेको पनि तथ्यांकले देखाएको छ ।

चालू आर्थिक वर्षको पहिलो चार महिनाको आयात निर्यातको अवस्था


 

Advertisement

Advertisement