दुई अर्ब बढी नाफा कमाउने ग्लोबल, एनआईसी एशिया र नबिल बैंकको यस्तो छ वित्तीय अवस्था

Advertisement

काठमाडौँ । २७ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकहरुले प्रकाशित गरेको अपरिस्कृति विवरण अनुसार गत आवको सोही अवधिभन्दा खुद नाफा १०.१० प्रतिशतले बढाएका छन् । 

गत आव २०७७/७८ को पुस मसान्तसम्म ३१ अर्ब ७ करोड ३२ लाख रुपियाँ खुद नाफा कमाएका बैंकहरुले चालु आव् २०७८/७९ को पुस मसान्तसम्म ३४ अर्ब २१ करोड ६ लाख रुपियाँ खुद नाफा कमाउन सफल भएका हुन् । 

Advertisement

वित्तीय विवरणहरुको आधारमा तुलना गर्दा २७ वाणिज्य बैंक मध्ये ३ बैंकले २ अर्बभन्दा बढी कमाएका छन् । यसरी २ अर्ब भन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक र नबिल बैंक छन् । 

यस्तो छ तीन वाणिज्य बैंकको वित्तीय अवस्था:

ग्लोबल आईएमईले कमायो साढे दुई अर्ब 
ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको पहिलो छ महिनामै दुई अर्ब ६६ करोड ३३ लाख रुपियाँ खुद मुनाफा कमाउन सफल भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफामा गत बर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशतको वृद्धि देखिएको हो । 

खुद फि तथा कमिशन आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण ग्लोबल आईएमईको नाफा बढेको देखिन्छ । दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ०.४९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.६९ प्रतिशत बढेको छ। त्यस्तै, सञ्चालन मुनाफा १३.५७ प्रतिशत बढेको छ । 

समीक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा एक अर्ब ४८ करोड ५६ लाख रुपियाँ रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । बैंकको यस्तो आम्दानी २१.४० रुपियाँबाट बढेर २२.३९ रुपियाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपियाँ ९७ पैसा रहेको छ।

समीक्षा अवधिमा ग्लोबल आईएमईको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३.४९ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निक्षेप १.२९ प्रतिशत बढेको छ भने कर्जा १२.१५ प्रतिशत बढेको वित्तीय विवरणमा देखिन्छ ।

एनआईसी एशियाका अधिकांश सूचक उत्साहजनक
एनआईसी एशियाले चालु आर्थिक बर्षको पहिलो छ महिनासम्ममा खुद मुनाफा १६.५७ प्रतिशतले बढाएर दुई अर्ब ४० करोड पुर्याउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा खुद मुनाफासहित अधिकांश सुचकमा प्रगति देखिएको हो । 

यसैगरी एनआईसी एशियाको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंक छ । साथै, बैंकले वार्षिक प्रतिशेयर आम्दानी रू. ४१.४३ आर्जन गर्न सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत एनआईसी एशियाले कर्जा असुलीमा उत्साहजनक नतिजा हासिल गरी निष्कृय कर्जालाई ०=४७ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

बैंकले दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब)ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुर्याउन सफल भएको छ भने निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब)ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पुर्‍याउन बैंक सफल भएको छ । 

नबिल बैंकको खुद मुनाफा दुई अर्ब १८ करोड पुग्यो
नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिना दुई अर्ब १८ करोड १४ लाख रूपियाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको भन्दा १७ करोड रूपियाँले बढी हो ।बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासम्मको वित्तीय विवरण अनुसार उसको वितरणयोग्य मुनाफा एक अर्ब ४५ करोड रूपियाँ छ, जुन अघिल्लो सोही अवधिभन्दा ३९ करोड कम हो ।

पुससम्म बैंकको ईपीएस घटेर २९.९९ रूपियाँ रहेको प्रतिशेयर आम्दानी २३.५९ कायम भएको छ पीई रेसियो ४७.०६ रहेको छ । नविल बैंकको प्रतिशेयर नेटवर्थ १८४.२८ रूपियाँ छ ।समीक्षा अवधिमा नविलको खुद ब्याज आम्दानी बढेर चार अर्ब २१ करोड पुगेको छ । ब्याजदर स्प्रेड ३.४४ प्रतिशतमा खुम्चिएको छ भने कस्ट अफ फन्ड, खराब कर्जा र बेस रेट बढेको छ । 


 

Advertisement

Advertisement