अमेरिकाको राजदूत भएपछि एमसीसी पास गर्न सहजीकरण गर्छुः खतिवडा

Advertisement

काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले अमेरिकी अनुदान परियोजना एमसीसी पास गर्न आफूले सहजीकरण गर्ने बताएका छन् । 

संसदीय सुनुवाईका क्रममा बिहीबार सोधिएका प्रश्नको जवाफ दिने क्रममा खतिवडाले सन् २०१७ मा एसमीसी सम्झौता भएको र त्यसलाई कार्यान्वयनका लागि योजना पनि तयार भएको जानकारी दिए । यसअघि अर्थमन्त्री हुँदा एमसीसी कार्यान्वयनको सम्झौता गरेका उनले यसलाई पास गर्न आफू सहजकर्ता हुने बताएका हुन् । 

Advertisement

विगतमा अर्थमन्त्री हुँदा आफूले उक्त सम्झौता पारित गराउन भूमिका खेलेको पनि खतिवडाले स्वीकार गरे । सँगसँगै उनले परिवर्तिन भूमिकाअनुसार आफूले काम गर्ने पनि बताए । सत्तारुढ दलका सांसदले एमसीसीलाई नेपालको हीत हुने बनाउन के कस्तो भूमिका खेल्नुहुन्छ ? भनेर प्रश्न गर्दा उनले भने, ‘अर्थमन्त्रीको रुपमा एसमीसीलाई पारित गराउनका यसो गरौं र उसो गरौं भन्ने हुन्थ्यो । अब परराष्ट्र मन्त्रालयले जे निर्देशन दिन्छ, त्यो काम गर्ने हो ।’

उनले एमसीसीबारे मानिसहरुको बुझाई फरक परेको भन्दै सोही कारण यसमाथि प्रश्न उठेको बताए । त्यो बुझाउने काम आफूनो भएको खतिवडाको भनाई छ ।  एमसीसीलाई लिएर अमेरिकी अधिकारीहरूको नेपालमा कुनै स्वार्थ नरहेको भन्दै उनले यसको बचाउ पनि गरे । उनले भने, ‘उहाँहरूले नेपालमा हाम्रो विकासको मात्रै स्वार्थ हो त्यसबाहेक अरु स्वार्थ होइन भन्ने कुरा गर्नुभएको छ ।’ 

खतिवडाले एमसीसीलाई लिएर नेपालमा उठेका प्रश्नबारे अमेरिकी अधिकारीहरूलाई बताउने बताउँदै अमेरिकाबाट हुने अन्य सहयोगलाई पनि एकद्वार प्रणालीबाट ल्याउन भूमिका खेल्ने बताए । 

Advertisement

Advertisement