विवादास्पद सुगौली सन्धी २५० बर्षः न सक्कल प्रमाण भेटियो, न भूमि फिर्ता गर्न पहल भयो

Advertisement

काठमाडौं । नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारबीच सुगौली सन्धि भएको आज ठ्याक्कै दुई सय पाँच वर्ष पुगेको छ । नेपाललाई मेची र कालीबीच सीमित गर्ने यो संवेदनशील सन्धिको सक्कल प्रति नै नेपालसँग छैन ।

सुगौली सन्धिका आधारमा नेपालले ४० हजार वर्गकिलोमिटर (करिब एकतिहाइ) भूभाग गुमाएको छ । तर, बचेको भूभागमा पनि स्पष्ट सीमांकन नहुँदा नेपाल र भारतबीच सीमा समस्या तरल अवस्थामा छ । एकीकरण गर्दैै फैलिएको गोर्खाली सैनिक र भारतमा उपनिवेश बलियो बनाउँदै लगेको ब्रिटिस सैनिक आमनेसामने भएपछि सुगौली सन्धिको पृष्ठभूमि बनेको थियो । खासगरी गोर्खा राज्य विस्तार रोक्न सन् १८१४ नोभेम्बर १ मा बेलायतले नेपालविरुद्ध एकतर्फी युद्ध घोषणा गरेको थियो । सीमाविद् श्रेष्ठ भन्छन्, ‘खासगरी बुटवलको पालिही, स्युराज, माझखण्ड, खजहनीमा भारतले दाबी गर्यो । ती भूभाग लखनउको नबाबको भएकाले भारतको पर्छ भन्ने अंग्रेजको दाबी थियो । नेपालको भनाइ त्यो पाल्पाको सेन राजाको हो, सेन राज्य नेपालमा गाभिएपछि त्यो भूभाग स्वतः नेपालको हो भन्ने यताको तर्क थियो । यसैलाई लिएर अंग्रेजले सन् १८१४ मा युद्ध सुरु गर्यो ।’

Advertisement

दुई वर्ष चलेको युद्धपछि अंग्रेजले २ डिसेम्बर १८१५ मा शान्ति तथा मैत्री सन्धिको मस्यौदा पठाएको हो । ‘१५ दिनभित्र सन्धि अनुमोदन गरेर पठाउन भनिएको थियो, तर नेपालले मानेन । काठमाडौंमा भएका तत्कालीन भाइभारदारको बैठकमा मान्नुपर्छ र मान्नुपर्दैन भन्ने दुवै मत रह्यो । अन्योलबीच केही समय नेपालले हस्ताक्षर गरेन,’ श्रेष्ठ भन्छन्, ‘तर, अंग्रेजले अब काठमाडौं र पूरै नेपाल नै कब्जा गर्ने प्रचारबाजी गरेपछि बाध्य भएर नेपालले सन्धिमा हस्ताक्षर गरेको हो, राज्यको प्रतिनिधित्व सुगौली पुगेका चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले सन्धिमा हस्ताक्षर गरेका हुन् ।’

नयाँपत्रिका दैनिकबाट ।

Advertisement