बीआरआई अघि नबढेकोमा चिनियाँ विदेशमन्त्रीसँग ओलीको चासो

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बीआरआईसँग सम्बन्धित आयोजनाहरु छिटो अगाडि बढाउन चिनियाँ विदेशमन्त्री वाङ यीसँग आग्रह गरेका छन् ।

यीसँग आइतबार बिहान भएको भेटवार्तामा उनले बीआरआईसँग सम्वन्धित परियोजनाहरु अघि बढ्न नसकेकोमा चासो राखेको एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन् । 

Advertisement

बीआरआईसँग सम्वन्धित सडक, रेल, सिंचाइ, जलविद्युत, सीमा नाका, स्वास्थ्य र शिक्षाका आयोजनालाई छिटो अगाडि बढाइदिंदा समृद्ध नेपाल सुखी नेपाली बनाउने आकांक्षा पूर्तिमा थप योगदान पुग्ने भन्दै ओलीले आफूहरु चीनसँग आर्थिक सम्वन्ध विस्तार गर्न इच्छुक रहेको बताएका थिए । 

उनले बन्द रहेका उत्तरी नाका खुलाउन, कोभिडका कारण नेपालमा आएका विद्यार्थीहरुलाई चीन फर्किएर अध्ययन पूरा गर्ने वातावरण मिलाउन, हुम्ला पारी करिब पाँच सय नेपाली रोकिएको समाचार आएकाले यदि त्यो कुरा सत्य हो भने उनीहरुलाई छिटो ल्याउने वातावरण मिलाइदिन आग्रह गरेका थिए । कोभिडको समयमा चीनले गरेको सहयोगप्रति ओलीले धन्यवाद पनि दिएका थिए । 

चिनियाँ विदेशमन्त्री यीले चीन तत्कालीन र दीर्घकालीन योजनाहरु छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान  प्रतिबद्ध रहेको बताएका थिए । आजै विदेशमन्त्री यीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए । 

भट्टराईले भने, ‘दुईपक्षीय विषयका थुप्रै विषयहरुका बारेमा छलफल भयो । अहिले पछिल्लो कालमा बीआरआईसँग जोडिएर जुन आयोजनाहरु अघि बढाउनुपर्यो भनेर शुरु गरेका छौँ, सहमति गरेका छौँ, ती कुराहरुलाई निरन्तरता दिनुपर्छ । तिनीहरुलाई छिटो भन्दा छिटो कम्प्लिट गर्नुपर्छ जसबाट नेपालले फाइदा लिनसक्ने स्थिति छ । त्यसभित्र पर्ने रोडका प्रोजेक्टहरु, रेलका आयोजनाहरु, सिंचाईका आयोजनाहरु, जलविद्युत उत्पादनका आयोजनाहरु, नाकाहरु निर्माण गर्ने आयोजनाहरु, स्वास्थ्यको क्षेत्रमा उहाँहरुले गर्ने स्वास्थ्यका आयोजनाहरु, शिक्षाको क्षेत्रका आयोजनाहरु यी सबै पक्षमा छिटो अघि बढाइदिँदा नेपालको जुन एउटा आकंक्षा छ, समृद्ध नेपाल सुखी नेपाली बनाउने, त्यो आकंक्षा पूर्तिमा चीनको सहयोग उल्लेख्य रहँदै आएको छ । त्यसमा थप योगदान पुग्नेछ भन्ने कुरा राख्नुभयो ।’ 

उनले थपे, ‘अहिले नेपालभित्र तत्कालीक केही समस्याहरु उत्पन्न भएका छन् । खासगरी कोरोनाको महामारीपछि नाकाहरु बन्द भइरहेको छ । यो बन्द भएका नाकाहरु खुल्नुप¥यो । त्यसैगरी नेपाली विद्यार्थीहरु जो चीनमा अध्ययन गरिरहेका थिए । कोभिडका कारण उनीहरु फर्किएर आउनुपर्ने स्थिति भएको थियो । उनीहरुलाई छिटो भन्दा छिटो लगेर उनीहरुको अध्ययनलाई सुचारु गर्ने एउटा व्यवस्था बनोस् भन्ने भयो । अर्को एउटा विषय हुम्ला भन्दा पारी करिव ५ सय जना नेपाली अलपत्र परेको सूचना आएको छ । यद्यपी त्यो सूचना सही कति हो भन्ने कुरा पनि अध्ययन होस्, यदी त्यसरी नेपालीहरु अड्किएर रहेको स्थिति हो भने उनीहरुलाई आउने व्यवस्था मिलाइयोस्, भन्ने कुरा भए । अरु हिमालय मल्टी डाइमेनिस्नल रिलेशनको एउटा रणनीतिक उद्देश्यका साथ अघि लैजाने भन्ने छ, त्यसलाई अघि बढाउनका लागि पनि भ्रमण फलदायी रहनेछ भन्ने कुरा भयो । चिनियाँ परराष्ट्रमन्त्रीका तर्फबाट तपाईले उठाउनु भएका तत्काल समाधान गर्नुपर्ने विषयहरु र दीर्घकालीन रुपमा बीआरआईमार्फत र अरु सहमतिमार्फत अघि बढाइएको आयोजनाहरु चीन सरकार छिटो भन्दा छिटो तिनीहरुलाई कार्यान्वयनमा लैजान र कोभिड महामारीकाबिरुद्धमा जुन सहयोग गरेका छौँ, सबैकुरामा चीनको पुरानो प्रतिवद्धताअनुरुप निरन्तरता दिनेछौँ ।’

भट्टराईले छलफलमा चीनले नेपालसँग गरेको सहमति र सम्झौता पूरानै प्रतिवद्धताअनुसार नै अघि बढाउने विदेश मन्त्री यीले जानकारी दिएको पनि बताए । तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रवार नेपाल आएका यी आज नै स्वदेश फर्किने कार्यतालिका छ । 

Advertisement

Advertisement