सबैभन्दा लामो समय वृक्षासन गरेर विक्रम खड्काले विश्व कीर्तिमान कायम गरे

Advertisement

काठमाडौं। तीन घण्टा ५० मिनेट वृक्षासन (ट्रि पोज) योग गरेर नेपालका विक्रम खड्काले विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्। 

वाच्छा–१, पर्वत स्थायी निवासी उनले एउटा खुट्टाले टेकेर नमस्कारको मुद्रामा तीन घण्टा ५० मिनेट समय बिताएर रेकर्ड कायम गर्न सफल भएका हुन् । बिहीबार लायन्स क्लब अफ काठमाडौं च्याम्पियनले नेपाल पर्यटन बोर्डमा कार्यक्रम गरी खड्कालाई विश्व कीर्तिमानको प्रमाणपत्र (गिनिज बुक अफ वल्र्ड रेकर्ड) प्रदान गरिएको हो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सो प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

Advertisement

यसअघि उक्त कीर्तिमान भारतका सनत रथको नाममा थियो । उनले एक घण्टा छ मिनेट ५५ सेकेण्डको रेकर्ड थियो । गत साउन ५ मा कीर्तिमानको लागि प्रयास गरेर भिडियोसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विवरण पठाइएकोमा गिनिज बुकले केही हप्ता अगाडी मात्र प्रमाणपत्र पठाएका लायन्स क्लब अफ काठमाडौं च्याम्पियनले जानकारी दियो । 

मनोक्रान्ती अभियानका संस्थापक डा. योगी विकासानन्दको ५ वर्षे आत्मरुपान्तरण तथा नेतृत्व विकास कार्यक्रममा सहभागी भई योग सिकेका खड्काले यसअघि पनि अन्य कीर्तिमानहरुः माइन्ड टेक्नोलोजी, सुपरलर्निङ, योग, ध्यान, जस्ता प्रशिक्षण पूरा गरेका छन् ।
 
खड्काका अनुसार २०६५ सालमा काठमाडौंको टुँडिखेलमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा लगातार ५ घण्टा शीर्षासन (टाउकोले टेकेर गरिने आसन) गरेका थिए जुन गिनिज बुक अफ वर्ल्ड रेकर्डले आफ्नो साईटमा राखेको छ ।

त्यस्तै, २०६६ सालमा खड्काले गोदावरीस्थित मनोक्रान्ती आश्रममा लगातार ४ घण्टा त्राटक (बलिरहेको मैनबत्तीलाई आँखा नझिम्क्याई हेर्ने क्रिया) गरेका थिए । उक्त आश्रममा नै उनले नौ फिटको खाडलमा सात दिन निराहार रहेर भू–तपस्या पनि गरेका थिए । साथै, तीन वर्षसम्म लगातार फलाहार अर्थात फलफूल र सागसब्जी मात्र सेवन गरेर बसेका थिए। खड्काले लुुम्बिनी विश्वविद्यालयबाट बुद्धिजम विषयमा स्नातकोत्तर गरेका छन् ।

खड्काले व्यवसायिक शिक्षा तथा तालिम परिषद (सीटीईभीटी)बाट आयुर्वेद स्वास्थ्य सहायक (वैद्य) एंव वाल्मीकि विद्यापीठबाट छ महिने योग तथा प्राकृतिक चिकित्साको तालिम पनि लिएका छन्। व्यवसायिक रुपमा काठमाडौंस्थित गोंगबुमा न्युलाइफ आयुर्वेद क्लिनिक एवं पशुपति हर्वलका संचालक रहेका विक्रम खड्का लायन्स क्लब अफ च्याम्पियन आवद्ध रहेर समाजसेवामा पनि संलग्न रहँदै आएका छन्।

Advertisement

Advertisement