‘भुटीदिदी’ले ७३ वर्षमा पाइन् नागरिकता !

बझाङ । स्थानीय काँडा गाउँमा दर्जनबढी ज्येष्ठ नागरिक छन् । उनीहरुमध्ये एकजना अविवाहित महिला छिन् भुटी गुरुङ उर्फ भुटी दिदी । 

हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटीदिदीका सात दशक काँडामा लेकबेँसी गर्दै बिते । २००८ सालमा जन्मिएकी भुटीदिदीका बाल्यकालबाटै भेडा–च्याङ्ग्रा साथी बने । 

Advertisement

त्यसपछिका साथी आफ्नै भाइबहिनी, गाउँले भाइबहिनी र उनीहरूका सन्तान भए । यसैमा बित्यो उनको ७३ वर्ष  । घरको काम, भेडा–च्याङ्ग्रा, गाइवस्तुको गोठ नै उनका लागि संसार बन्यो । यतिसम्म कि उनले विहे गर्नेसमेत समय पाइनन् । 

आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्यो । जीवनको उत्तराद्र्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटीदिदी भतिज टेक गुरूङको घरमा बस्छिन् । 

विसं ०६४ सालतिर गाउँमा नागरिकता दिने घुम्ती टोली आएपछि धेरैले नागरिकता पाएको र फुपू गोठालो गएको हुँदा छुटेको हो । भतिज टेकका अनुसार त्यस बेलामा पनि धेरै जनाको नागरिकता बनाउन छुटेको थियो । 

साइपालवासीलाई नागरिकता बनाउन त्यति सजिलो छैन । पैदल हिँडेर नै चार÷पाँच दिनसम्म लाग्ने सदरमुकाम ओहोरदोहोर गर्दा प्रतिव्यक्ति रु ३० हजार खर्च हुन्छ । खर्च र समयका कारण पनि केहीले नागरिकता लिन ढिलाइ गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेल बताउँछन् ।  

प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘सात दशकसम्म पनि नागरिकता नपाएको भन्ने खबर सुनेपछि घरमै गएर पनि नागरिकता दिनुपर्छ भन्ने सोचेँ । त्यसका लागि हिँडेरै भए पनि साइपाल जाने तयारीमा थियौँ । सौभाग्यवश, साइपालमा जलविद्युत् उत्पादनको तयारी गरिरहेको कम्पनीको हेलिकोप्टर आयो । त्यसैमा गएर नागरिकता प्रदान गर्यौँ ।’ 

Advertisement