जनजातिको परम्परा जोगाउन वैदेशिक रोजगारी त्यागेर स्वदेशमै व्यवसाय सुरु

Advertisement

काठमाडौं । करिब १२ वर्ष वैदेशिक रोजगारीमा जीवन बिताएका गणेश गुरुङले आफ्नो परम्परा जोगाउन स्वदेशमै व्यवसायको थालनी गरेका छन् । 

गुरुङले जनजातिको परम्परागत लुगा, गहनालगायतका सामान प्रवर्द्धन गर्ने उद्देश्यले टोखा नगरपालिकास्थित भाटभटेनी सुपरमार्केट सामुन्ने शुक्रबारदेखि ‘जिजि लण्डन भाटभेटेनी’ नामक पसल सञ्चालनमा ल्याएका छन् । 

Advertisement

विदेशमा बसेर सिकेको जोश, जागर र सीपलाई स्वदेशमा प्रयोग गरी कसरी आत्मनिर्भर बन्न सकिन्छ ? भन्ने उदाहरणको रुपमा उनले थालनी गरेको व्यवसायले दर्साउँछ । गुरुङले पसलमा बेलायत, सिंगापुर, मेलेसिया, हङकङ, चाइनिज, नेपालीलगायतकामा निर्मित जनजातिको संस्कृति झल्काउने लुगा, गहना आदि बिक्रीको निम्ति राखिएको बताए । 

सिंगापुरे लुङ्गी, मखमलको घलेक, पछ्यौरा, ताटनको पछ्यौरा, मलेनाको पछ्यौरा, बेलायतको हेण्डमेड र रेडिमेड स्वीटर, घण्ठमाला, नौगेडी माला, पैसा र मुंगाको माला, औठी लगायतका गरगहना हाल उनको पसलको मुख्य आकर्षक हुन् ।

व्यवसायी गुरुङले जनजातिको लोप हुँदै जान लागेको परम्परालाई बचाउनको लागि पनि वैदेशिक रोजगारीलाई त्यागेर विशेष खालको पसल खोलेको बताए । उनले पसलको नाम लण्डन राख्नुको कारण खुलाउँदै भने, ‘जनजातिको परम्परामा प्रयोग गरिने लुगा, गरगहना प्राय यूकेको उत्पादन प्रख्यात भएकाले पसलको नाममा लण्डन मिसाएको हो ।’

गुरुङ, राई, लिम्बु आदिको परम्परा, भेषभुसालाई प्रवर्द्धन गरौं भन्ने उद्देश्यले पसलको नाम त्यही अनुसार राखेको र जनजातिको कला, संस्कृति आदिमा प्रयोग हुने सामानहरुको व्यवसायलाई विशेष प्राथमिकता दिएको उनले बताए । हाल गुरुङको पसलमा जनजातिले प्रयोग गर्ने पूरै सामान भने राखिसकिएको छैन् । 

वैदेशिक रोजगारीबाट फर्केपछि जीवनमै पहिलो पटक सो व्यवसाय करिब ३० लाख लगानीमा सुरु गरेको उनले बताए । गुरुङका अनुसार हाल सो पसलमा राखिएका सामानहरु सुपथ मूल्यमा जोकोहीले किन्न सक्छन् । 

Advertisement