आइक्यानका पदाधिकारीले गरे पदभार ग्रहण, बैंक तथा वित्तीय संस्थाहरु सम्मानित

Advertisement

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौँ परिषद्को दोस्रो कार्याकालका लागि नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण गरिएको छ । गत शुक्रबार आयोजित कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष युद्धराज ओलीले नवनिर्वाचित अध्यक्ष भाष्करसिंह लालालाई पदभार हस्तान्तरण गरेका हु्न् । 

सो अवसरमा अध्यक्ष लालाले नवनिर्वाचित उपाध्यक्ष सुजनकुमार काफ्लेलाई शपथ गराएका थिए । 

Advertisement

कार्यक्रममा उत्कृष्ट वित्तीय प्रतिवेदन तयार गर्ने विभिन्न क्षेत्रका संस्थालाई सम्मान गरिएको थियो । बैंकिङ क्षेत्रतर्फ उत्कृष्ट वित्तीय प्रतिवेदन तयार गरी प्रथम हुन सफल सिद्धार्थ बैंक लिमिटेड, दोस्रो भएको मेगा बैंक नेपाल लिमिटेड र तेस्रो भएको सनराइज बैंक लिमिटेड, विकास बैंकतर्फ प्रथम हुन सफल मुक्तिनाथ विकास बैंक र दोस्रो हुन सफल ज्योति विकास बैंकलाई पुरस्कृत गरिएको थियो । 

यस्तै सेवा क्षेत्रमा उत्कृष्ट प्रतिवेदन बनाउन सफल सानिमा जनरल इन्सुरेन्स तथा सामान्य क्षेत्रतर्फ प्रथम बुटवल पावर कम्पनी, दोस्रो कर्जा सूचना केन्द्र लिमिटेड र तेस्रो बोटलर्स नेपाल तराई लिमिटेडलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट भएका विभिन्न कर्पोरेट संस्थालाई महालेखा नियन्त्रक सुमनराज अर्यालले पुरस्कृत गरे । कार्यक्रममा संस्था स्थापनाको समयमा तदर्थ परिषद्का सदस्य तथा संस्थामा २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । 

कार्यक्रममा महालेखा नियन्त्रक अर्यालले लेखा व्यवसायलाई नवीन प्रविधिसँग जोडेर लैजानुपर्ने बताए । नवनिर्वाचित अध्यक्ष लालाले लेखा व्यवसायीले आफ्नो क्षमतालाई परिस्कृत गरेर लैजानुपर्ने बताए ।  निवर्तमान अध्यक्ष ओलीले चार्टर्ड एकाउन्टेन्टको क्षमता अभिवृद्धि, चार्टर्ड एकाउन्टेन्ट अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको तथा नेपालको लेखा परीक्षणको मापदण्डलाई अन्तर्राष्ट्रियस्तरको बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए ।  

Advertisement

Advertisement