‘जिआई वायर उद्योग बारुदको थुप्रो भएको छ, अब केही दिनमै पड्केर खरानी हुन्छ !’

Advertisement

काठमाडौं । यस बर्षको बजेटले केही उद्योगलाई धरासायी बनाउने काम गरेको भन्दै पूर्वका उद्योगीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग गुनासो पोखेका छन् । 

मंगलबार मोरङ व्यापार संघले गरको कार्यक्रममा उद्योगीले बजेट निर्माण गर्दा नीतिगत भ्रष्टाचार गरेर जिआई वायर, स्यानिटरी प्याड र घीउतेल उद्योगलाई धराशायी बनाउने काम गरिएको भन्दै गुनासो गरेका हुन् । 

Advertisement

संघका अध्यक्ष नवीन रिजालले राज्यले बजेट निर्माण गर्दा करोडौं जनतालाई राहत दिन बिर्सिएर एक–दुई घरानालाई पोस्ने काम गरेको बताए । यसलाई तुरुन्त सच्याइनुपर्ने उनको माग छ । 

संघका पूर्वअध्यक्ष पवन शारडाले उद्योगमन्त्रीले मारमा परेका उद्योगीको समस्या हेर्नुपर्ने बताए । उनले बजेटका कारण मारमा परि बन्द गर्नुपरेको उद्योगहरु पुनःसंचालनको व्यवस्था गरिदिन माग गरे । 

विशाल ग्रुपका अध्यक्ष एवं कमला आइरनका सञ्चालक जगदीशप्रसाद अग्रवालले बजेटले जिआई वायरका उद्योगीलाई सुसाइड गर्ने अवस्थामा पुर्याएको गुनासो गरे । उनले बजेटले निर्धारण गरेको राजस्व संरचनाका कारण मोरङ–सुनसरीका ५ जिआई वायर उद्योग अहिले बारुदको थुप्रो भएकोले अब केही दिनमै पड्केर खरानीमा परिणत हुने बताए । 

मारमा परेका उद्योग सञ्चालकहरू आत्महत्या गर्ने परिस्थितिमा रहेको भन्दै अग्रवालले मोरङ–सुनसरीका ५ जिआई वायर उद्योगले प्रतिदिन २०–२० लाखका दरले एक करोड घाटा व्यहोरिसकेको र ४५ दिनयता ४५ करोडको घाटा भइसकेको तथ्याङ्क प्रस्तुत गरे । 

हुलास वायरका सञ्चालक युक्ति गोल्छाले मोरङ–सुनसरीका ५ जिआई वायरका १५ सयभन्दा बढी श्रमिकहरू बेरोजगार भएको बताए । 

सो अवसरमा मन्त्री बडुले जिआई वायर, स्यानिटरी प्याड र घिउ उद्योगका समस्याका बारेमा आफूलाई जानकारी भएको भन्दै त्यसको समाधानतर्फ आफू लाग्ने बताएका थिए । 

Advertisement

Advertisement