विशेष समितिले ‘क्लिन चिट’ दिएपछि अर्थ मन्त्रालय फर्किने तयारीमा जनार्दन शर्मा

Advertisement

काठमाडौं । अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिई करका दरहरु हेरफेर गरेको र त्यो गर्दाको दिनको मन्त्रालयको सीसीटीभी फुटेज मेटाएको बारेमा छानविन गर्न गठित संसदीय विशेष समितिबाट निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले क्लिन चिट’ पाएका छन् । 

दोषी प्रमाणित गर्ने प्रमाण नभेटिएको भन्दै विशेष समितिले शुक्रबार सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाएपछि शर्मालाई पुनः अर्थमन्त्री हुन माग प्रशस्त भएको हो । यसअघि छानपिन विशेष समिति गठन भएपछि उनले पदबाट राजीनामा दिएका थिए । त्यस क्रममा उनको पार्टी माओवादी केन्द्रका नेताहरुले नै आरोप पुष्टी नभए शर्मा पुनः अर्थमन्त्रालय फर्किने बताउँदै आएका थिए । 

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसबीचमा कुनै नयाँ मन्त्री नियुक्त नगर्नु, मन्त्रालयको जिम्मेवारी आफैले हेर्दै आउनु र विशेष समितिमा एमालेका साँसदहरुले विरोध गरेजस्तो गर्ने र बहुमत सदस्यले पेलेर प्रतिवेदन तयार गरी हतार हतार सभामुखलाई बुझाउने कार्यले सबै पक्ष शर्मालाई क्लिन चिट दिन र उनलाई अर्थ मन्त्रालय फर्काउने कुरामा बाधक नबन्न तयार भएको देखिन्छ । 

बजेट निर्माणका क्रममा प्रभावशाली ठेकेदार दीपक भट्टको कार्यालयमा काम गर्ने एक कर्मचारीसहित दुई जना प्रवेश गरी करका दरहरु हेरफेर गरेको समाचार प्रकाशित भएको थियो । छानविनमा गरिएको हतार, अनधिकृत व्यक्तिको रुपमा औल्याइएकाहरुलाई बयानका लागि नबोलाउनु, आरोपीहरुको टेलिफोन कल डिटेल नमगाउनु, लोकेशन ट्राक नगर्नु, सिंहदरबार परिसरका सबै सीसीटीभी फुटेज नहेरिनु, अर्थ मन्त्रालयको डिलिट गरिएको भनिएको सीसीटीभी फुटेज नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट रिकभर गरी ल्याइए पनि धमिलो र मान्छे पहिचान नहुने ढंगले छानविन समितिलाई बुझाउन जस्ता कारणले ठूलै शक्ति लगाएर नेता शर्मालाई सफाई दिने र उनलाई नै अर्थ मन्त्रालय फर्काउने योजना बनेको देखिन्छ । 

शर्मा नै पुनः अर्थमन्त्री भएर फर्किन भन्दै माओवादी केन्द्रका नेताहरुले मनोवैज्ञानिक त्रास देखाउँदै आएकाले पनि विशेष समितिले बयान लिँदा अर्थ मन्त्रालयका कर्मचारीहरु सत्यतथ्य बाहिर ल्याउन हच्किएका थिए । त्यसमाथि नेपालको राजनीतिमा नै ठूलो प्रभाव जमाउँदै आएका ठेकेदार भट्टको संलग्नताको कुराले गर्दा यस प्रकरणको यथार्थ छानविन भई दोषीमाथि कारवाही हुने कुरामा धेरैले पहिले नै आशंका जनाएका थिए । 

शर्मालाई पुनः अर्थमन्त्री बनाउने कुरामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलेदेखि नै कुरा गर्दै आएको र प्रधानमन्त्री देउवा पनि त्यसमा सकारात्मक रहँदै आएको समाचार यसअघिदेखि नै आएका थिए । माओवादीका नेताहरुले दावी गरेजस्तै समितिले शर्मालाई सफाई दिएकाले उनलाई नै सकेसम्म अर्थमन्त्री नभए कुनै अर्को महत्वपूर्ण मन्त्रालय दिने कुराको सुनिश्चितता देखिन्छ । 

Advertisement

Advertisement