जापानले नेपालबाट पाँच हजार कामदार लैजाने, प्रक्रिया छिटो अघि बढाइने

Advertisement

काठमाडौं । नेपालबाट पाँच हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लैजान जापान सरकार तयार भएको छ । कामदार लैजाने विषयमा बिहीबार भएको संयुक्त कार्यसमितिको बैठकमा जापानी पक्षले उक्त प्रतिवद्धता जनाएको हो ।

जापानले सरकारीस्तरबाटै नेपाली कामदारलाई जापानमा रोजगारी दिन तयार भएको हो । यसका लागि छिटो कार्यविधि बनाउन जापानी पक्षले नेपालसँग आग्रह पनि गरेको छ । त्यसरी जाने कामदारले सीप जानेको र जापानको भाषा परीक्षा भने पास गर्नुपर्ने हुन्छ । 

Advertisement

काठमाडौंमा बसेको बैठकले कामदार लैजाने विषयमा दुवै देशका विद्यमान कानुनी व्यवस्थामा संशोधन गर्नुपर्ने भए यथासिघ्र गर्ने र कामदार लैजाने प्रक्रिया अघि बढाउने सहमति भएको हो । कार्यसमितिको बैठक यसअघि पनि बसेको थियो । सोही बैठकमा  भएको छलफलअनुसार नेपालले कार्यविधि बनाइसकेको छ । उक्त कार्यविधिमा आवश्यक संशोधन गरेर अघि बढाउन जापानी पक्षले नेपाललाई सुझाव पनि दिएको बैठकमा सहभागी नेपाली अधिकारीहरुको भनाई छ । 
  
बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार, श्रम मन्त्रालयका उपसचिव थानेश्वर भुसाल सहभागी थिए भने जापानको तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावालगायत थिए । 

Advertisement

Advertisement