लुम्बिनी जनरलका सीईओ भन्छन्– व्यवसाय बढाउन तानातान र लुछाचुँडी छ

Advertisement

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नुरप्रताप प्रधानले बीमा बजारमा अस्वस्थ प्रतिस्पर्धा आकाशिएको प्रतिक्रिया दिएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमामा व्यवसायिक प्रतिपर्धाको कमी हुँदा असन्तुलनको अवस्था सिर्जना भएको बताए । 

बीमा क्षेत्रमा निकै लामो समय काम गरेको अनुभव हासिल गरेका उनलाई क्षमतावान सीईओको रुपमा समेत हेरिन्छ । बीमा समितिले पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेर मर्जरका लागि दबाबमूलक नीति लिइरहँदा बीमा कम्पनीहरुलाई आफ्नो व्यवसाय पाउन निकै सास्ती हुन थालेको प्रधानको भनाई छ । 

Advertisement

उनले भने, ‘अहिले बजारमा बीमा कम्पनीहरु मर्ज गर्ने, पूँजी बढाउने होड चलेको छ । कम्पनीहरुलाई पुग्दो व्यवसाय छैन् । बजारमा तानातान छ । लुछालुछ छ । व्यवसाय सिमित, उस्ले सके उस्ले तान्छ, हामीले सक्यौं भने हामीले तान्छौं । यस्तो अस्वस्थ  तरिकाले व्यवसाय चलेको छ ।’ 

सीईओ प्रधानले सर्वप्रथम बीमा कम्पनीहरुबीच स्वस्थ व्यवसायको सुनिश्चिता हुनुपर्ने बताउँदै बीमाप्रतित जनताको पनि आकर्षण बढाउन सक्नु जरुरी रहेको बताए । 

सीईओ प्रधानले दिएको तर्कमा बीमा समिति पनि सकारात्मक नै देखिन्छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुले एउटै ठाउँको व्यवसाय लिन खोज्ने प्रवृत्ति रहेको बताए । कम्पनीहरुले आफ्नो व्यवसायको विविधिकरण गर्नु जरुरी रहेको उनको भनाई छ ।

पौडेलले यसअघि भनेका थिए, ‘एउटै रोटी जस्तो व्यवसाय छ । त्यही व्यवसाय सबै कम्पनीले खान खोज्छन् । अब त बीमा कम्पनीहरु पनि नयाँ ठाउँमा जान जरुरी छ ।’ बीमा कम्पनीहरुलाई व्यवसाय बिस्तारका लागि क्षेत्र तोकेको बताउँदै उनले सोही क्षेत्रकै आधारमा पछिल्लो समय बीमा कम्पनीहरुले व्यवसाय गर्नुपर्ने भए पनि उनीहरुले त्यसमा प्रभावकारी ढंगले काम नगरेको बताएका थिए । 

बीमा समितिले धनीको मात्रै बीमा भनाई आर्थिक अवस्था कमजोर भएका नागरिकहरु समेत बीमाको दायरामा आउनु पर्ने बताएको छ । यता बीमा कम्पनीहरु भने व्यवसाय व्यवस्थापन गर्न पनि ठूलै चुनौती रहेको बताउँदै आएका छन् । 

गत आर्थिक वर्षबाट बीमा समितिले कम्पनीहरुलाई केही कडाई नीति लिदा बजारमा व्यवसाय घट्ने चर्चा चले पनि अहिले बीमाको पहुँच भने अझै बढेको अवस्था छ । यद्यपी नियामक बीमा समितिले अझै सुधार गर्नु पर्ने ठाउँ धेरै रहेको र त्यसकालागि गृहकार्य गर्न आवश्यक रहेको स्वीकार गरेको अवस्था छ ।

Advertisement