रेमिट्यान्स ४.८ प्रतिशतले बढ्यो, गत वर्षमा १० खर्ब ७ अर्ब भित्रियो

Advertisement

काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लोवर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । 

नेपाल राष्ट्र बैंकद्वारा आज प्रकाशित आव २०७८/७९ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको हो । 

Advertisement

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।

समीक्षा वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भई रु.१११७ अर्ब ८८ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको थियो । 

Advertisement

Advertisement