नेपालको ‘फर्टिलिटी रेट’ झरिसक्यो, केही वर्षमा नेपालमा धेरै कम जनसंख्या हुन्छः दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै भएको बताएका छन । बिहीवार राजधानीमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै रहेकाले कोही पनि यसमा दुविधामा रहनु नहुने बताए । 

दाहालले सुखी नेपाली र समृद्ध नेपालमा पुग्नका लागि सुशासन र सामाजिक न्याय अनिवार्य शर्त रहेको बताए । उनले अहिलेको देशको आवश्यकता उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयासहरु केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु रहेको बताए । 

Advertisement

सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तरनिहीत रहेको बताउँदै दाहालले नेपालको सम्बन्धमा कृषिलाई उच्च प्राथमिकतामा नराखिकन र कृषि उत्पादन वृद्धि र कृषि रोजगारी श्रृष्टि गर्ने, कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने कुरालाई उच्च प्राथमिकता नदिइकन उत्पादन र उत्पादकत्व वृद्धिको मात्रै कुरा गरेर कुनैपनि परिणाम ननिस्किने बताए । 

दाहालले भने, ‘यहाँ हामी के कुरामा दुविधामा रहनु हुँदैन भने हाम्रो अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो । त्यसमा विमति हुनुपर्ने कारण छैन । तर सुखी नेपाली र समृद्ध नेपालमा पुग्नका लागि सुशासन र सामाजिक न्याय अनिवार्य शर्त हो । त्यो प्रक्रियाबाट पुगिन्छ भन्न मात्रै खोजिएको हो । अहिलेको हाम्रो आवश्यकता भनेको उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयासहरु केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु हो । सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तरनिहीत रहेको छ । यसमा राजनीतिक दलहरुको बीचमा कतै विमति हुनुपर्ने कारण पनि छैन ।’ 

उनले थपे, ‘हिजो संविधानमा ने समझदारी गरेका छौँ, त्यो समझदारीको कारणले पनि हाम्रो ऐतिहासिक आधार तयार भइ नै सकेको छ । यसरी हासिल भएको समृद्धि दिगो, समावेशी, र अनुभुतियोग्य हुने भएकाले १६ औं योजनाले यसैतर्फ विशेष जोड दिन खोजेके छ । उत्पादन, उत्पाकत्व र रोजगारी भन्दा म मान्य सदस्यहरुले, नेताजीहरुले जे राख्नुभयो म त्यसमा सहमत छु । नेपालको सम्बन्धमा कृषिलाई उच्च प्राथमिकतामा नराखिकन कृषि उत्पादन वृद्धि र कृषि रोजगारी श्रृष्टि गर्ने कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने यो कुरालाई उच्च प्राथमिकता नदिइकन उत्पादन र उत्पादन र उत्पादकत्व वृद्धिको मात्रै कुरा गरेर कुनैपनि परिणाम निस्किँदैन ।’

प्रधानमन्त्री दाहालले नेपाल लगानीको सम्भावना भएको देश मात्रै नभई भरपर्दो गन्तव्य भएको उल्लेख गरे । उनले कृषि, उर्जा, पर्यटन र सूचना प्रविधिमा रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको बताए । दाहालले युवा जनशक्तिको सीप, सामथ्र्य र क्षमतालाई विकासप्रतिको हुटहुटीमा उपयोग गर्दै उपलब्ध प्राकृतिक श्रोत एवं साधनको कुशल एवं प्रभावकारी परिचालन गर्नसके देशको समृद्धि छोटो अवधिमा नै सम्भव रहेको बताए । 

उनले युवा जनशक्तिको प्रचुरता धेरै वर्ष नरहने भन्दै सायद यो अन्तिम हुने रहेको बताए । दाहालले नेपालको फर्टिलिटी रेट (बच्चा जन्मिने दर) दुई भन्दा तल झरिसकेको भन्दै केही वर्षपछि नेपालमा धेरै कम जनसंख्या हुने स्थिति रहेको बताए । 

उनले विकासमा युवा जनशक्तिलाई परिचालन गरी युवाहरुलक्षित नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको बताए । दाहालले उत्पादनमूलक उद्योग, कृषिको व्यवसायीकरण, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धि, पर्यटन प्रवद्र्धन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने बताए । 

स्वदेशी तथा वैदेशिक लगानीसहित युवा केन्द्रित सुरक्षित पुँजी लगानीमार्फत नवीनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक रहेको उनले बताए । प्रधानमन्त्री दाहालले तीन करोड भन्दा तलका आयोजनाहरु संघले नगर्ने बताए । उनले योजना अवधिमा विभिन्न श्रोतका साथै निजी क्षेत्रको ठूलो लगानीको अनुमान गरिएको बताए । 

प्रधानमन्त्री दाहालले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको बिस्तार तथा उपयोगमा विशेष जोड दिएको बताए । आर्थिक समृद्धिको सम्वाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात गर्दै उनले सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको उल्लेख गरे । 

योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउनका लागि सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्ने दाहालले बताए । 

Advertisement