दसैं विशेष छुटका साथ फर्निचर एक्स्पो अर्को साता सुरु हुँदै, आधुनिक फर्निचरहरु राखिने

Advertisement

काठमाडौं । फर्निचर तथा फर्निसिङ वस्तुहरुको प्रवर्द्धन गर्न आठौं संस्करणको ‘फर्नेक्स नेपाल २०२२’ अर्को साताबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुने भएको छ । भाद्र २३ देखि २७ गतेसम्म मेलामा सयभन्दा बढी स्टल रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गर्न लागेको एक्स्पोमा स्वदेशी तथा विदेशी गरी फर्निचर तथा फर्निसिङ सामग्रीका स्टल रहने छन् । पत्रकार सम्मेलनमा संघका अध्यक्ष शुभेन्द्र जोशीले नेपालमा धेरै काठ पाउँदा पाउँदै पनि नेपालका फर्निचर व्यवसायी तथा उद्यमीहरुले बाहिरबाट काठ आयात गरिराख्नु परेको दुखेसो पोखे । 

Advertisement

उनले काठ आयात गर्नु र नेपालमै खरीद गर्नुमा मूल्यमा कुनै अन्तर नभएको बताए । जोशीले नेपालमै काठ प्रयाप्त हुँदाहुँदै पनि मलेसिया, क्यानाडा, अष्ट्रेलिया, भारतबाट काठ आयात भइराखेको बताए । 

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर तथा फर्निसिङ उत्पादनका बारेमा जानकारी लिन एक्स्पो उचित गन्तव्य हुने संघको भनाई छ । यसले स्वदेशी उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने जनाउँदै बद्लिदो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि पनि एक्स्पो उचित गन्तव्य हुने विश्वास लिएको छ । 

बजारको मागको करिब ६० प्रतिशत बजारको हिस्सा ओगट्न सफल नेपाली फर्निचर तथा फर्निसिङ उद्योग आफ्नो बजार विस्तार गर्न राम्रो वातावरणको पर्खाइमा रहेको जोशीले बताए । 

उनले दसैँ विशेष छुटका साथ आयोजना हुने लागेको एक्स्पोको अवलोकन एक लाख जनाले गर्ने अनुमान गरे । संघले सन् १०१२ देखि यस्तो मेला गर्दै आएको छ । मेलामा किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने जनाइएको छ । 

मेलामा फर्निचर तथा फर्निसिङका नयाँ सामग्रीको प्रदर्शनी मात्र नगरी त्यसको उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराइने छ । यसले उद्योगमा नयाँ प्रविधि भित्राउन र फर्निचरजन्य उद्योगमा मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने जोशीले बताए । 

Advertisement