भारतले कर बढाएको बहानामा नेपाली व्यापारीले चामलको मूल्य बढाए, सरकारी अनुगमन शुन्य

Advertisement

काठमाडौं । भारतले यही गएको भदौ २४ गतेदेखि लागू हुने गरी चामल र धानको निर्यातमा कर वृद्धि गरेसँगै नेपालका ब्यापारीहरुले त्यसको मूल्य बढाएका छन् । 

भारतले धान र चालमको निर्यातमा २० प्रतिशत बढाउनुका साथै कनिका निर्यातमा प्रतिबन्ध लगाएको थियो । कर बढेको चामल आयात हुन नपाउँदै व्यापारीहरुले आफूखुशी मूल्य बढाउने र कृतिम अभाव सिर्जना गर्ने काम गरेका हुन् । 

Advertisement

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले पाँच–सात दिन अगाडिदेखि बजारमा २०–२५ केजीको चामलको बोरामा ५० देखि ७५ रुपियाँ मूल्य बढेको बताए । उनले भने, ‘केही दिन अगाडिसम्म जिरा मसिनो चामलको मूल्य एक हजार आठ सय प्रतिबोरा पाइन्थ्यो । अहिले त्यही चामलको होलसेल भाउ एक हजार नौ सय रुपियाँ पुर्याइएको छ । त्यस्तै, एक हजार ९५० मा पाइने राम्रो चामल दुई हजार भन्न थालेका छन् । यसरी होलसेलमा मूल्य वृद्धि भएको कारणले खुद्रा व्यापारीले पनि बाध्य भएर बढेको मूल्यमा बेच्नु परेको हो ।’

भारतले कर बढाएकाले चामल आयातमा अन्योलता कायमै रहेको छ । आयातकर्ताहरुले कर बढेअनुसारको मूल्यमा धाम चामलको आयात सुरु नगर्दै नेपालमा मूल्य बढाएर उपभोक्तामाथि ठगी गर्न सुरु गरिएको हो । तुलाधरले चामलको मूल्य बजार वा पसलैपिच्छे फरक छ नि ? भन्ने प्रश्नमा प्रतिस्पर्धा गरेर बेच्नुपर्ने हजारौं हजार खुद्रा व्यापारीले कालोबजारी गर्छ भन्नु सोभनीय नभएको बताए । 

उनले भने, ‘खुद्रा व्यापारीलाई पूरानो भण्डारण सामान भएसम्म आफ्नो ग्राहकहरु भड्केला भन्ने डरले भाउ बढाएर बेच्ने सम्भावना कमै हुन्छ । तर पनि एक दुई जना व्यापारीले मनमौजी तरिकाले बिक्री गर्ने हुन्छन पनि होला । तर, समग्र रुपमा भन्ने हो भने जानीजानी बजारमा सामान बढाएर बेच्ने खुद्रा व्यापारीहरु कमै हुन्छन् ।’

होलसेल पसलले भाउ बढाएपछि मात्रै खुद्रा व्यापारीले भाउ बढाएर बेच्नुपर्ने बाध्यता आफूहरुको रहेको तुलाधारको भनाई छ । उनले भने, ‘बरु पछि नाफा खाउँला भनेर सँगैको पसलमा पूरानो सामान सस्तोमा बिक्री भइराखेको छ भने अर्कोले महङ्गोमा किनेर ल्याइसकेको नयाँ सामान पनि आफ्नो ग्राहक उतै जाला भनेर सस्तोमा बेच्नु पर्ने बाध्यता हुन्छ । बजारमा मूल्य वृद्धि हुनु भनेको आयातकर्ता या उत्पादकले मूल्य वृद्धि गराएपछि हुने हो । होलसेल या डिलरमै मूल्य बढेपछि उहाँहरुसँग किनेर ल्याउने र साना व्यापारीलाई मूल्यवृद्धि गर्नुपर्ने बाध्यता पर्छ ।’

तर पनि, कालोबजारी कहाँबाट भइराखेको छ ? भन्ने कुरा सम्बन्धित निकाय वा व्यक्तिले सोधीखोजी गर्नुपर्ने उनले बताए । तुलाधारले यससम्बन्धमा अनुगमन गर्न आफूले बारम्बार सम्बन्धित निकायलाई घच्घच्याएको समेत बताए । उनले भने, ‘सामानहरुमा मूल्यवृद्धि भयो भने मूल्यको लिष्ट (अधिकतम खुद्रा मूल्य–एमआरपी) नै परिवर्तन भएर आउँछ । सोही एमआरपीअन्तरगत बसेरै खुद्रा व्यापारीले व्यापार गर्ने हो ।’ 

खुद्रा व्यापारीले नै उपभोक्तासँग नजिक बसेर काम गर्नुपर्ने भएकाले सबैभन्दा पहिलो दोष व्यापारीलाई लगाउने गरेको गुनासो गर्दैै तुलाधरले खुद्रा व्यापारीले महङ्गो लियो भनेर उपभोक्ताले भन्ने पहिलादेखि कै चलन भएको बताए । तर पनि पछिल्लो समय धेरै मूल्यवृद्धि गराउनेमा खुद्रा व्यापारीको हात छैन् भनेर उपभोक्ताले बुझिसकेको उनको तर्क छ । 

सरकारले नेपालसँग चामल छ महिनालाई पुग्ने भण्डारण छ भनेता पनि भारतले करवृद्धि गर्नासाथ नेपालमा आजको भोलि नै भाउ बढाउने काम भएको तुलाधरले गुनासो गरे । उनले सोही छ महिनालाई पुग्ने भण्डारण गरिएको चामलको भाउ बढेको हो या आयात गरेर बढाएको हो भन्ने कुराको खोजी सरकारले गर्नुपर्ने बताए । 

तुलाधरले भने, ‘अहिले त्यही भण्डारण गरेको बेचेको हो कि नयाँ आयात गरेर बेचेको हो, त्यसको सोधिखोजी हुनुपर्ने हो । उता निर्यात कर वृद्धि भन्ने बित्तिकै यता मूल्य बढ्न थाल्नु भनेको के हो ? फेरि भर्खर भारतले नियम बनाएको हो, आजभोलि त चामल आयात भएको पनि छैन होला ।’

सम्बन्धित निकायले साच्चिकै मूल्यवृद्धि भएर सामान आएको हो वा होइन र उनीहरुले सही मूल्यमा बिक्री गरिराखेका छ छैन ? भन्ने कुराको अनुगमन भयो भने उपभोक्ताले सही मूल्यमा सामान पाउने र खुद्रा व्यापारीले पनि सही ढंगले बेच्न पाउने तुलाधरले बताए । उनले पहिला पहिला चामल निर्यात गर्ने देश नेपाल भए पनि अब आयात गरेर खानुपर्ने बिडम्बना रहेको सुनाए ।  

खुद्रा व्यापार संघका अनुसार यही भदौ १५ गते बजारमा त्रिशुलीको पोखरेली चामल प्रतिकेजी ९०, स्टिम जिरामसिनो चामल प्रतिकेजी ७०, लङ्गग्रेन वासमती चामलको मूल्य प्रतिकेजी १३० र स्टिम सोना चामलको मूल्य प्रतिकेजी ६० रुपियाँ रहेको थियो । तर, अहिले थोक व्यापारीहरुले ती चामलको भाउ ह्वात्तै बढाइएको खुद्रा व्यापारीहरुको गुनासो छ । 

नेपालमा उत्पादित चामलले आन्तरिक माग धान्न नसकेपछि भारतबाट वर्षेनी अर्बौं रुपियाँको धान, चामल आयात हुँदै आएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८–७९ मा भारतबाट १७ अर्ब रुपियाँ बराबरको धान, २९ अर्ब (कनिकासहित) रुपियाँ बराबरको चामल आयात भएको थियो भने चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा १९ करोड रुपियाँ बराबरको धान र २ अर्ब २१ करोड रुपियाँ बराबरको चामल आयात भएको छ । 

त्यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष २०७८ मा नेपालमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । 

Advertisement