चाडपर्वलक्षित सुपथ मूल्य पसल देशभर सुरु, बजार अनुगमनको जिम्मा स्थानीय तहलाई

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्थानीय तहलाई बजार अनुगमन गर्न आग्रह गरेका छन् । शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्थापना गरेको चाडवाड लक्षित सुपथ मूल्य पसलको उद्घाटन गर्दै उनले स्थानीय तहले बजार अनुगमन गर्नुपर्ने बताएका हुन् । 

बडूले स्थानीय तहलाई प्रभावकारी रुपमा बजार अनुगमन गर्न आग्रह गर्दै दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरु आइरहेको र चाडपर्वको बेलामा बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि हुने भएकाले तिनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताए । 

Advertisement

उनले मन्त्रालयले जनशक्ति बढाएर अनुगमन बढाइरहेको भए पनि मन्त्रालयको एकल प्रयास मात्र सम्भव नहुने बताए । बडूले बजार अनुगमनका लागि स्थानीय तहको अधिकार बढेको भए पनि ती तहबाट अपेक्षित र प्रभावकारी रुपमा अनुगमन हुन नसकेको बताए । 

मन्त्री बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई आफ्नो सम्पत्तिको यथार्थ अभिलेखीकरण राख्न निर्देशन दिए । उनले कम्पनीको सम्पत्तिलाई सदुपयोग गर्दै जनतालाई सस्तो सेवा दिन पनि निर्देशन दिए । 

बडूले भने, ‘नेशनल ट्रेडिङ र खाद्य संस्थान एक ठाउँमा आइसकेपछि यसको सम्पति धेरै बढेको छ । भौतिक सम्पति धेरै बढेको छ तर त्यसको क्यास सम्पतिमा तपाईहरु रुपान्तरण गरेर त्यसको व्यापारिक लाभ लिन सक्ने योजना तयार गर्नुस् । सहि अभिलेखिकरण हुन सकिरहेको अवस्था होइन भन्ने सुनिरहेको छु । यसलाई छिटोभन्दा छिटो अभिलेखिकरण गर्नुस् । र यो सम्पतिको सदुपयोग जनताको सेवामा, सस्तो सेवा दिन सकौँ । सस्तो सेवा धेरै ठूलो परिमाणमा दिन सकियो भने नाफा पनि कमाउनुहुन्छ । यसको परिमाण बढाउनुस् ।’ 

उनले थपे, ‘अनुगमन पनि हुनुपर्ने अवस्था छ । गुणस्तरीय वस्तु सर्कुलेशनमा आउनुप¥यो । बजारको अनुगमन बढाउनुपर्छ । मन्त्रालय सचेत छ । बजार क्षेत्रमा पनि अनुगमनलाई यतिबेला हामीले विशेष रुपले जनशक्ति बढाएर अनुगमनको टिमहरु बढाएर, जनशक्ति बढाएर पनि हामीले अनुगमन बढाइरहेका छौँ मन्त्रालयको तर्फबाट । यो अनुगमन कार्य मन्त्रालयको निकायबाट मात्र सम्भव देखिएन । अनुगमनको निम्ति अधिकार जिल्लामा अझ बढाएको छ । प्रदेश र स्थानीय तहमा बढाएको छ । स्थानीय तहको अनुगमन त्यति प्रभावकारी, अपेक्षित ढंगले हुन सकेन । त्यसकारण उहाँहरु पनि लाग्नुभयो भने जनतालाई सहज ढंगले मुल्यमा नियन्त्रण गरेर सहज र सुपथ मुल्यमा दिन सक्ने स्पष्ट अवस्था छ । यसका लागि पनि हामी प्रयत्न गरिरहेका छौँ ।’     

मन्त्री बडूले चाडपर्वलक्षित सुपथ मूल्य पसलमा बिक्री वितरण गर्ने खाद्यवस्तुको संख्या र सहुलियत बढाएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४५ वटा शाखाहरुमा एकै पटक सुपथ मूल्य पसल उद्घाटन भएर सञ्चालनमा आएको जनाएको छ ।

Advertisement