अवलोकनकर्ताले पुष्प मेलामा स्वदेशीभन्दा विदेशी फूल धेरै देखे

Advertisement

ललितपुर । जावलाखेल खेल मैदानमा शुरु भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आायातित फूललाई बढी प्राथमिकता दिई प्रदर्शनीमा राखिएको भन्दै अवलोकनकर्ताहरुले गुनासो पोखेका छन् । 

कार्तिक ३ गतेदेखि शुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएको फूलहरु बढी प्रदर्शनीमा राखिएको देखिएको हो । अवलोकनकर्ताहरुका अनुसार काठमाडौंका सबै नर्सरी एकै स्थानमा भएर अवलोकनका लागि र फूल किन्नका लागि छान्न पाए पनि यस वर्ष विगतको तुलनामा ३० प्रतिशतभन्दा धेरै फूलको मूल्य महंगो रहेको बताए । 

Advertisement

दक्षिणकालीबाट मेला अवलोकनका लागि आइपुगेका राजाराम पौडेलले फूलसम्बन्धी मेला राख्नु राम्रो भए पनि नेपालमै उत्पादन भएका फूलहरु भन्दा विदेशबाट आयात गरिएका फूलहरुको मेलामा धेरै भेटिएको बताए । उनले फूलमा आत्मनिर्भर बन्नका लागि सरकारले हरेक गाउँगाउँमा गएर अध्ययन गरी स्थान उचित फूलको उत्पादनलाई जोड दिन आवश्यक रहेको बताए । 

पौडेलले भने, ‘यस्तो फूलसम्बन्धी मेला राख्नु राम्रो हो तर धेरैजसो विदेशबाट आयात गरेको फूलहरु देखियो । नगरपालिकाहरु कुन बिरुवालाई प्रोत्साहन गर्न सकिन्छ ? त्यसको अध्ययन भएर, नेपालकै बीउलाई प्रोत्साहन गर्ने हो भने गाउँगाउँमा गएर सरकारले अध्ययन गर्न जरुरी छ ।’ 

त्यस्तै अर्का अवलोकनकर्ता जीवन श्रेष्ठले मेलामा पूरै काठमाडौंका नर्सरीहरुको अवलोकन गर्न सकिने भएकाले राम्रो लागेको बताए । उनले मेलामा विदेशबाट आयात गरिएका महंगा फूलहरु पनि राखिएको बताए । अर्की अवलोकनकर्ता पुष्पा सिंहले विगतको तुलनामा यसवर्ष २५–३० प्रतिशत भन्दा बढी फूलहश्रको बजार महंगी रहेको बताइन् । उनले गत वर्ष ५ सय रुपियाँमा पाउने फूल यस वर्ष हजार रुपियाँसम्म परेको बताइन् । 

त्यस्तै व्यवसायीहरु भने पहिलाको तुलनामा यस वर्ष फूलको व्यापार धेरै नै भएको बताए । ओम नर्सरीकी पुष्पा घिमिरे पहिलाको तुलनामा यस वर्ष धेरै बिक्री भएको बताए । उनले नेपालमै फूलमा आत्मनिर्भर बन्न प्रविधिको आवश्यक रहेको त्यसमा सरकारले सहयोग गर्नुपर्ने बताए । 

त्यस्तै अर्का व्यवसायी सुमन महर्जन अहिले पुष्प व्यवसायमा गुणस्तरमा प्रतिष्पर्धा भन्दा पनि मूल्यमा धेरै प्रतिष्पर्धा भइरहेको गुनासो गरे । व्यवसायी सुवास लामा मेलामा नयाँ ग्राहकका लागि चिन्ने अवसर हुने बताए । मेलाहरुले ग्राहकहरुलाई पनि एकै ठाउँमा रोजिरोजि फूल किन्न पाउने अवसर प्रदान गरेको उनको भनाई छ । 

फ्लोरिकल्चर एशोसिएशनले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । तिहारको (पाँच दिन) मा करिव २० लाख सयपत्री, सवा चार (४.२५) लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ । 

नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपियाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिव साढे १३ करोड रुपियाँ बराबरको फूलको कारोबार हुने एशोसिएशनको अनुमान छ । मेला आज आइतबारसम्म सञ्चालन हुनेछ । 

Advertisement

Advertisement