सम्पदा क्षेत्र घुम्न ‘होप अन होप अफ’ बस सेवा सञ्चालन गर्ने पर्यटनमन्त्रीको पुनः प्रतिवद्धता

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरूलाई सहज सेवा दिन ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गर्ने फेरि बताएका छन् । 

पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ल्याइएको ‘होप अन होप अफ’ सिटी बस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको पनि उनले बताएका छन् । काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटक तथा धर्मावलम्वीहरूलाई सहज बनाउन यस प्रकारको घुम्ती सेवा दिन लागिएको श्रेष्ठको भनाई छ । 

Advertisement

पहिलो चरणमा साझा यातायातका पाँच वटा विजुली बस हरेक आधा घण्टामा पाटन, काठमाडौं दरवार, पशुपति, बौद्ध र  स्वयम्भु पुग्ने, भविष्यमा भक्तपुर चाँगुनारायणसम्म लैजाने योजना बनाइएको उनको भनाई छ । मन्त्री श्रेष्ठका अनुसार पर्यटकले बसको एउटा टिकट लिएपछि दिनभर होप अन होप अफका जुनसुकै बस चढ्न पाउनेछन् । 

करिव ३० किलोमिटर लामो पूरा यात्रा गर्न तीन घण्टा लाग्ने छ । आगामी अंग्रेजी नयाँ बर्षदेखि यस्तो सिटी बस सञ्चालन गरिने उनले बताए । श्रेष्ठका अनुसार होप अन होप अफ सिटी बस प्रभावकारी रुपमा सञ्चालन गर्नेबारे सरोकारवालाहरूसँग आइतवार मन्त्रालयमा छलफल समेत भइसकेको जानकारी दिए । 

छलफलमा साझा यातायातका संचालक, व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति रहेको जनाइएको छ । पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी साधन सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको थियो । यस्तो खालको बस सेवा अन्य मुलुकमा रहे पनि नेपालमा भने अहिलेसम्म सुरु गर्न सक्किएको छैन् । मन्त्री श्रेष्ठले यस्तो बस सेवा सुरु गर्ने भन्दै कार्ययोजना सार्वजनिक गरेको निकै समय भए पनि सुरु गर्न सकेका छैनन् । 

Advertisement

Advertisement