बैंकहरुको खराब कर्जा बढ्दै, पुससम्म दोब्बर र असारसम्म तीन प्रतिशत पुग्नसक्ने अनुमान

Advertisement

काठमाडौं । घट्दै गएको बैंकहरुको खराब कर्जा फेरि बढ्न थालेको छ । वित्तीय क्षेत्रमा लामो समयसम्म तरलता संकुचनको समस्या कायम रहँदा खराब कर्जा बढ्न थालेको हो । 

गत असारसम्म बाणिज्य बैंकहरुको खराब कर्जा (एनपीएल) एक दशमलव १५ प्रतिशत रहेकोमा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बढेर एक दशमलव ८५ प्रतिशत पुगेको छ । यो वृद्धिदर अझै बढेर जाने अवस्था रहेको बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्याण बताउँछन् । 

Advertisement

तरलता संकुचन र विदेशी मुद्राको संचितिमा आएको कमीसँगै एकातिर शेयर बजार र घरजग्गा व्यवसायमा गिरावट आएको छ भने अर्कोतर्फ व्यवसायिक र आर्थिक गतिविधिमा समेत केही मन्दीको अवस्था छ । यसले गर्दा ऋणीहरुले समेत समयमा कर्जा तिर्न नसकी खराब कर्जा बढ्न थालेको हो । यो बीचमा चाडपर्व, चुनावको माहौल जस्ता कुराले पनि कर्जा अशुलीमा असर परेको बैंकरहरु बताउँछन् । 

नेपाल राष्ट्र बैंकले कोरोना महामारी कालमा दिएको सहुलियत र सुविधाको असर र बाह्य क्षेत्रको प्रभावले गर्दा पनि अहिले खराब कर्जा वृद्धि हुन मद्यत गरेको बताएको छ । रुस–युक्रेन युद्धपछि आपूर्ति प्रणालीमा परेको असर, पेट्रोलियम पदार्थमा भएको भारी वृद्धि, कोरोना महामारीको प्रभावका कारण विश्व अर्थतन्त्रमा असर परेको छ । जसका कारण रेमिटान्सको वृद्धिदर घट्नुका साथै महंगी र बैंकको ब्याजदरमा समेत वृद्धि भएको छ । 

अध्यक्ष गोल्याण भन्छन्, ‘अहिलेसम्म खासै बढेको छैन् खराब कर्जा । अब बढ्छ । किनभने ठूलठूला ऋणहरु पनि उठ्न नसकिरहेको अवस्था छ । जहाँसम्म लाग्छ आउँदो असार मसान्तसम्म तीन प्रतिशत नाघ्छ ।’ कतिपय बैंकको खराब कर्जा पाँच प्रतिशत नै नाघेर विजनेश गर्न नपाउने संकेत देखिएको बताउँदै उनले यसमा बैंकहरु मात्रै नभएर नेपाल राष्ट्र बैंक पनि सचेत हुनुपर्ने अवस्था आएको बताए । 

सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेलले खराब कर्जा बढ्ने कुरा राम्रो नभएको बताए । यद्यपि उनले दक्षिण एसियामा सबैभन्दा कम एनपीएल नेपालको रहेको बताए । अरु मुलुकका बैंकमा दोहोरो अंकमा खराब कर्जाको अनुपात हुने गरेको उदाहरण दिँदै कँडेलले नेपालको बैंकिङ सिस्टममा बढी सुशासन र नियमन राम्रो भएकाले खराब कर्जा बढ्न नपाएको बताए ।

उनका अनुसार अनुसन्धान र तथ्यहरुबाट पनि नेपालको बैंकिङ क्षेत्र बलियो छ भन्ने देखिएको छ भन्दै त्यसको पहिलो कारण यहाँको कानुनी प्रक्रिया राम्रो रहेको बताए । कुने अपवादबाहेक व्यवसायीले ऋण नतिर्ने भन्ने अवस्था नरहेको भन्दै कडेलले ऋण तिर्ने तिराउने व्यवस्थित प्रणाली भएका कारण मात्रै नभएर ऋण तिर्नुपर्छ भन्ने मानिसहरुमा संस्कार पनि भएकाले खराब कर्जा अरु मुलुकमा जस्तो धेरै हुन नपाएको बताए । 

यद्यपि उनले अहिलेको विषम परिस्थितिले गर्दा यस्तो खराब कर्जा केही बढ्ने संभवना भने रहे पनि तरलतामा सुधार आएर आर्थिक गतिविधि बढेपछि त्यसमा पुनः सुधार आउने आशा व्यक्त गरे । तत्काल ठूलो मात्रामा तरलता बैंकमा आउला भन्ने संभावना नदेखिएको पनि कँडेलले बताए । चुनाव भएको खर्च पनि अझै बैंकिङ सिस्टम आउन नसकेको उनको भनाई छ । 

Advertisement

Advertisement