ऋण सुविधा थप्न माग गर्दै बीमा संस्थानका कर्मचारीको आन्दोलन, चाँडै विवाद टुंग्याउछौंः प्रशासक

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थानमा कर्मचारीहरुले ऋण सुविधा थोरै भएको भन्दै बढाउन आन्दोलन चर्काएका छन् । कर्मचारीले आन्दोलन चर्काएपछि संस्थान व्यवस्थापन दबाबमा परेको छ । 

संस्थानले  दिँदै आएको ऋण थोरै भएको भन्दै कर्मचारीहरुले दैनिक असन्तुष्टि जनाउन थालेपछि सरकारी स्वामित्वको बीमा संस्थानको कामकारवाही समेत प्रभावित भएको छ । उनीहरुले ऋण सुविधा बढाउन पहिलदेखि आग्रह गर्दै आए पनि पछिल्लो समयमा आन्दोलन चर्काएको संस्थानका प्रशासक कवि पाठकले बताए । 

Advertisement

उनले भने, ‘हुन त यो कर्जाको विषय पुरानै कुरा हो । तर पनि कर्मचारीहरुले अहिले आएर असन्तुष्टि जनाउनु भएको छ । विगत लामो समयदेखि संस्थानमा चलिआएका केही पद्धतीहरुमा साथीहरुले आवाज उठाउनु भएको हो । ती कुरा हामीले सुधार पनि गर्न जरुरी छ । यसमा संचालक समितिमा छलफल भइरहेको छ र अर्थमन्त्रालयबाट निर्णय आउन बाँकी रहेको अवस्था हो ।’

कर्मचारीहरुले घर कर्जाको सुविधा निकै थोरै भएको भन्दै बढाउन माग गरेको उनले जानकारी दिए । पाठकले हाल २८ लाख रुपियाँसम्म कर्जा कर्मचारीहरुले पाउँदै आएको र त्यसमा बढाउनुपर्ने उनीहरुको माग रहेको बताए । 

उनले विगत लामोदेखि चल्दै आएको कर्जा सुविधाको सीमामा केही परिमार्जन गर्ने बेला भएको स्वीकार गर्दै पाठकले तर, एक्कासी भन्ने बित्तिकै सुविधा बढाउनुपर्ने कर्मचारीहरुको ढिपी भने गलत भएको बताए । 

पाठकले भने, ‘उहाँहरुकै मागलाई लिएर हामीले अर्थ मन्त्रालयसँग पनि छलफल जारी राखेका थियौं । कुरा टुंगिनै पाएको थिएन । यता साथीहरुले विरोध गरेर आन्दोलनको बाटो अपनाउनु भयो । मलाई पनि उहाँहरुले उठाएको माग जायज नै लागेको छ । तर भन्ने बित्तिकै समाधान हुँदैन् । मैले चाहेर मात्रै हुने कुरा पनि होइन् । मन्त्रालयदेखि सञ्चालक समिति सबै तयार हुनुपर्यो । सहमत भएपछि पनि प्रक्रियामा जानुपर्यो । निर्णय गर्न पनि त केही समय लाग्छ । आजको आजै समाधान निस्किने कुरा होइन् ।’ 

साथै, संस्थानका कर्मचारीले मोटरसाइकल किन्न पाउने कर्जामा सीमामा पनि असन्तुष्टी जनाएको देखिन्छ । उनीहरुले मोटरसाइकल किन्न चार लाख रुपियाँ कर्जा मागेको खबर आए पनि प्रशासक पाठकले सो कुरा गलत रहेको बताए । उनले मोटरसाइकल किन्न संस्थानले दुई लाख ५० हजार रुपियाँ कर्जा सुविधा दिने गरेको र त्यसमा कर्मचारीहरुको असन्तुष्टि नरहेको जिकिर गरे । 

Advertisement

Advertisement