काठमाडौं । चालु आर्थिक बर्षको मंसिर महिनामा निर्जीवन बीमा व्यवसायमा २३ करोड रुपियाँले गिरावट आएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा निर्जीवन बीमा व्यवसाय घटेको देखिएको हो ।
मंसिरमा दुई अर्ब ६१ करोड ९९ लाख रुपियाँ बीमाशुल्क संकलन भएको छ । गत बर्ष सोही महिनामा दुई अर्ब ८४ करोड ४१ लाख रुपियाँ बीमाशुल्क संकलन भएको थियो ।
प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले निर्जीवन बीमा व्यवसायमा गिरावट आउनुको कारण अहिलेको आर्थिक मन्दी प्रमुख कारण भएको बताए । उनले भने, ‘निर्जीवन बीमा व्यवसाय सुस्ताउनुको कारण अहिले आर्थिक गतिविधि त्यति चलायमान हुन नसकेकोले हो । बजार यही हो । उद्योग, कलकारखाना व्यापार सबैतिर अर्थतन्त्रमा मन्दीको असर छ । अझ कोरोना महामारीको प्रभाव पनि परिरहेकै छ । समग्रमा निर्जीवन बीमा व्यवसाय नराम्रै हो भन्ने स्थिति त होइन । तर, पनि गत बर्षभन्दा व्यवसायमा गिरावट आएको छ ।’
समीक्षा अवधिमा सबैभन्दा धेरै बीमाशुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । उसले २७ करोड एक लाख रुपियाँ शिखर इन्स्योरेन्सले संकलन गरेको छ । त्यस्तै, २३ करोड ५९ लाख रुपियाँ बीमाशुल्क संकलन गर्दै नेको इन्स्योरेन्स दोस्रो स्थानमा छ भने २२ करोड ५६ लाख रुपियाँ बीमाशुल्क संकलन गर्दै सगरमाथा इन्स्योरेन्स तेस्रो स्थानमा छ ।
मंसिरमा नेपाल इन्स्योरेन्स कम्पनीले ११ करोड १५ लाख, ओरियन्टलले आठ करोड ६६ लाख, राष्ट्रिय बीमा कम्पनीले तीन करोड ६७ लाख, नेशनल इन्स्योरेन्सले चार करोड १९ लाख, युनाइटेडले नौ करोड ३१ लाख, प्रिमियर इन्स्योरेन्सले २० करोड ६७ लाख, प्रभु इन्स्योरेन्सले ११ करोड ५६ लाख रुपियाँ बीमाशुल्क संकलन गरेका छन् ।
त्यस्तै, आईएमई जनरलले १४ करोड २२ लाख, प्रुडेन्सियलले नौ करोड ८३ लाख, लुम्बिनी जनरलले १३ करोड २३ लाख, एनएलजी इन्स्योरेन्सले १५ करोड ७३ लाख, सिद्धार्थ इन्स्योरेन्सले १८ करोड ९६ लाख, अजोड इन्स्योरेन्सले १३ करोड ४७ लाख, हिमालयन एभरेष्टले १९ करोड २९ लाख रुपियाँ तथा सानिमा जिआईसी इन्स्योरेन्सले १४ करोड ८१ लाख रुपियाँ बीमाशुल्क संकलन गरेका छन् ।