नेपालमा उत्पादित जुत्ता चप्पल: स्वदेशमा ६१ प्रतिशत बजार हिस्सा, एक करोड जोर निर्यात

Advertisement

काठमाडौं । जुत्ता चप्पल उत्पादक व्यवसायीहरुको संस्था फुटवेयर म्यानुफ्याक्चरर एशोसिएशनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले गुणस्तरीय र सर्वसुलभ मूल्यका जुत्ताचप्पल उत्पादन गर्न नेपालका उद्योग सक्षम रहेको बताएका छन् । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा उत्पादन भएका जुत्ताचप्पल ६१ प्रतिशत नेपालमा नै खपत भइरहेको र नेपाललाई आवश्यक पर्ने उत्पादनका लागि नेपाली जुत्ताचप्पल उद्योग सक्षम रहेको बताएका हुन् । 

Advertisement

न्यौपानेले पछिल्लो समय नेपालमा उत्पादन भएका एक करोड जोर जुत्ता विदेशमा निर्यात हुने गरेको बताए । उनले नेपाल जुत्ता चप्पलमा आत्मनिर्भर रहेको भन्दै जुत्ता उत्पादकहरु नयाँ मोडल र नयाँ प्रविधिसहितको गुणस्तर बढाउन लाग्ने बताए । 

सरकारले जुत्ता चप्पल उद्योगी व्यवसायीहरुको लागि बनाइएका नीति नियमहरुको स्थायित्व नहुँदा चोरी पैठारीको समस्या रहेको बताउँदै न्यौपानेले चोरी पैठारीबाट जुत्ताचप्पल आएर बजारमा आउने भएकाले जुत्ता चप्पलमा व्यवसायीहरुले लगाएको लगानी जोखिममा रहेको बताए ।

उनले सरकारले बनाउने नीतिहरुमा स्थायित्व आउन नसके फुटवेयर उद्योग समस्यामा पर्ने अवस्था रहेको बताए । नेपाली उत्पादन जुत्ताचप्पल अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिष्पर्धा गर्न सक्षम रहेको पनि न्यौपानेको भनाई छ । 

उनले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको बताए । पुस २१ गतेदेखि २३ गतेसम्म १६ औं ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९’ आयोजना हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 

नेपाल फुट्वेयर एशोसिएशन अफको आयोजनामा ‘गोल्डस्टार १६ औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९ हुन लागेको हो । उक्त प्रदर्शनी पहिलोपटक स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य आयोजकको छ । तीन दिनसम्म चल्ने प्रदर्शनी राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तयारी गरिएको छ । थोक तथा खुद्रा व्यवसायीलेसमेत प्रदर्शनीको अवलोकन गर्न सक्नेछन् ।

Advertisement

Advertisement