आयात रोकेको बेला लाखौं मूल्य पर्ने १४ हजार आईफोन फोर्टिन प्रो म्याक्स कस्ले ल्यायो ?

Advertisement

काठमाडौं । नेपालमा सबैभन्दा महंगो मोवाइल आईफोन फोर्टिन म्याक्स गएको तीन महिनामा १४ हजारभन्दा बढी अबैधरुपमा भित्रिएको सरकारी तथ्यांकबाट देखिएको छ । 

सरकारले नै महंगा मोवाइलको आयात प्रतिवन्ध लगाएको बेला यति ठूलो संख्यामा आईफोन फोर्टिन सिरिजिका मोवाइलहरु कसरी नेपाल भित्रिए ? यो निकै गम्भीर प्रश्न बनेको छ । एक लाख ५५ हजारदेखि तीन लाख १५ हजार रुपियाँसम्म पर्ने आईफोन फोर्टिन म्याक्स अवैधरुपमा आयात हुँदा राज्यलाई करोडौं रुपियाँ राजश्वसमेत नोक्सान भएको छ । 

Advertisement

सरकारले मोवाइलको अवैध आयात रोक्न भन्दै ‘मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली लागू गरेपछि मोवाइलको चोरीपैठारी क्रमसः कम हुँदै जाने विश्वास गरिएको थियो । तर सोही सिस्टम लागू भएपछि र महंगा मोवाइलहरुको आयातमा प्रतिवन्ध लगाएकै समयमा भारी परिणाममा आईफोनलगायतका फोनहरु आयात भएबाट नेपालको मोवाइल बजारमा चोरीपैठारी गर्ने दुई नम्बरी व्यापारीहरु हावी रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

महंगा आईफोनहरु अहिले नेता, प्रशासक, व्यापारी, न्यायाधीश जस्ता ‘ह्वाइट कलर’हरुको हातमा देखिन्छ । आफन्त वा साथीभाईले उपहार पठाइदिएको नाममा उनीहरुले यस्तो अवैध फोनहरु सहजै उपयोग गर्दै आएका छन् । तर त्यसको छानविन र अनुसन्धान गर्ने निकायहरु मुकदर्शक बनेका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएअनुसार हरेक हप्ता एमडीएमएस प्रणालीमा एक हजार छ सय वटा अवैध आईफोनहरु दर्ता भइरहेका छन् भने नेपालका आइफोनको आधिकारिक बिक्रेताको रुपमा चिनिएको जेनरेशन नेक्स्टले आयात गरेको मोवाइलको संख्या नगन्य मात्रै छ । एमडीएमएसमा दर्ता भएका अधिकांश मोवाइलहरु आईफोन फोर्टिन म्याक्स छन भने केही संख्यामा आईफोन १३, १२, ११ सिरिजका फोनहरु पनि छन् । 

मोवाइलको चोरी पैठारी रोक्न प्राधिकरणले कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणालीको विरोध भएपछि अहिले यसको कार्यान्वयन रोक्किएको छ । भन्सार कार्यालयले बाहिरबाट आउनेहरुले ल्याउने एकभन्दा बढी मोवाइलको भन्सार शुल्क लिने क्रममा झन्झट सिर्जना गरेसँगै विदेशबाट आउनेहरुले विरोध गर्न थालेका थिए । 

तर भन्सार शुल्क लिने कुरालाई सहजीकरण गरेर एमडीएमएस कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहालले नै प्राधिकरणलाई निर्देशन दिएपछि एमडीएमएसमा बाहिरबाट आएका मोवाइलहरुको रजिष्ट्रेशन रोक्किएको छ । 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भन्सार कार्यालयले सहजीकरण नगरिदिँदा एमडीएमएस कार्यान्वयनमा समस्या आएको स्वीकार गरे । उनले भने, ‘विदेशबाट आउनेहरुले ल्याएको एकभन्दा बढी मोवाइलको बिना झन्झट राजश्व लिएर छोड्न सक्नुपथ्र्यो । होइन् भने राजश्व तिरेर एमडीएमएसमा दर्ता नभएसम्म तपाईंको मोवाइल भन्दैन भनेर उनीहरुले ल्याएको मोवाइल छोडिदिएको भए हुन्थ्यो । मानिसहरुले ल्याएको मोवाइलमा दुनिया झन्झट लगाएर घण्टौंसम्म विमानस्थलमा रोक्किनुपर्ने बाध्यता सिर्जना गरिदिएपछि विरोध हुनु स्वाभाविक हो । दोष चाहिं प्राधिकरणलाई दिइयो ।’

खनालले तीन महिनामा १४ हजारभन्दा बढी आईफोन फोर्टिन म्याक्स अवैधरुपमा भित्रिएको स्वीकार गर्दै यसको छानविन र कारवाही गर्ने काम सम्वन्धित निकायले गर्नुपर्ने बताए । उनले नियमानुसार आएका मोवाइलहरुको एमडीएमएसमा दर्ता गर्ने काम मात्रै प्राधिकरणको भएको बताए । 

जेनरेशन नेक्स्टका सञ्चालक रक्सिट भिमसरियाले ठूलो परिमाणमा अवैध आईफोनहरु भित्रिँदा आफूहरु मारमा परेको बताए । उनले आफूहरुले आईफोन फोर्टिन म्याक्स नेपालमा लन्च गर्न नपाउँदै हजारौंको संख्यामा भित्रिएको बताए । भिमसरियाले महंगो पर्ने यस्ता मोवाइलहरुको अवैध आयातले १८ प्रतिशतभन्दा बढी प्रत्यक्ष कर र अरु अप्रत्यक्ष कर राज्यलाई नोक्सान हुनुका साथै ठूलो लगानी र पूर्वाधार तयार गरी मोवाइल व्यवसाय गरेका आफूहरुलाई व्यवसाय गर्न गाह्रो भएको बताए । 

 
 

Advertisement

Advertisement