सरकार परिवर्तनसँगै राष्ट्र बैंकले ‘चालू पुँजी कर्जा मार्गदर्शन’ संशोधन गरेपछि गोल्छा खुशी

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालू पुँजी कर्जा मार्गदर्शन स्वागतयोग्य रहेको भन्दै खुशी प्रकट गरेका छन् । 

बिहीवार जुत्ता उत्पादक संघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीमा कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालुपँजी कर्जा मार्ग प्रदर्शन स्वागतयोग्य रहेको बताएका हुन् । गोल्छाले उद्योगी व्यवसायीका समस्या चालू पँजी कर्जा मार्गदर्शनमा केही नीतिहरु परिमार्जनले मात्रै अर्थतन्त्रमा देखिएका चुनौतिको सामान गर्न नसक्ने बताए । 

Advertisement

उनले सरकारले बजारमा देखिको उच्च बैंकको ब्याजदर कम गर्ने,तरलता सहज बनाउने लगायतका काम गर्नुपर्ने बताउँदै नयाँ सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न धेरै चुनौति रहेको बताए । खुला सीमाबाट अनधिकृत रुपमा भइरहेको आयातका कारण सरकारको राजश्व संकलन लक्ष्यभन्दा तल पुगेको गोल्छाको भनाई छ । 

राजश्व संकलन २५ प्रतिशत कमी आउँदा राज्य सञ्चालनमा समेत समस्या भइरहेको अवस्था रहेको उनले बताए । अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रलाई योगदान गर्ने प्रमुख क्षेत्र जुत्ताचप्पल उद्योग पनि भएको बताए । उनले जुत्ता चप्पल क्षेत्रमा देश आत्मनिर्भर भएकाले यसको आयात गर्नुपर्ने अवस्था नभएको बताए । 

गोल्छाले जुत्ता चप्पल उद्योगमा देखिएका समस्या समाधान सरकारले तत्काल गर्नु आवश्यक रहेको बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले जुत्ता चप्पल उद्योगका लागि आवश्यक नीतिहरु स्पष्ट नभएको कारण समस्यामा परेको बताए । उनले भारतीय खुला सीमानाबाट जुत्ताचप्पल नेपाल आउने भएकाले उद्योगीहरु समस्यामा रहेको बताए । मल्लले सरकारले खुला सीमानाबाट हुने चोरीपैठारी नियन्त्रण गरी राजश्वको दायरामा ल्याउनुपर्ने बताए । 

उनले नयाँ सरकारले विधिको शासनलाई कार्यान्वयनमा ल्याउन सक्नुपर्ने बताउँदै नेपालमा उत्पादित जुत्ताचप्पल निर्यातमा प्रोत्साहन गरी विदेशी ब्राण्डलाई नेपालमा ल्याउन सक्नुपर्ने बताए । 

जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता चप्पल उद्योगको लागि नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयन फितलो रहेको बताए । उनले सरकारको नीति नियम कार्यान्वयन प्रभावकारी नहुँदा र चोर्रीपैठारीको सामान नेपालमा आउँदा जुत्ता उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आउन नसकेको बताए । 

घिमिरेले बैंकको चर्को ब्याजर, तरलताको अभावको कारण उद्योगीहरु समस्यामा परेको बताए । नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला शुरू भएको छ । 

तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । प्रदर्शनीमा कुल एक सय ७० स्टल छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा ४० विदेशी कम्पनी रहेको छन् । 

Advertisement

Advertisement