लजिष्टिक सेवा प्रदायक उपाय र इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबीच छ करोड लगानी सम्झौता

Advertisement

काठमाडौं । लजिष्टिक तथा ढुवानी कम्पनी उपायले कम्पनीको विस्तार तथा देशभर लजिष्टिक समाधानको विस्तारका लागि नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट छ करोड रुपियाँ लगानी प्राप्त गरेको छ । 

ग्लोबल इक्विटि फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा प्रवर्द्धित यो प्राइभेट इक्विटि फण्ड र उपायबीच आज मंगलबार लगानीसम्वन्धी सम्झौता भएको हो । नेपालमा ढुवानी तथा लजिष्टि सेवा प्रदान गर्ने उपाय एक मात्रै व्यवसायिक कम्पनी हो । 

Advertisement

यस कम्पनीले यसअघि डोल्मा इम्प्याक्ट फण्ड–२ बाट १८ करोड रुपियाँ लगानी हात पार्न सफल भएको थियो । इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डबाट यो लगानीको शुभारम्भ भएको बताउँदै उपायका प्रवन्ध निर्देशक सुमन रायमाझीले ४० करोड रुपियाँसम्म लगानी पुग्ने बताए । 

काठमाडौंमा सुविधासम्पन्न वायरहाउससमेत स्थापनाको तयारी गरिरहेको उपायले आफूहरुले लजिष्टिक समाधानको स्थापनाका लागि देशभर बजार एकीकरण, सञ्चालन र डेलिभरी सञ्चालनको पूर्वाधार निर्माण र प्रविधि विकास गरिरहेको बताएको छ । 

रायमाझीले फण्डमार्फत प्राप्त लगानी उपाय २.० को व्यवसाय विस्तार र वृद्धिमा प्रयोग गरिने बताउँदै यस कम्पनीलाई नाफाको बाटोमा पुर्याउने र पछि सर्वसाधारणलाई समेत शेयर जारी गरी शेयर बजारमा समेत कारोबार गर्ने योजना रहेको सुनाए । 

उनले ढुवानी सेवा सञ्चालनका लागि चालक तथा सवारी साधन साझेदार, फ्रान्चाइज साझेदार, व्यापारिक साझेदार, गठवन्धन साझेदार निर्माण गरी नेपालको सम्पूर्ण क्षेत्रको उत्थान र विकासमा यो योजना कोशेढुंगा हुने विश्वास व्यक्त गरे । 

फण्डका लगानी प्रवन्धक मनिष थापाले आफूहरुले उपायका लागि गरेको लगानीले उसको लजिष्टिक व्यवसायमा ठूलो परिवर्तन ल्याउने आशा व्यक्त गर्दै आगामी दिनमा नवीन दृष्टिकोणमार्फत लगानी विस्तार गरिने बताए । सन् २०१८ मा स्थापना भएको उपायले ढुवानी, लजिष्टिक तथा वायरहाउस सञ्चालनका लागि स्वचालिक गोदाम निर्माण, उपाय स्टेशन (देशभरका ट्रकहरुको विश्रामस्थल), उपाय नगर ट्रान्सपोर्ट हबका साथै पूर्व, मध्य र पश्चिम नेपालमा अन्तर–सञ्चालनका लागि बहुयातायात प्रणाली, देशभर ग्रहकको सहज डेलिभरीका लागि तीन सयभन्दा बढी पिनकोड डेलिभरी प्वाइन्ट उपलब्ध गराइने जनाइएको छ । 

Advertisement

Advertisement