काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको मर्जरमा ढिलाई हुने संकेत गरेको छ । प्राधिकरणले मर्जरमा जान बीमा कम्पनीहरु तयार रहे पनि जोखिमांकन गर्न लामो समय लाग्ने भएकाले मर्जरमा ढिलाई हुने बताएको हो ।
प्राधिकरणले पुँजी वृद्धिको नीतिमार्फत बीमा कम्पनीहरुलाई मर्जरमा जान दबाबमूलक नीति लिएपछि कतिपय कम्पनी एक भइसकेको छन् भने कतिपय एक हुने तयारीमा छन् । मर्जरमा जान बाँकी रहेका कम्पनीहरुको भ्यालुयशनमा समय लाग्ने भएकाले मर्जर प्रक्रिया लम्बिने प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बताएका छन् ।
उनले भने, ‘नेपालका कम्पनीहरु न हुन् । जति गरे पनि केही न केही ढिलाई भईहाल्ने रहेछ । मैल त मर्जर यही चैतसम्म सक्न सबै कम्पनीहरुलाई निर्देशन दिएको तपाईंहरुलाई थाहै छ । तर, केही बीमा कम्पनीहरुले आफ्नो हिसाब किताब समयमा नै पूरा नगर्दा मर्जर लम्बिएको छ ।’
ज्योतिको हिसावमा कैफियत, हिसाव गडबढ भए पनि गुराँसको मर्जर नरोकिने
पछिल्लो समय दुई जीवन बीमा कम्पनीहरु चर्चामा छन् । उनीहरुको वित्तीय विवरण अध्यावधिक तथा भ्यालुयसन गर्न ढिलाई भएको कारण मात्रै नभएर हिसाव नमिलेका कारण पनि चर्चामा आएका हुन् ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षदेखि आफ्नो हिसाब मिलाउन सकेको छैन् । रु. २८ करोडको हिसाव नमिल्दा नमिल्दै पनि प्राधिकरणले प्राधिकरण कारण देखाउँदै उसको वित्तीय विवरण स्वीकृत गरिदिएको थियो । गलत वित्तीय विवरण तत्कालिन बीमा समितिमा बुझाउने कि नबुझाउने भन्ने विवादपछि कम्पनीका लेखा प्रमुखले राजीनामा समेत दिएको यस प्रकरणले गराँसलाई अझै पनि पिरोल्दै आएको छ । यद्यपि प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले उक्त हिसाव गडबढी भए पनि पछि मिलाउन लगाइएको बताउँदै मर्जर प्रक्रिया नरोकिने बताएका छन् ।
उनले गलत हिसाब किताब आएमा त्यसको दह्रो रुपमा खोजी गर्ने गरेको बताउँदै सोही कारण केही जीवन बीमा कम्पनीहरु हच्किन पुगेको बताए । सिलवालले थपे, ‘तपाईंहरु हेर्नुस् न यही गुराँस लाइफकै समस्याका कारण पनि मर्जर केही पछि गइरहेको छ । बीमा कम्पनीहरुले आफ्ना जेनुयन समस्या छ भने हामीकहाँ ल्याउनु पर्यो । होइन भने ती कम्पनीहरुलाई छाड्न मिल्दैन् ।’
त्यस्तै, मर्जरमा गइसकेको ज्योती लाइफ इन्स्योरेन्स कम्पनीको हिसावमा पनि कैफियत देखिएको छ । मर्जर गएर एकीकृत कारोबार गरेपछि उक्त कम्पनीको हिसावमा समस्या देखिएको प्राधिकरणले बताएको हो । अध्यक्ष सिलवालले मर्जर अघि ज्योति लाइफको अन्तिम हिसाब किताव राफसाफ नभएको पाइएको बताउँदै सोही कारण आफूहरुले अन्तिम वित्तीय विवरण जतिसक्दो छिटो सल्टाउन सुझाव दिएको बताए ।
बीमा कम्पनी मर्जरमा जानुअघि नै वित्तीय विवरण मिल्नुपर्ने सर्वमान्य नियम भए पनि नयाँ बीमा ऐन र नियमावलीले केही नबोलेको बताउँदै प्राधिकरणले ऐनमा उल्लेख नभएको अवस्थामा प्राधिकरणले नै निर्देशन दिनुपर्ने र सोही अनुसार आफूहरुले निर्देशन दिएको जनाएको छ ।
ज्योती लाइफका (सीईओ) प्रकाशविक्रम खत्रीले राफसाफ बाँकी रहेको हिसाब मर्जरअघि गर्नु वा मर्जरपछि गर्नुले ठूलो भिन्नता नल्याउने दावी गरे । उनले जतिसक्दो चाँडो नमिलेको हिसाबकिताब मिलाउन लागिपरेको बताए ।
सोही विषयमा ज्योती लाइफविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोजमा समेत उजूरी समेत परेको छ । सीईओ खत्रीले उजूरी परे पनि आफूहरुले बीमा क्षेत्रको कुनै पनि कानुन उल्लङ्घन नगरेकाले प्राधिकरणले मर्जर गर्न स्वीकृति दिएको जिकिर गरे ।