विगतमा पशुपतिनाथबाट घुस खाने मन्त्री र सचिवहरुको विवरण मागे मन्त्री किराँतीले

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन् । 

मंगलवार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका हुन् । 

Advertisement

किराँतीले पशुपति क्षेत्र असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर पशुपति सफा गर्न आग्रह गरे । उनले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहोर भएको भन्दै शौचालयको सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे । किराँतीले पशुपति क्षेत्र विकास कोषले पशुपति विकासका लागि गर्ने कामको तत्कालिन, अल्पकालिन र दीर्घकालिन क्यालेण्डर बनाउन आग्रह गरे । 

मन्त्री किराँतीले मन्त्रालयले क्यालेण्डर अनुसार काम भएनभएको आवश्यकता अनुसार अनुगमन गर्ने पनि बताए । उनले पशुपति जस्तो पवित्र स्थानमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने चेतावनी दिए । पशुपति जस्तो पवित्र स्थान पाएर पनि नेपालले राम्रोसँग प्रयोग गर्न नसकेको भन्दै किराँतीले विकास कोषको ज्ञान, क्षमता र संस्कृतिमाथि गम्भिर प्रश्न उठेको बताए । 

मन्त्री किराँतीले पशुपति क्षेत्र विकास कोषले कल्याणकारी कामहरु गर्नसक्ने भन्दै कोषले विश्वविद्यालय, अस्पताल र विद्यालयहरु सञ्चालन गर्नु सामान्य काम भएको बताए । उनले पशुपति जस्तो ठूलो आध्यात्मिक आस्थाको केन्द्रमा बसेर गैरआध्याात्मिक र अराजकता गर्ने छुट कसैलाई नभएको बताए । 

किराँतीले भने, ‘पशुपति जस्तो पवित्र स्थान पाएर पनि हामीले राम्रोसँग प्रयोग गर्न सकेका छैनौं । हाम्रो ज्ञान, क्षमता र संस्कृतिमाथि गम्भिर प्रश्न बनेको छ । पशुपति क्षेत्र विकास कोषले कल्याणकारी कामहरु पनि गर्नसक्छ । पशुपति क्षेत्र विकास कोषले विश्वविद्यालय चलाउनुपर्ने हो । अस्पताल र विद्यालयहरु सञ्चालन गर्नु सामान्य काम हो । कति काम भएको छ । म एक पटक पशुपतिनाथसँग कोषको अध्यक्ष भएर माफी माग्छु । हामीले पशुपतिको सम्मानलाई चिन्न सकेनौं ।’ 

उनले थपे, ‘पवित्र स्थानमा बसेर अपवित्र काम गर्ने हामी को हौं । यति ठूलो आधात्मिक आस्थाको केन्द्रमा बसेर हामी यहाँ भन्दा गैर आध्यात्मिक अराजकता कहाँ हुन्छ । त्रिशुलले डामेर छोड्ने साँढे जस्तै छौं । पद पाएपछि डामे जस्तो अब यस्तो सह्य हुँदैन । अब काम भए दया र बेइमान भए दण्ड हुन्छ । हामी सबैको माया प्रेम काम,परिणाम हुन्छ । पशुपति विकास कोषले क्यालेण्डर बनाएर हामीलाई बुझाउनुपर्छ । तत्कालि,अल्पकालिन र दीर्घकालिन क्यालेण्डर चाहिन्छ र त्यही अनुसार अनुगमन हुन्छ । एक महिनामा सफा पशुपति पवित्र पशुपति नाराका साथ पशुपति क्षेत्र सफा हुनुपर्छ । एक महिनाभित्र सफा गर्नु भनेको छु । आकाश झार्नु भनेको छैन । आकाश झार्नु भनेको भए कुतर्क भयो । सफा गरौं पशुपतिलाई जसरी पशुपतिप्रति मानिसहरुले जस्तो मानसिकता बनाएर आएको हुन्छ त्यो भन्दा बढी आकर्षित गर्नुपर्छ । पशुपतिमा आउने एक जनाले १० जना मान्छे पठाओस् न । त्यस कारण पहिलो एजेण्डा भनेकै सफा पशुपति हनुपर्छ । अहिले पशुपतिका शौचालयहरु पसिसक्नु छैन । यस्तो पनि हुन्छ । वागमतीमा पानी मात्रै बगेको छैन । तपाईहरुको जिन्दगी पनि बगेको छ ।’

मन्त्री किराँतीले मन्त्री र सचिवलाई पैसा दिनुपर्ने भन्दै पशुपतिमा फूल महँगोमा बेच्ने गरिएको गुनासो आएकाले त्यसबारे नियमन गर्न निर्देशन दिए । उनले कुन सरकारको पालामा कुन मन्त्री र सचिवले पैसा लिए ? नाम दिएमा पत्रकारहरुको सामु पढेर सुनाउने बताए । 

किराँतीले एउटा सटर भाडामा लगाउन लाखौंको डिल हुने गरेको सुन्नमा आएको भन्दै अब त्यस्तो कुरा सुनिए तत्काल कारबाही गर्ने चेतावनी दिए । उनले भने, ‘पशुपतिमा धेरै अपवित्र कुरा सुनिन्छ । म यो हो त्यही हो भन्दिन । तर पशुपतिमा फूल बेच्नेले महँगोमा बेच्दा किन महँगोमा बेचेको भन्दा मन्त्री र सचिवलाई पैसा बुझाउनुपर्छ भनिन्छ अरे ? एउटा सटर भाडामा लगाउन लाखौंको डिल हुन्छ । यहाँको फोटो खिच्नेहरु कहाँ गए ? प्रमाण पेस गर्न नपरोस् । एक, दुई लाख, पाँच लाख होर डिलिङ ? २० लाख पनि होइन । लाखौं लाख ? के सुन्नुपरेको पशुपतिनाथमा मैले ? कुन चाहीँ मन्त्रीलाई पैसा दिनुभयो ? मलाई नाम दिनु । पत्रकारहरुसँग पढेर नाम सुनाउँछुृ । भगवानमाथि भ्रष्टाचार गर्ने ? किन फूल व्यापारीहरुसँग पैसा उठाइन्छ ? कस्ले उठाउँछ ?’ 

मन्त्री किराँतीले मान्छे पोल्ने काममा समेत शोषण हुने गरेको विषय सुनेको भन्दै शोषण अन्त्य गर्न निर्देशन दिए । 

Advertisement

Advertisement