सुचना प्रविधिसम्वन्धी कुम्भ मेला सुरु, ‘सरकारी कार्यालयमा स्वदेशी सफ्टवयर प्रयोग होस्’

Advertisement

काठमाडौ । सुचना प्रविधिसम्वन्धी कुम्भ मेला ‘क्यान इन्फोटेक’ आज मंगलबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । छ दिनसम्म चल्ने मेलाको सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरिन् । 

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले हरेक बर्ष आयोजना गर्ने ‘क्यान इन्फोटेक’को यो २८औं संस्करण हो । मेलामा दुई सय स्टलहरु राखिएका छन् । नेपालमा सबैभन्दा धेरै मानिसले अवलोकन गर्ने मेलाको रुपमा चिनिएको सुचना प्रविधिसम्वन्धी यो मेलामा सुचना प्रविधि क्षेत्रमा आएका नयाँ नयाँ हार्डवयर तथा सफ्टवयर प्रविधिसम्वन्धी जानकारी दिने, अवलोकन गर्ने, बिक्री गर्ने सुचना आदानप्रदान गर्ने काम गरिन्छ । 

Advertisement

यस बर्षको क्यान इन्फोटेक करिव पाँच लाखले अवलोकन गर्ने आयोजकको अनुमान छ । यस्तै मेला आउँदो फागुन ६ गतेदेखि वीरगञ्जमा, फागुन १३ देखि धनगढीमा, फागुन २६ देखि पोखरामा, चैत २ देखि मकवानपुरमा आयोजना गर्ने तयारी गरिएको बताए । मेलामा विद्यार्थीहरु, स्टार्टअप विजनेश र सफ्टवयरको लागि छुट्टाछुट्टै प्याभिलियन राखिएको छ । 

मेला उद्घाटनका क्रममा महासंघका अध्यक्ष रणजीत पोदारले यस बर्षको मेलामा नयाँ र नौला प्रविधिहरु पनि रहेको बताए । उनले सरकारी निकायहरुमा स्वदेशमा नै बनेका सफ्टवेयरहरुको प्रयोग बढाउने गरी नीति–नियम बनाउन सरकारसँग माग गरे । 

स्वदेशी सफ्टवेयर उद्योगलाई प्रोत्साहित गर्न र उनीहरुको क्षमता अभिवृद्धिमा जोड दिन पनि उनले सरकारको ध्यानाकर्षण गराए । पोदारले शुन्य भन्सार दरमा आयात हुँदै आएका कम्प्युटरसम्बन्धी सबै सामानहरुमध्ये कम्प्युटर, मनिटर र स्मार्ट बोर्डलाई टेलिभिजन भनेर केही समयदेखि भन्सार महशुल लगाउने गरेकोमा आपत्ति जनाए । 

उनले भने, ‘सफ्टवेयर उद्योगलाई प्रोत्साहित गर्न र भएका उद्योगको क्षमता अभिवृद्धि गर्न सरकारी कामकाजमा स्वदेशी सफ्टवेयरहरुको प्रयोग बढाउने नीति नियम बनाउन म अनुरोध गर्न चाहान्छु । त्यसैगरी, कम्प्युटरसम्बन्धी सम्पूर्ण सामानहरु आयात गर्दा शुन्य भन्सार रहेकोमा केही समयदेखि कम्युटर, मनिटर र स्मार्ट बोर्डलाई टेलिभिजन भनेर सोही अनुसारको भन्सार कर लगाउने गरिएकोमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

भृकुटीमण्डपमा पाँच दिने मेला गर्न ३० लाख रुपिया भाडा तिर्नुपरेको भन्दै पोदारले यो निकै महंगो भएको बताए । मेलास्थलको शुल्क समाज कल्याण परिषदले लिने गर्छ । 

Advertisement

Advertisement