राजधानीका व्यापारिक केन्द्रहरुमा सुस्तता, व्यापारीहरु निराशा र तनाबमा

Advertisement

काठमाडौं । राजधानीको मुख्य बजार जमल, न्युरोड, ठमेल, क्षेत्रपाटी, असन जस्ता क्षेत्रमा तुलनात्मक रूपमा बढी बढी भिडभाड देखिन्छ । तर पसलहरुमा किनभने भने खासै छैन । व्यापारीहरु फुर्सदमा देखिन्छन् । 

समग्र अर्थतन्त्रमा देखिएको मन्दीको असर उद्योग व्यापारमा पनि देखिन्छ । असली ग्राहक नआउँदा राजधानीका व्यापारी क्षेत्रका व्यापारीहरू निराश देखिन्छन् । सबैभन्दा बढी किनबेल र कारोबार हुने न्युरोड कोरोना महामारीपछि उक्कासिन सकेको छैन् । 

Advertisement

ग्राहकले रोजे र खोजेअनुसारका सामानहरु पाइने भएकाले किनमेलका लागि लागि न्युरोड, जमल, इन्द्रचोक, असन जस्ता क्षेत्र ग्राहकहरुको रोजाईमा पर्ने गरेको थियो । सोही कारण यस क्षेत्रमा धेरै परम्परागत पेशा व्यवसाय गर्नेदेखि नयाँ व्यवसाय गर्नेहरुले ठूलो लगानी र भाडा तिरेर यस क्षेत्रमा व्यापार गर्दै आएका छन् । तर पछिल्लो समयमा किनमेल सुस्त हुँदा उनीहरु सकसमा छन् । 

जमलमा कुर्था सुरुवालको व्यापारी गर्दै आएकी शान्ता बलामीले कोरोनापछि एकताका व्यापार राम्रै भए पनि अहिले भने ग्राहक पसलमा किन्नेभन्दा मोलमोलाई गर्न बढी आउने गरेको बताइन् । उनले भनिन्, ‘अधिकांश घुम्ने र बजार भाउ बुझ्न मात्र आउँछन् । बजारमा चहलपहल देखिए पनि व्यापार छैन् ।’

कपडा व्यापारी रवीन्द्र बस्नेतले नेपाली बजारमा नयाँ सामग्री नभएको बताए । चीनका शहरमा अर्डर दिएका सामान नाकामा अड्किएको बताउँदै नाकाबाट कन्टेनर नआउँदा भनेको जस्तो व्यापार नभएको बताए । बस्नेतले भने, ‘चाइना जान पनि नदिने, उताबाट सामान पनि नआउने । नेपालमा बनेका कपडा नेपालीले लगाउन नचाहाने हुँदा बजार सुस्ताएको हो ।’

उनले पहिला कपडाको व्यापारबाट राम्रो आम्दानी हुने गरे पनि अहिले व्यापार १० प्रतिशत मात्र रहेको बताए । सोचेजस्तो व्यापार नभएकाले बैंकको चर्को ब्याजदर तिर्न आफूहरुलाई कठीन भएको बताए । बस्नेतले भने, ‘बजार यस्तै उक्कासिन नसकेमा बैंकको ब्याज कसरी तिर्ने ? भन्ने समस्याले पिरोलेको छ ।’

ठमेलकी पस्मिना उलन व्यापारी मीना बास्तोलाले पर्यटकीय क्षेत्र ठमेलमा चहलपहल खासै नरहेको बताइन् । उनी भन्छिन्, ‘व्यापार हुने समयमा व्यापार ठप्प छ । पर्यटक पनि प्लेन दुर्घटनाका कारण खासै आएका छैनन् । व्यवसायमा राम्रो मुनाफा छैन् । लगानी उठ्न पनि मुस्किल छ । अहिले त पसलको भाडा तिर्न नै मुस्किल छ ।’

बजारमा अहिले दैनिक कतिको व्यापार भयो ? भन्दा पनि कति ग्राहक पसलमा छिरे ? भन्ने अवस्था रहेको व्यापारीहरुको गुनासो छ । उनीहरुले व्यापार व्यवसाय पूरानै लयमा फर्किने आशामा कुर्दाकुतै ठूलो नोक्सानी भोग्नुपरेको, लागत र सञ्चालन खर्च बढेको बताउँछन् । 

Advertisement

Advertisement