माथिल्लो अरुणमा ६५ अर्ब ऋण लगानी गर्न विश्व बैंक इच्छुक, ईखुवाखोला पनि एकसाथ बन्ने

Advertisement

काठमाडौं । सरकारको महत्वकांक्षी जलविद्युत योजना माथिल्लो अरुणमा विश्व बैंकले लगानी गर्न तयार देखिएको छ । बैंकले ६५ अर्ब रुपिया लगानी गर्ने गरी प्रक्रिया अघि बढाएको छ ।

एक हजार ६१ मेगावाटको यो आयोजना निर्माण गर्न सरकारले स्रोत खोजी गरिरहेको छ । तीन दशकअघि अरुण तेस्रो जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएर पनि पछि नेपालको आन्तरिका राजनीतिकका कारण अवसर नपाएको विश्व बैंकले अहिले माथिल्लो अरुणमा ५० करोड अमेरिकी डलर सहुलियत कर्जा दिन तयार भएको हो । 

Advertisement

बिश्व बैंक नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विकास साझेदारको रुपमा चिनिदै आएको छ । बैंकले यो आयोजनालाई आफूले नजिकबाट नियालिरहेको जनाएको छ । माथिल्लो अरुणमा लगानी गर्न बैंकको उच्चस्तरको टोली नेपाल आएर आयोजनास्थल अवलोकन गरेर फर्किसकेको छ । 

आयोजनाका लागि स्रोत व्यवस्थापन गर्ने क्रममा अर्थ मन्त्रालय बिश्व बैंकमा पुगेको हो । मन्त्रालयका एक कर्मचारीले भने ‘बिश्व बैंकले आयोजनामा ५० करोड अमेरिकी डलर सहुलियत ऋण दिने प्रस्ताव गरेको छ । नपुग स्रोत व्यवस्थापनका लागि अन्य लगानीकर्तासँग छलफल भइरहेको छ ।’ ती कर्मचारीका अनुसार बिश्व बैंकसँग ऋण लगानी टुङग्याउन धेरै विषयमा छलफल टुङग्याउनु पर्नेछ ।

बिश्व बैंकले धेरैजसो ऋण सहयोग सोधभर्नामा आधारित रहेर प्रदान गर्दै आएको छ । यस्तै ऋणको ब्याजदर र किस्ता लगायतका विषयमा पनि छलफलबाटै टुङ्गिने जनाइएको छ । ऋण सम्झौतासँग सबै आन्तरिक तयारी सकिएपछि अर्थ मन्त्रालयका सचिव र बैंकका प्रतिधिनिबिच सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।

माथिल्लो अरुण निर्माण गर्न दुई खर्ब १४ अर्ब रुपियाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । बिश्व बैंकले यो परियोजनामा ५० करोड डलर लगानी गरे एकै पुर्वाधारमा सबैभन्दा ठूलो लगानी बन्नेछ । यसअघि बिश्व बैंकले पृथ्वी राजमार्ग स्तरोन्नतिका लागि उसले करिब ५५ अर्ब रुपियाँ ऋण सम्झौता गरेको थियो । 

सरकरले माथिल्लो अरुण अर्धजलाशय युक्त आयोजनाको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । प्रस्तावित आयोजनास्थलसम्म पुग्नका लागि २३.१९ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले यस आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन पनि तयार गरिसकेको छ । माथिल्लो अरुणले स्थानीयलाई शेयर प्रदान गर्नेछ । यही आयोजनाले ईखुवाखोला जलविद्युत आयोजना पनि एकसाथ निर्माण गर्ने प्रस्ताव गरेको छ ।

संखुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिकामा अवस्थित यो आयोजना स्थल पुग्न पहुँच मार्ग आयोजनाका दुई वटा खण्डहरु रहेका छन् । पहिलो खण्डअन्तर्गत अपर अरुण जलविद्युत आयोजना (१०६१ मेगावाट)को लागि भोटखोला गाउँपालिकामा र दोस्रो खण्डअन्तर्गत ईखुवाखोला जलविद्युत आयोजनाको लागि मकालु गाउँपालिकामा प्रस्ताव गरिएको पहुचमार्ग रहेको छ ।

प्रस्तावित पहुँच मार्गको पहिलो खण्ड (अपर अरुण जलविद्युत आयोजनाको लागि) भोटखोला गाउँपालिका वडा नं. २ र ४ मा प्रस्ताव गरिएको छ । यो खण्ड स्याकसिला गाउँ (झोलुङ्गे पुल नजिक)बाट शुरु भएर भोटखोला गाउँपालिका कै रुक्मा गाउँ (चेपुवा र अरुण नदीको दोभान)मा पुगी टुङ्गिनेछ भने दोस्रो खण्ड (ईखुवाखोला जलविद्युत आयोजनाको लागि) मकालु गाउँपालिकाका लागि) भोटखोला गाउँपालिका वडा नं. २ र ४ मा प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजनाबाट २ वटा सामुदायिक वनको तथा सरकारी वनको क्षेत्र प्रभावित हुनेछ ।

आयोजना निर्माण गर्दा २ वटा सामुदायिक वन क्षेत्रबाट विभिन्न २५ प्रजातीका कुल ४५ सय ३० वटा रुखहरु काट्नुपर्ने देखिन्छ जुन २२८८५.५९ क्युविक घन फिट बायोमास र १७६०६.१२ क्युविक फिट दाउरा बराबर हुन आउँछ ।

Advertisement