Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अहिले पनि औद्योगिक क्षेत्रमा अघोषितरुपमा लोडसेडिङ भइरहेको बताउँदै तर प्राधिकरणको अहिलेको व्यवस्थापनले लोडसेडिङ तालिका भने निकाल्ने आँट गर्न नसकेको बताएका छन् । 

कर्पोरेट नेपालसँग कुराकानीमा उनले भाइबर र ह्वार्टसएपबाट उद्योगीहरुलाई बेलुकी ७ बजेबाट उद्योग बन्द गरिदिनुहोला भनेर जानकारी दिने तर सुचना भने निकाल्न नसक्ने अवस्था रहेको बताउँदै गर्मी लागेपछि उत्पादन घटाउनु भनेर जलविद्युत उत्पादकहरुलाई दबाब दिने काम हुने गरेको बताए । 

Advertisement

चार बर्षको लागि कार्यकारी निर्देशक नियुक्ति गरिए पनि गैरकानुनीरुपमा छ महिनामा जबरजस्ती हटाउने काम सरकारले गरेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा डेढ बर्ष अघि मुद्दा दायर गरेका र १८ पटक पेशी तोकेर पनि मुद्दाको फैसला नगर्दा निराश बन्दै आएका शाक्यले २०५०–५१ सालमा सिस्टममा जम्मा २५० मेगावाट विजुली भएको बेलामा पनि प्राधिकरणको तत्कालिन नेतृत्वले उद्योगदेखि सर्वसाधारण उपभोक्तासम्मलाई बिजुली आपूर्तिको व्यवस्थापन मिलाउन सकेको तर अहिले दुई हजारभन्दा बढी बिजुली आइसक्दा पनि त्यो कुरा हुन नसकेको बताए । 

अहिलेको समस्या अहिलेकै नेतृत्वले निम्त्याएको समस्या हो भन्दै उनले गर्मीको समयको अभाव पूर्ति गर्न ‘पम्प स्टोरेज’ आयोजनाहरु बनाउनुपर्नेमा त्यो हुन नसकेको बताए । लोडसेडिङ हुन नदिन भारतको बिजुलीको भर पर्नुपर्ने र उसले कहिले महंगो गर्ने, अहिले कटौती गर्ने गर्दा त्यसको मार उद्योगहरुले खेप्नुपरेको शाक्यले बताए । उनले उद्योगलाई विद्युत कटौती गर्दा स्वयम उद्योगलाई मात्रै नभएर समग्र अर्थतन्त्रमा पर्ने असरलाई मूल्यांकन गरेर डेडिकेटेड लाइनहरुको व्यवस्था गरेको स्मरण गर्दै विद्युत अभावको बेला शहरका घरहरुमा बिहान बेलुकी विद्युत कटौती गर्दा हुने असरभन्दा उद्योगमा कटौती गर्दा हुने असर धेरै हुने बताए ।  

शाक्यले नीतिगतरुपमा ग्राहस्थ र उद्योगहरुलाई बराबर बिजुली दिने भन्ने तर उद्योगहरुलाई अघोषितरुपमा बिजुली कटौती गर्ने कुरा अपारदर्शी काम भएको शाक्यले बताए । उनले बिना सुचना यसरी बिजुली कटौती गर्ने कुरा गलत हो भन्दै अलोकप्रिय कुरा लागे पनि अर्थतन्त्रको हितको लागि विद्युत कटौती गर्दा पहिला ग्राहस्थमा गरेर मात्रै उद्योगमा गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । 

निवर्तमान कार्यकारी निर्देशक शाक्यले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बिजुली भारतलाई बेच्न सकिएन भनेर आत्तिनु जरुरी नरहेको बताए । उनले भने, ‘माथिल्लो तामाकोशीलाई के चिन्ता छ भने बैंकको ऋण तिर्नुपर्ने छ । लगानीकर्तालाई लाभांश दिनुपर्ने छ । त्यसको लागि बिजुली बेच्न नपाएर पैसा नआउने हो कि ? भन्ने त्रास उहाँहरुमा छ । मलाई व्यक्तिगतरुमा के लाग्छ भने भारतलाई बेच्न सक्किए ठिक छ बेचौं । बेच्न सक्किएन भनेर नआत्तिऔं । प्राधिकरणले त्यसको दायित्व लिनुपर्छ । आईपीपीलाई त्यसको भार बोकाउन हुन्न । यदि आठ सय मेगावाट विजुली बढी भयो । चार सय मेगावाट भारतलाई बेच्यौं । बाँकी चार सय सकेनौं र यदि त्यो बिजुली टेक अर पे को छ भने प्राधिकरणले भुक्तानी गर्नुपर्छ । बर्षको दुई तीन महिना, त्यो पनि १५–२० प्रतिशत अश बिजुली हामीले टेक अर पे मा नकिनीकन भुक्तानी गर्दा प्राधिकरणको व्यालेन्स सिटमा त्यत्ति फरक पर्दैन् । तर यदि हामीले भुक्तानी नदिएर आईपीपीलाई डुबायो भने त्यसले बिस्तारै बैंक र अर्थतन्त्रलाई समेत तान्दै लैजान्छ ।’ 

अर्थ मन्त्रालय, उर्जा मन्त्रालयसहितका सरकारी निकायले उर्जा क्षेत्रमा यतिसम्मको ‘सक’ व्यहोर्नुपर्छ भनेर पहिले नै सोच बनाउनुपर्छ भन्दै शाक्यले थपे, ‘आफै प्राधिकरणको कार्यकारी निर्देशक भइसकेको व्यक्ति भएर यस्तो आत्मघाती कुरा गर्यो भन्नुहोला । तर समग्र उर्जा क्षेत्रको चिन्ता लिने हो भने हरेक नेपाली र विद्युत प्राधिकरणका कर्मचारीले पनि बिजुली खेर गयो भनेर पावरहाउस बन्द गराउने कुरा गर्न हुँदैन् ।’ भारतसँग विद्युत बिक्रीको कुरा गर्दै आन्तरिक खपत बढाउन जोड दिनुपर्ने उनले बताए । 

निवर्तमान कार्यकारी निर्देशक शाक्यले आम उपभोक्तालाई विद्युत दिने कुरा गर्दैगर्दा उद्योगहरुलाई भने उपेक्षा गर्दा हुन्छ भन्ने सोच गलत हो भन्दै उद्योगहरु बन्द हुँदा त्यसले राज्यलाई हुने क्षति बढी हुने बताए । उनले भारतलाई बढी भएको बिजुली बेच्ने प्रयास सकारात्मक नै भए पनि बंगलादेशमा भने निर्यात कठिन रहेको बताए । यतिबेला भारत बिजुली किन्नुपर्ने बाध्यात्मक स्थितिमा रहेको शाक्यको भनाई छ । 

साथै उनले आफू राजनीतिक कारणले प्राधिकरणको कार्यकारी निर्देशक भएको होइन, त्यतिबेलाको संस्थाको वरिष्ठतम उपकार्यकारी निर्देशक भएको र क्षमता र कार्यअनुभव हेरेर सरकारले नियुक्त गरेको हो भन्दै छोटो समय कार्यकारी निर्देशक भए पनि काम गरेर देखाएको र कुनै गल्ती पनि नगरेको बताए । 

आफ्नो कार्यकालमा विद्युत प्रणालीका केही क्रिटिकल काम गरेको उदाहरण दिँदै शाक्यले कोभिड संक्रमणको उत्कर्षको बेला भएकाले जोगिएर काम गर्नुपर्ने, कतिपय चाहेका कुरा पनि गर्न नपाइने अवस्था त्यतिबेला थियो भने । राधिका शाक्यसँग आफ्नो कुनै नातासम्वन्ध नरहेको बताए । शाक्यले आफ्नो बुबा इलामको र आमा काठमाडौंको भएको र राधिका शाक्य पाटनको भएको बताउँदै राधिका शाक्यसँग धेरै टाढासम्म कुनै नाता सम्वन्ध नरहेको बताए ।  

थप रोचक कुराकानी माथि भिडियोमा हेर्नुहोस्ः

Advertisement

Advertisement