किन्ने मान्छे भए घाटा खाएर भए पनि पसल बेच्न तयार छौंः व्यापारी

आर्थिक मन्दीको चपेटामा महाबौद्धका व्यापारी, बैंकको चर्को ब्याजदर र उधारो कारोबारले थिच्यो

Advertisement

काठमाडौं । मुलुकमा देखिएको आर्थिक मन्दीको मारमा सबैभन्दा बढी साना तथा मध्यमस्तरका व्यवसायी परेका छन् । राजधानीको महाबौद्ध विशेषगरी थोक व्यापारका लागि परिचित छ । 

बैंक तथा सहकारीको चर्को ब्याजदर, चर्को घरभाडा, उधारोमा बिक्री गरेका सामानको पैसा महिनौंसम्म नउठ्ने समस्या, बचत गरेको रकम सहकारीले नदिने, बैंकले ऋण नदिने, सरकारको झन्झटिलो कर नीति जस्ता समस्याबाट थिलिएका महाबौद्धका व्यापारी व्यापारमा गिरावट आउँदा निराश बन्दै गएका छन् । 

Advertisement

विगत तीन दशकदेखि महाबौद्धमा कपडाको थोक व्यापार गर्दै आएका होमनाथ दंगाल अहिलेको जस्तो व्यापारमा शुन्यताको परिस्थिति आफूले जीवनमा कहिल्यै अनुभव नगरेको बताए । व्यापार नभएर पसल बिक्री गर्ने  सोचमा आफू पुगेको उनले बताए । 

दंगालको गोदाममा अहिले दुई करोड रुपियाँको कपडा थन्किएको छ । खरीद गर्ने कोही आएमा घाटा खाएर भए पनि बिक्री गर्न आफू तयार रहेको उनी बताउँछन् । कोरोना महामारीअघि दिनमै दुई लाख रुपियाँसम्म व्यापार गर्दै आएका दंगाल अहिले दैनिक पाँच हजारको कपडा बिक्री गरेर चित्त बुझाउनुपरेको छ । 

दुर्गा पाठक थपलिया झापाकी व्यापारी हुन् । उनले राजधानी काठमाडौंबाट लत्ताकपडा किनेर झापाको मेगा कम्प्लेक्स थोक बिक्री गर्ने गरेको १७ वर्ष भयो । 

झापाका साना ठूला करिव चार सय व्यापारीलाई सामान बिक्री गर्दै आएकी दुर्गाले चीनबाट कपडा आयात रोक्किएपछि नेपालभित्रकै कारखानाबाट उत्पादित कपडा थोक खरीद गरी बिक्री गर्दै आएकी छन् । 

कुनै समय दैनिक चार लाख रुपियाँसम्मको व्यापार गर्ने उनको कपडा अहिले भने गोदाममा थन्क्याएर राख्नुपर्ने बाध्यता छ । विश्वव्यापी आर्थिक मन्दीको मारमा नेपाल पनि परेको छ । मन्दीले गर्दा धेरै व्यवसायी सडकमा पुग्ने अवस्था भएको छ । भर्खर व्यवसायमा हात हालेकाहरु झन ठूलो मर्कामा परेको दुर्गा थपलियाले बताइन् । 

उनी भन्छिन्, बैंकको चर्को ब्याजले भारमाथि भार थपिएको छ । उद्योगी व्यापारीहरुलाई बचाउनुपर्छ भन्ने भाव न सरकारमा छ न बैंकवालामा नै छ । बैंकका माफियाहरु मोटाउँदै जाँदा धेरै सानातिना व्यापारीहरुको उठिवास हुने अवस्था सिर्जना भएको छ ।’  

राजधानीको महाबौद्धमा व्यापार गर्ने अर्का व्यापारी रामु कार्कीले छ वर्षदेखि लेडिज(महिला)को सम्पूर्ण कपडाहरुको थोक बिक्री गर्दै आएका छन् । बजारमा आर्थिक गतिविधि नहुँदा बिहान पसल खोल्ने र बेलुका बन्द गर्ने मात्र काम भएको उनी गुनासो गर्छन् । 

सरकारले अर्थतन्त्रको समस्या र व्यवसायीको समस्या समाधानका लागि केही उपाय ल्याउने आशा गरिए पनि सरकार नै अस्थिर बन्न पुगेको कार्कीले बताए । व्यापार हुने आशामा धेरै समय कुर्दा ऋणमा डुब्ने अवस्था आएको उनले बताए । कार्कीले भने, ‘एक करोड रुपियाँको लगानीबाट सुरु गरेको व्यवसायमा व्यापार होला भन्दै सामान हाल्दै जाँदा सहकारी  र बैंकमा गरि एक करोड ४० लाख रुपियाँ ऋण भएको । व्यवसाय छोडौं बजारमा पैसा फँसिसक्यो । उधारो उठ्दैन् । आम्दानीको कुनै वैकल्पिक स्रोत पनि छैन् । यही व्यापारमा बस्दा दिनभरमा पनि बोहोनी नहुने अवस्था छ ।’ 

विधुतीय उपकरणको कारोबार गर्ने व्यापारी निकेश घिमिरे विगत २५ वर्षदेखि यो व्यापारमा छन् । तर अहिले जस्तो असहज अवस्था विगतमा झेल्नुनपरेको उनको अनुभव छ । घिमिरेले पनि ग्राहक नआउँदा बोहोनी पनि नगरी पसल बन्द गर्नुपर्ने अवस्था रहेको सुनाए । 

केही महिनादेखि घरबाट पैसा ल्याएर पसलको भाडा तिर्दै आएको सुनाउँदै उनले व्यापार नभए पनि घरधनीले उल्टै भाडा बढाउने, बैंकले पनि ब्याजदर बढाउने गरेबाट निराश छन् । घिमिरे भन्छन्, ‘जताबाट पनि मर्ने हामी व्यापारी हो । एक लाख घर भाडा तिर्दै आएको छ । अब कति तिर्ने ? बैंकले थप ऋण दिँदैन् । दिएको ऋणको पनि ब्याज बढाउँदै जान्छ । सहकारीले पनि जम्मा गरेको रकम दिँदैन् । भोली र पर्सी भनेर झुलाउने गरेको छ ।’ 

बैंक र सहकारीले ब्याजदर दोब्बर बनाउँदा पनि सरकार र राष्ट्र बैंक मुकदर्शक बनेकोमा उनले असन्तुष्टि जनाए । घिमिरेले थपे, ‘देशमा कुनै कानुन छैन् ? कुनै नीति नियम किन हुन नसकेको ? त्यसको निकास कहिलेसम्म निस्किन्छ ? पैसा कहाँ जान्छ ? त्यसैले त यस्तो अवस्था आएको होइन् होला ?’ 

श्रृंगारका सामग्री बिक्री गर्दै आएका थोक व्यापारी  कृष्णप्रसाद शर्मा विगत छ वर्षदेखि यो व्यवसायमा छन् । पाँच लाख रुपियाँ लगानीबाट व्यवसाय सुरु गरेका उनले पहिला जस्तो अहिले व्यापार राम्रो नरहेको उनले बताए । 

शर्माले भने, ‘एकताका त सामान किन्नेले लाइन बस्नुपर्ने समय आथ्यो । अहिले त एक–दुर्इ जना आउँछन् दिनमा । अहिले त भाडा तिर्न पनि सरसापट गर्नुपर्ने अवस्था छ । अवस्था सुध्रिएला भन्यो झन सुस्ताएको छ ।’ सामान नबिकेपछि सस्तोमा भए पनि भएको माल कटाउने सोचमा रहेको उनले बताए । 

महाबौद्धमा झोलाहरुको थोक व्यापार गर्दै आएका सुजन गौतमले व्यवसायमा मन्दीको सामना गर्नुपरेको धेरै समय भइसक्यो । विगतमा चैत्र, बैशाखमा व्यापार गर्न भ्याईनभ्याई हुन्थ्यो । यस्तो राम्रो सिजनमा समेत यो बर्ष बजार सुन्य जस्तै रहेको गौतमले गुनासो गरे । व्यवसायिक वातावरण सुधार गर्न सरकारले ध्यान नदिएकोमा उनी रुष्ट छन् । 

गौतम भन्छन्, ‘हरेक दिन सयौं युवा जनशक्ति बाहिरिनु देशको आर्थिक संभावना बाहिरिनु हो । अहिले मलाई लाग्छ यहाँ बसेर केही हुँदैन भनेर नै हिंडेका हुन् । भविश्य नदेखेपछि को बस्छ ? यहीं संभावना छ, यही राम्रो शिक्षा छ भन्ने कुराको सुनिश्चितता गरेर युवाहरुलाई रोक्न सकेको भए अहिले यो अवस्था आउथेन होला ।’

महाबौद्धमा जुत्ता चप्पलको थोक व्यापार गर्दै आएका काभ्रेका विदुर खड्काले अहिलेको पसल कुर्ने मात्र काम भइरहेको सुनाए । व्यापार नभएर निराश भएका उनले ३० लाख नभएको भए अर्को कुनै व्यवसाय गर्ने थिएँ भन्छन् । 

खड्का भन्छन्, ‘बैंकबाट लिएको ऋण अझै तिर्न सकेको छैन् । फेरि ऋण लिन पनि बैंकले दिँदैन् । व्यापारबाट उँभो लाग्ने अवस्था छैन् । सरकारलाई व्यापारीले हारगुहार गर्नु पनि बेकार हो जस्तो लाग्छ । सरकारले केही गर्नेवाला छैन् । ढुकुटीमा केही छैन् । खोक्रो सरकारबाट के आशा गर्नु ? सरकारले नै अर्को देशको नोकरी गर्न मात्र बाँकी छ ।’

Advertisement