नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै स्याङ्जाको ‘माझु भञ्ज्याङ’

Advertisement

काठमाडौं । स्याङ्जाको सिरुबारी होमस्टे नजिकै रहेको ‘माझु भञ्ज्याङ’ नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । 

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त लगानीमा जीविकोपार्जनका लागि दीगो पर्यटन परियोजनाले नयाँ पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले आँधिखोला गाउँपालिकासँगको साझेदारीमा माझु भञ्ज्याङमा संरचना निर्माण गरेसँगै यो ठाउँ आन्तरिक पर्यटनको नयाँ गन्तव्य बन्न थालेको हो । 

Advertisement

आधिखोला गाउँपालिका वडा नं १ को वडाध्यक्ष पवन अधिकारीका अनुसार भञ्ज्याङमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटनको चाप बढेको छ । नयाँ वर्ष, चाडपर्व, बिदा, विशेष अवसरमा यस क्षेत्रमा घुम्न आउने पर्यटकको संख्या उल्लेख्य हुने गरेको उनले बताए । 

आसपासका क्षेत्रमा यस गन्तव्यलाई आधार बनाई होटल र रेष्टुरेन्ट सञ्चालनमा आएको छ भने स्थानीय उत्पादनले समेत बजार पाउन थालेको छ । अधिकारीले भने, ‘स्याङ्जा बजारबाट देखिने एक सुन्दर पहाडको रुपमा रहेको छ माझु भञ्ज्याङ । यहाँबाट सफा मौसममा अन्नपुर्ण, मनास्लु, धौलागिरी र लाङटाङ हिमश्रंखलाको दृश्य हेरी मनोरञ्जन लिन सकिन्छ ।’ 

पोखराबाट मात्र ४४ किलोमिटर दूरीमा रहेको यो गन्तव्य पुग्न गाडिमा करिब एक घण्टा समय लाग्छ । यहाँबाट देखिने मनोरम हिमश्रृंखलाले गर्दा गन्तव्य वनभोज खान र घुम्न आउनेहरु लोभ्भिने गरेको उनले बताए । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बोर्डले देशका विभिन्न स्थानमा नयाँ गन्तव्य खोज्ने र पूर्वाधार विकास गर्ने काम गर्दै आएको बताए । 

माझु भञ्ज्याङमा १९५ मिटरको फुट ट्रायल, तीन वटा पर्यटक विश्राम स्थल, पिङ, आराम गर्नका लागि कुर्सी, सेल्फी प्वाइन्ट निर्माण गरिएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । 

Advertisement

Advertisement