चलचित्र काँडेतार जस्ताको त्यस्तै प्रदर्शन गर्न नपाए अदालत जान्छुः निर्माता खड्का

Advertisement

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताए । बुधवार चलचित्र पत्रकार संघले गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

केसीले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र मन्त्रालयले पनि ऐन निर्माणको लागि छिटो काम थाल्ने प्रतिवद्धता जनाउँदै चलचित्र निर्माणका लागि चलचित्र विकास बोर्डले आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए । 

Advertisement

उनले भने, ‘चलचित्र विकास बोर्डले कहाँ सहयोग गर्नुपर्ने हुन्छ चलचित्र विकासका लागि त्यो सहयोग गर्न हामी तयार छौँ । चलचित्र ऐन बनाएर हामीले मन्त्रालयमा बुझाइसकेका छौँ, मन्त्रालय र मन्त्रीज्युले यसलाई सक्दो चाँडै कार्यान्वयनमा लैजाने आश्वासन दिनुभएको छ ।’

केसीले सरकार, सम्बन्धित निकाय र कलकार तथा सञ्चारमाध्यम सबै मिलेर चलचित्र विकासमा सहयोग गर्नुपर्ने बताए । 

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले काँडेतार चलचित्रका कुनै दृश्यहरु संवाद नकाटिकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डबिरुद्ध अदालत जाने चेतावनी दिएका छन् । 

उनले सेन्सर बोर्डले चलचित्रका केही दृश्य र संवादहरु काटेर मात्रै प्रशारण गर्न भन्दै चलचित्र प्रशारणमा रोक लगाएको बताउँदै आफूले चलचित्रमा हटाउनैपर्ने कुनै त्यस्ता दृश्यहरु नरहेकाले सबै दृश्य र संवादहरु राखेर प्रर्दशन गर्न दिन आग्रह गरेको बताए । 

खड्काले भने, ‘सेन्सर सर्टिफिकेट नउठाएको काँडेतारले पायो, कसैले त्यत्तिकै फण्डा गरिरहेको छ भन्ने किसिमको कुरा यहाँ आएपछि मैले सुनेँ, सेन्सर सर्टिफिकेट मैले पाएको छैन, सेन्सर बोर्डले सधैँको लागि चलचित्रलाई ब्याण्ड गरेको पनि होइन । त्यहाँ केही संवाद र दृश्यहरु सुधारेर ल्याउन सुझाव दिनुभएको छ । मैले पनि कुनैपनि दृश्यहरु नकाटिकन दर्शकसँग लैजान पाउँ भनेर अपिल गरेको छु, सेन्सर बोर्डले यो अनुरोध सुनेन भने त्यसको लागि न्यायलय, अदालत छ ।’

अध्यक्ष खड्काले चलचित्र काँडेतारले सेन्सर सर्टिफिकेट नपाएको पनि बताए । 

Advertisement

Advertisement