कम्पनीको सीईओ तथा प्रवन्ध सञ्चालकमा जाब्बोर कायुमोभ नियुक्त भएको एनसेलद्धारा पुष्टि

Advertisement

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालकमा जाब्बोर कायुमोभ नियुक्त भएको पुष्टि गरेको छ । 

उनको नियुक्ति करिव एक महिनाभन्दा पहिले भए पनि आज बुधबार मात्रै आधिकारिकरुपमा कम्पनीले जानकारी दिएको हो । कर्पोरेट नेपालले यसअघि नै मलेसियाको एजियटा ग्रुपले एनसेलको नयाँ सीईओमा कायुमोभलाई पठाउने निर्णय गरेको समाचार प्रकाशित गरेको थियो । 

Advertisement

एजिएटाको उक्त निर्णयलाई स्वीकार गर्दै एनसेलको सञ्चालक समितिको मंगलबार बसेको बैठकले कायुमोभलाई सीईओ तथा प्रबन्ध सञ्चालक नियुक्त गरेको हो । उनले आजबाट आफ्नो कार्यभार सम्हालेका छन् । 

यससँगै एनसेलका यसअघिका सीईओ एन्डी चोङ्ले आजियाटा गु्रपको प्रधान कार्यालयमा गु्रप चिफ कर्पोरेट अफिसरको रुपमा काम गर्नेगरी फर्किएका छन् । 

कायुमोभ यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) जस्ता दूरसञ्चार संस्थाअन्तर्गत थुप्रै कम्पनीको सीईओ भएर काम गरिसकेका छन् । उनीसँग करिब २० वर्ष दूरसञ्चार उद्योगमा काम गरेको अनुभव रहेको एनसेलको भनाई छ । 

एनसेलले भनेको छ, ‘दूरसञ्चार क्षेत्रका धेरै कम्पनीमा आफ्नो उत्कृष्ट ट्राक रेकर्ड राख्न सफल कायुमोभ कुशल व्यवसायिक नेतृत्वका रूपमा चिनिन्छन् । एनसेलमा आवद्ध हुनुअघि उनले डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको सीईओको रूपमा काम गरेका थिए । डिजिसेल जमैकामा अप्रिल २०२३ सम्म सीईओको रुपमा कार्यरत थिए । क्यारेबियन देशहरूमा कार्यरत रहँदा उनले डिजिटल सेवाप्रदायक बन्नका लागि व्यावसाय सञ्चालन परिर्वतनको नेतृत्व गरेका थिए ।’

कायुमोभको भनाई उदृत गर्दै एनसेलले भनेको छ, ‘एनसेल टिममा सामेल हुन पाएकोमा म हर्षित छु । प्रभावशाली फुटप्रिन्ट र बलियो ब्रान्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान् टिमसँग काम गर्न उत्सुक छु । टिमसँग काम गर्दै व्यावसायिक कार्यसम्पादनमा वृद्धि गर्नु र आजियाटा गु्रपको बृहत्तर भिजन एड्भान्सिङ एसियामा आधारित हुँदै नेपालको डिजिटल विकास र नेपालीको जीवनस्तर सुधारमा योगदान पु¥याउन ध्यान केन्द्रित गर्नेछु । एक करोड ६० लाखभन्दा बढी ग्राहक र नेपालीको सेवा गर्न पाउँदा म गौरवान्वित छु ।’ एनसेलमा अजियटाको ८० प्रतिशत र बाँकी नेपालीको लगानी छ । 

Advertisement

Advertisement