केही भ्रष्ट नेता, कर्मचारी, दलाल र ठेकदारबीच नेक्सस नै छ यो मुलुकमाः देव

Advertisement

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद जितेन्द्र देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराएका छन् । 

शुक्रबार राष्ट्रियसभामा बोल्दै उनले यस प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्वीकार्य नहुने बताए । देउले भुटानी शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध भएकाले त्यसमा संलग्न जोकोहीलाई कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

Advertisement

उनले मुलुकमा भ्रष्टाचारको नेक्सस नै खडा भएको उल्लेख गर्दै त्यसलाई सरकारले निरन्तर निगरानीमा राख्नुपर्ने बताए । मुलुकमा भ्रष्टाचार अब पनि बढदै जाने हो भने प्रतिगमनकारीहरुले टाउको ठड्याउनसक्ने तर्क गरे । सांसद देवले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि निडर र निष्पक्ष भएर काम गर्न वर्तमान सरकारलाई पनि आग्रह गर्न चाहान्छु । हाम्रो मुलुकमा भ्रष्टाचार संस्थागत छ । र, बुझ्नुपर्ने कुरो के हो भन्दाखेरी अहिले मुलुकको पहिलो समस्या कुन हो ? मूल समस्या के हो ? कसैले भन्छ भने म सरकारलाई भन्न चाहान्छु अहिलेको मुलुकको मूल इस्यू भनेको करप्शन हो ।’ 

उनले थपे, ‘हाम्रो मुलुकमा भ्रष्टाचारको स्रोत एउटा नेक्सस छ । यो मुलुकमा लामो समयदेखि केही करप्ट पोलिटिशिएनहरु, केही करप्ट व्यूरोक्र्याटहरु र केही दलाल, बिचौलिया र ठेकदारहरु । यिनहरुको एउटा नेक्शस छ यो मुलुकमा । यो नेक्सस नटुटेसम्म भ्रष्टाचारको विषयमा काम अगाडि बढदैन । भ्रष्टाचार निर्मूल हुँदैन् । न्यूनीकरण हुँदैन ।’ 

भुटानी शरणार्थी प्रकरणमा कोही दोषी छुटनु हुन्न भन्दै देवले कोही दोषी, चाहे जोसुकै होस्, छुटन नहुने बताए । उनले यो विषय अन्तराष्ट्रिय रुपमा भन्ने हो भने संगठित अपराधसँग जोडिएको विषय र मानव तस्करीसँग जोडिएको विषय र राज्य विरुद्धको अपराध पनि हो भन्दै राज्यको गोपनियतासँग चलखेल गर्नु, राज्यको दस्तावेजलाई तलमाथि गर्नु यो राज्य विरुद्धको अपराध हो भने । 

देवले भने, ‘यो सामान्य भ्रष्टाचारको मुद्धा होइन यो । त्यसकारण यो विषयलाई दुधको दुध र पानीको पानी हुने गरी नेपाल पुलिस फोर्सलाई इन्भेष्टिगेशन गर्न दिनु पर्दछ ।’ उनले नेपाली जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र सेवा प्रवाह चाहिरहेको बताए । 

Advertisement

Advertisement