Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेले भारतसँग विद्युत व्यापार सम्झौता सुशील कोइराला प्रधानमन्त्री भएको बेला आफ्नो कार्यकालमा भएको बताएका छन् । उनले अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको सम्झौता नयाँ नभई पुरक सम्झौता मात्रै भएको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा काफ्लेले भने, ‘सन् २०१४ मा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा, जतिबेला आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएको बेला, केन्द्रीयस्तरमा विद्युत व्यापार सम्झौता भएको हो । त्यसकारण यो कुनै नयाँ सम्झौता होइन् । यो पुरक सम्झौता मात्रै हो ।’ अहिले भारतको प्रतिस्पर्धी बजारमा नेपालले ४५२ मेगावाट विद्युत निर्यात गर्न सकेको आफ्नो पालामा भएको सम्झौताको प्रतिफल भएको उनको भनाई छ । 

Advertisement

काफ्लेले आजभन्दा ५२ बर्षअघि सन् २०७१ मा नै विद्युत आदानप्रदान सम्झौता भइसकेको, तर त्यो चाहिं बिहार र उत्तर प्रदेशबाट नेपालका तराई क्षेत्रमा विद्युत आदानप्रदानका लागि भएको थियो भन्दै त्यसपछि १९९१ मा भएको टनकपुर सम्झौताले पनि विद्युत व्यापारको कुरालाई समेटेको, जसअनुसार नेपालले सात करोड युनिट विजुली बार्षिकरुपमा प्राप्त गर्दछ भने । 

साथै, उनले प्रधानमन्त्री दाहालको अहिलेको भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत व्यापार र नेपालबाट १० हजार मेगावाट विद्युत बिक्री गर्ने कुराबाट अहिले नै खुशी हुने बेला नरहेको बताएका छन् । उनले नेपाललाई विद्युत आयात गर्न हाम्रो संरचनाले भ्याएसम्म कुनै अवरोध नभए पनि निर्यातको कुरामा धेरै अवरोध रहेको बताउँदै तर निर्यातका लागि भारतका धेरै सीमा र शर्तहरु रहेको अहिलेकै पुरक सम्झौताबाट पनि देखिएको बताए । यद्यपि अहिले भएका सम्झौताको विस्तृत विषय अध्ययन गर्न बाँकी रहेको काफ्लेले बताए । 

भारतले आयात गर्न तयार भएको भनिएको १० बर्षमा १० हजार मेगावाट विद्युत आफ्नो लगानीका आयोजनाबाट मात्रै हो वा नेपालमा बनेका सबै आयोजनाबाट हो ? यो महत्वपूर्ण प्रश्न हो भन्दै उनले सम्झौता सार्वजनिक खपतका लागि मात्रै गरिएको हो वा वास्तवमै कार्यान्वयनका लागि गरिएको हो ? कन्टेन्ट हेरेर मात्रै भन्न सकिने बताए । 

जलस्रोत तथा उर्जा क्षेत्रका जानकारसमेत रहेका काफ्लेले चिनियाँ पक्षको संलग्नता तथा लगानी रहेका नेपालका विद्युत आयोजनाका विजुली किन्न भारत तयार नरहेको देखिनु चिन्ताको विषय भएको बताए । यस कुराले अबको बर्खामा माथिल्लो तामाकोशीबाट उत्पादित विजुली ठूलो मात्रामा खेर जाने अवस्था रहेको उनको भनाई छ । 

फरक प्रसंगमा काफ्लेले आफू पनि एउटा हिन्दू भएकाले आफ्नो देशको प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गेरु ब्रस्त लगाएर महाकालेश्वर मन्दिरमा पुजापाठ गरेको देख्दा खुसी लागेको बताए । प्रधानमन्त्रीको विगत हेरेर यस विषयमा टिकाटिप्पणी हुनु स्वाभाविक हो भन्दै उनले प्रधानमन्त्री दाहालमा सदबुद्धि आयोस र भगवानले उनको रक्षा गरुन भन्ने कामना पनि गरे । 

थप कुराकानी भिडियोमाः 

Advertisement

Advertisement