कतारी राजाको भ्रमणले नेपालले लाभ लिने ठूलो ढोका खुलेको छः राजदूत ढकाल

Advertisement

काठमाडौं । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले कतारी राजाको भ्रमणले नेपालले कतारबाट लाभ लिने ठूलो ढोका खुलेको बताएका छन् । 

नानसँगको कुराकानीमा उनले नेपालले लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिने बताएका छन् । कतारी राजा अमिर सेख तमिम बिन हमाद अल थानी दुई साताअघि दुई दिने भ्रमणका लािग नेपाल आएका थिए । 

Advertisement

अरब राष्ट्रका प्रमुखको पहिलो नेपाल भ्रमणमा ठूलो स्वागत पनि भएको थियो । तर दुई देशबीच भएका सम्झौता र समझदारीमा श्रमिकको महत्वपूर्ण विषय अटाएनन् नसकेको र नेपालले महत्वपूर्ण लाभ लिनेगरी सम्झौता गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला राजदूत ढकालले भने लाभ लिने ठूलो ढोका खुलेको तर्क गरेका हुन् । 

उनले भने, ‘ नेपाली पक्षले श्रमिकका हितमा राखेको अडानले तत्काल नयाँ श्रम सम्झौता हुन नसके पनि अमिरको भ्रमणका क्रममा श्रमिकसँगै देशको लगानी, कुटनीति र खेल क्षेत्रको विकासमा प्रचुर सम्भावनाको ढोका खोलेको छ ।’ पहिलो पटक कतारी राजाको नेपाल भ्रमण सम्भव हुनुका पछाडिका घटनादेखि लाभ लिनका लागि नेपालले खेल्नुपर्ने कुटनीति र विपिन जोशी प्रकरणमा भइरहेको प्रयासबारे उनले बताए । 

ढकालले भने, ‘अरब देशहरुबाट पहिलो पटक राष्ट्राध्यक्षको नेपाल भ्रमण भयो । यसैले हामीले यसलाई ऐतिहासिक अवसरका रुपमा लिनुपर्छ । यससँगै यसअघि श्रमिकका कारण नागरिकस्तरको सम्बन्ध थियो भने अब दुई देशबीच सरकार र राज्यस्तरको सम्बन्धका हिसावले लिन्छौं । अब कतार र नेपालबीच विकास साझेदारका रुपमा आगामी दिनमा अघि बढ्न यो (भ्रमण) कोशेढुंगा हुनेछ भन्ने रुपमा पनि लिनुपर्छ ।’ 

उनले श्रमिकको पारिश्रमिक वृद्धिसम्वन्धमा केही कुरामा विमति हुँदा सम्झौता हुन नसकेको स्वीकार गरे । ढकालले भने, ‘केही महिना अगाडि घरेलु श्रमिकको प्रश्ताव कतारबाट आयो । अनि श्रम सम्झौताका लागि छलफल चल्दै गर्दा हामीले हाम्रा श्रमिकको लामो समयदेखि ज्याला वृद्धि भएको छैन, अरु सुविधाहरुमा पनि समयसापेक्ष परिवर्तन गर्नुपर्नेछ भन्ने प्रश्ताव छलफलका लागि अघि बढायौं । यद्यपी उनीहरु (कतार)का तर्फबाट घरेलु कामदारको विषय पनि त्यसैमा (श्रम सम्झौतामा) बढाउने गरी छलफलमा प्रश्ताव आएपछि त्यसलाई हामीले टुंग्याउन सकेनौं ।’ 

श्रम सम्झौता टुंगोमा पुग्न नसके पनि छलफलको चरणमा रहेको उनले बताए । ढकालले श्रमिकको सुविधाको विषयलाई कतार सरकारले समग्रतामा हेरिरहेको बताउँदै नेपाली कामदारहरुको हितमा हुनेगरी अडान राखेकाले हस्ताक्षर गर्ने अवस्थामा पुर्याउन ढिलो भएको बताए । विगत १८ बर्षदेखि कतारसँग श्रम सम्झौता परिमार्जन हुन सकेको छैन् । 

प्राकृतिक ग्यास र तेलको विकल्पका लागि विभिन्न देश र क्षेत्रमा लगानी गरिरहेको कतारसँग ती क्षेत्रमा नेपालमा पनि लगानी गर्न नेपालको पर्याप्त तयारी नपुगेको ढकालले स्वीकार गरे । यद्यपि  कुटनीतिक हिसाबले हेर्दा नेपाललाई कतारले हेर्ने नजर परिवर्तन भएको उनले बताए । ढकालले राजा थानीको यस भ्रमणबाट कतारमा नेपालबारे धारणा सकारात्मक बन्ने बताए । 

उनले भने, ‘कतारले स्टेडियम दियो भने हाम्रो देशले ल्याउन सक्छ ? ल्याउन गर्ने लगानीले त यहीं स्टेडियम बन्छ । त्यसकारण सहजपूर्वक बुझ्नुपर्ने कुरा थियो । यसमा युथ एण्ड स्पोर्टस सम्बन्धी एमओयुभित्र अब के हुनसक्छ भने खेलका लागि विभिन्न सहजीकरण गर्ने व्यक्ति खेलाडि आदानप्रदान हुनसक्छ । नेपालजस्तो उच्च एल्टिच्युट भएको देशमा स्टेडियम बनाउँदा उनीहरुलाई पनि लाभ हुन्छ भन्ने बुझाउन जरुरी छ । त्यसकारण अहिले ढोका खोलेका छौं । तर त्यो प्रत्येक कोठा जानका लागि धेरै ढोका खोल्नुपर्नेछ ।’

Advertisement

Advertisement