सातै प्रदेशले ल्याए बजेटः बागमतीको ठूलो हुँदा सुदूरपश्चिमको सबैभन्दा सानो (कुनको कति ?)
फाइल तस्बिर

Advertisement

काठमाडौं । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् । कोशी प्रदेशले हिजो बजेट सार्वजनिक गरेको हो भने बाँकी ६ प्रदेशले आज सार्वजनिक गरेका हुन् । 

सात प्रदेशमध्ये बागमती प्रदेशले सबैभन्दा बढी ६२ अर्ब ७० करोड र सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम २९ अर्ब २६ करोडको बजेट सार्वजनिक गरेको हो ।  

Advertisement

यसैक्रममा बागमती प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रूपियाँको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपियाँ र पूँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपियाँको बजेट सार्वजनिक गरेका हुन् । गतवर्ष ७० अर्ब ९३ करोड ९२ लाख रुपियाँको बजेट ल्याएको थियो । 

यसैबीच, मधेश प्रदेश सरकारका अर्थमन्त्री सञ्जय यादवले ४६ अर्ब ९२ करोड ११ लाख रुपियाँको बजेट प्रस्तुत गरेका छन् ।  अर्थमन्त्री यादवले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २० अर्ब ९२ करोड १५ लाख र पुँजीगततर्फ २० अर्ब ९२ करोड १५ लाख बजेट विनियोजन गरिउको छ । 

त्यसैगरी लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले चालु खर्चतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र  पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख रुपियाँको बजेट सार्वजनिक गरेका हुन् । गतवर्ष ४२ अर्ब ६३ करोड ५७ लाख रुपियाँ बजेट ल्याएको थियो ।

यसैगरी गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपियाँको बजेट ल्याएको छ । अर्थमन्त्री जीतप्रकाश आलेले चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख र पूँजीगततर्फ २० अर्ब १९ करोडको बजेट प्रस्तुत गरेका हुन् । गतवर्ष भन्दा वर्षभन्दा डेढ अर्ब कमको बजेट सार्वजनिक गरिएको हो । 

यता, कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले चालु आर्थिक वर्षको तुलनामा करिब २४ करोड कमको बजेट प्रस्तुत गरेका हुन् । बजेटमा पूँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रुपियाँ र चालुतर्फ ९ अर्ब २० लाख २४ हजार रुपियाँ बिनियोजन गरिएको छ ।  

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले २९ अर्ब बढीको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । मन्त्री शाहीले चालु खर्चतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार र पूँजीगत खर्चतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार विनियोजन गरेका छन् ।

यता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेट बिहीबार सार्वजनिक गरे । आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन गरेका हुन् । कूल विनियोजनमध्ये चालु खर्चतर्फ रु. १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूँजीगत खर्चतर्फ रु. १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार छुट्याइएको छ । 
 

Advertisement