काठमाडौं महानगरपालिकाले ल्यायो रु. २५ अर्ब ५४ करोडको बजेट, विकास बजेट दोब्बर

Advertisement

काठमाडौं । देशको राजधानीमा रहेको काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८०–८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपियाँको बजेट ल्याएको छ ।

बजेटमा चालु खर्चभन्दा विकास (पुँजीगत) खर्चका लागि दोब्बर बढी बजेट विनियोजन गरिएको छ । चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार विनियोजना गर्दा पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपियाँ विनियोजन गरिएको छ । चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ ।

Advertisement

आइतबार नगरसभाको बैठकमा उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा हालसम्म खर्च हुन नसकेको ११ अर्ब ७५ करोड रुपियाँलाई पनि स्रोतको रुपमा औंल्याइएको छ भने माथिल्ला सरकारहरुको सशर्त अनुदान एक अर्ब ४५ करोड ६२ लाख रुपियाँ, निशर्त अनुदान ८९ करोड ३६ लाख रुपियाँ, आन्तरिक आय छ अर्ब ३९ करोड रुपियाँ, राजस्व बाँडफाँटबाट दुई अर्ब १६ करोड रुपियाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट दुई अर्ब रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । 

शिक्षा क्षेत्रमा सबैभन्दा धेरै सात अर्ब ३४ करोड विनियोजन गरेको महानगरपालिकाले गौरवको योजनाका लागि तीन अर्ब ८० करोड रुपियाँ विनियोजन गरेको छ । त्यस्तै महानगर स्वर्णिम योजनाअन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि दुई अर्ब विनियोजन गरिएको छ । वडाबाट प्राप्त योजनाका लागि एक अर्ब ७६ करोड रुपियाँ विनियोजना गरिएको छ । 

Advertisement