सरकारका मन्त्री नै भन्छन्– बजेट असन्तुलित भयो

Advertisement

काठमाडौं । सरकारका मन्त्रीले नै सरकारले ल्याएको आउँदो आर्थिक बर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् । संसदमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०–८१ को बजेट असन्तुलित भएको बताएका हुन् । 

मन्त्री किरातीले बजेट असन्तुलित भएकोमा माफी समेत मागे । उनले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताए । किरातीले सांसदहरुलाई खुशी बनाउन नसकेको भन्दै बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताए । 

Advertisement

सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरु समावेश गरिएको  बताउँदै उनले भने, ‘सदाझैँ यसपालि मन्त्रालयको सिलिङ बजेटको व्यवस्था भएन । हाम्रो मन्त्रालयमा जिरो थियो सिलिङ बजेट । पुरातत्व विभाग र पर्यटन विभागमाथि हामी भर पर्नु पर्यो । धरै योजनाहरु अटाउनै सकिएन् । सबैको चित्त प्रशन्न बनाउनै सकिएन् । बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीको । स्वभाविक रुपमा बजेट असन्तुलन हुन गएको छ । त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्राथी छु । माननीय सांसदहरुको मागलाई हामीले लिपिवद्ध गरेर सम्बन्धित मन्त्रालय पठाएका थियौँ । त्यहाँ पनि बजेटको सीमाले योजनाहरु पर्न सकेन भनेर हामीले बुझ्दा राम्रो हुन्छ होला ।’ 

किरातीले थपे, ‘बजेको सिमा करिब ४५ प्रतिशतले हाम्रो मन्त्रालयमा घटेर आयो । हँुदाहुँदै पनि सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी कार्यक्रमहरु समावेश गरिएको छ । समावेश गरिएका कार्यक्रमहरु धेरै साना–साना बजेटका छन् । प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्य सम्पन्न भएको सबैलाई अवगत नै छ ।’

उनले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानविन गरेको जानकारी दिए । किरातीले विमानस्थल थप्ने भन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताए । उनले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको दावी पनि गरे । 

Advertisement