Advertisement

काठमाडौं । लामो समय घरजग्गा व्यवसायमा लागेका व्यवसायी रामसुन्दर बके विगत पाँच वर्षदेखि पर्यटन क्षेत्रमा पनि संलग्न छन् । घरजग्गा र पर्यटन क्षेत्रलाई सँगै लिएर अघि बढेका उनी नेपाल जग्गा तथा आवास विकास महासंघका सचिव तथा रानिकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टका अध्यक्ष हुन । व्यवसायी बकेसँग कपोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीको सारः 

लामो समयदेखि घरजग्गा क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो । कसरी पर्यटन क्षेत्रमा लाग्नुभयो ?
म पेशाले जग्गा व्यवसायी नै हुँ । यो व्यवसाय छोडिसकेको छैन् । घरजग्गा क्षेत्र र पर्यटन क्षेत्रलाई सँगै लिएर अघि बढेको छु । देशमा आर्थिक मन्दी भइरहेको अवस्थामा एउटै पेशामा मात्र आवद्ध भएर हुन्न । आम्दानीको विकल्पहरु पनि खोज्नुपर्छ । नयाँ क्षेत्रमा पनि पहिचान बनाउनुपर्छ । नयाँ व्यवसाय पनि गर्नुपर्छ भन्ने सोंचले रिसोर्ट सञ्चालनमा ल्याएको हो । 

Advertisement

घरजग्गा क्षेत्रमा काम गर्न थाल्नुभएको कति भयो ? दुवै क्षेत्रलाई कसरी अगाडि बढाइरहनुभएको छ ? 
म १९५० सालदेखि नै निरन्तररुपमा घरजग्गा क्षेत्रमा काम गर्दै आएको छु । अझ् पनि गर्दै छु । रिसोर्टको व्यवस्थापन मेरो छोरोले गरिरहेको छ । निर्माण क्षेत्रमा म आफै नै हेरिरहेको छु । सन्तुलित तरिकाले नै लगिरहेको छु दुवै व्यवसाय । हिजोको दिनमा रानीकोट भनेको अनकन्टार जंगल जस्तो गाउँ थियो । यो ठाउँमा लुकिरहेको गन्तव्यलाई रिसोर्ट सञ्चालनमा ल्याएर पर्यटकीय हब बनाउन भूमिका खेलेको हो । नयाँ गन्तव्यको खोजमा रहेका पर्यटकहरुको लागि यो एउटा आकर्षक ठाउँ हो । अहिले यहाँ धेरै वटा रिसोट, होटलहरु निर्माण हुने क्रममा छ । पर्यटकहरुले रानीकोटलाई मन पराएको देखिन्छ । शनिबारको दिन सूर्यविनायकदेखि लिएर भिलेज हाइल्याण्ड रिसोर्टसम्म नै ट्राफिक जाम जस्तै हुन्छ । मैले पर्यटन व्यवसाय रानीकोटबाटै सुरु गर्नु र रोज्नुको मुख्य कारण रानीकोट एउटा एेतिहासिक, प्राकृतिक हिसाबले पनि सुन्दर ठाउँ भएर हो । 

कोभिड महामारीपछि धेरै व्यवसाय मारमा पर्यो । यस्तो विषम अवस्थामा तपाईंले किन पर्यटन क्षेत्र रोज्नुभयो ?
सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष भनेर घोषण गरिसकेपछि नेपालभर एक किसिमको उत्साह पनि बढेको थियो । हामीले पनि त्यही नेपाल भ्रमण वर्षलाई नै लक्षित गर्दै रिसोर्ट निर्माण छिटो छिटो सक्यौं । तर दुर्भाग्य, रिसोर्ट सञ्चालनमा ल्याएको चार महिनापछि कोभिड सुरु भयो । लकडाउन भयो । त्यसपछि दुई वर्ष जति असहज नै भयो । जसोतसो सञ्चालन गरियो । हामे रिसोर्टमा आन्तरिक पर्यटकहरु नै बढी आउने भएकाले निराश हुनुपर्ने अवस्था आएन् । अहिले पनि त्यति राम्ररी चलिसकेको छैन् । तर पर्यटन क्षेत्रले बिस्तारै पिक–अप लिन्छ कि जस्तो देखिन्छ । सप्ताहन्तमा हाम्रो रिसोर्टमा आन्तरिक पर्यटकहरुको राम्रै उपस्थिति हुन्छ । 

रिसोर्ट कति लगानीमा निर्माण गरेर सञ्चालनमा ल्याउनु भएको हो ? 
मैले रिसोर्ट सञ्चालनमा ल्याएको पाँच वर्ष भयो । रिसोर्टमा ५० करोड रुपियाँ लगानीबाट सुरु गरेको हो । अहिले अझ बढेको छ लगानी । अहिले २५ जना कर्मचारी छन् । 

पर्यटन क्षेत्रमा लाग्ने पहिला रुची थियो र तपाईंलाई ? कसरी पर्यटन क्षेत्रमा लाग्ने विचार आयो ? 
यो अचानक आएको विचार चाहिं होइन् । पहिलादेखि नै मैले कमाउन थालेपछि नेपालमा अरु व्यवसाय भन्दा पनि पर्यटन व्यवसाय सबैभन्दा उपयुक्त हुने देखेको थिएँ । सोहीअनुसार रिसोर्टमा लगानी गरेको हो । यो जग्गा होटलकै लागि भनेर २०६० सालमा किनेको थिएँ । रानीकोटमा पहिले त्यति विकास भइसकेको थिएन् । पर्यटकहरु पनि चलेकै ठाउँमा जान रुचाउने भएकाले मैले पनि सौराहामा जग्गा किनेको थिएँ, रिसार्ट बनाउने भनेर । तर साथीहरुसँग सल्लाह हुँदा चितवन टाढा पनि भयो, आफ्नै ठाउँमा व्यवसाय गरे हुन्छ भने । त्यसपछि मैले आफ्नै ठाउँ रानीकोटमा जग्गा लिएर राखेको ठाउँमा रिसोर्ट निर्माण गर्ने निर्माण गरें । 

घरजग्गा क्षेत्र र पर्यटन व्यवसायमा आवद्ध रहिरहँदा तपाईंले केही फरक पाउनुभयो कि ?
घरजग्गा क्षेत्रमा हामीले जति नै राम्रो व्यवसाय गरे पनि राज्य र समाजले हेने दुष्टिकोण फरक छ । हुने रहेछ । घरजग्गा व्यवसायभन्दा अल्ली नकारात्मक रुपमा हेरिन्छ । तर पर्यटन क्षेत्रमा हेर्ने दुष्टिकोण सकारात्मक छ । अर्को व्यवसाय भन्दा यो व्यवसाय नै राम्रो जस्तो लाग्छ । 

आगामी दिनमा अरु क्षेत्रमा पनि लगानी गर्ने, नयाँ व्यवसाय सुरु गर्ने कुनै योजना छ तपाईंको ? 
पर्यटन व्यवसायलाई म बिस्तार गर्न खोजिरहेको छु । सोलुखुम्बुको पट्टेले र चितवन राष्ट्रिय निकुञ्ज छेउमा मेरो जग्गा छ । चितवनमा वनजंगल र थारु संस्कृतिसँग जोडेर रिसोर्ट निर्माण गर्ने हो । त्यहाँको रैथानेसँग मेल खाने खालको रिसोर्ट निर्माण गर्ने योजना छ । पट्टेले सगरमाथा नजिक पनि रिसोर्ट निर्माण गर्ने योजना छ । धार्मिक पर्यटनसँग जोडन पनि त्यहाँ निर्माण गर्ने योजना बनाएका हो । मैले अहिले एउटा अभियान लिएर हिंडिरहेको छु । जे पाक्छ, त्यो बिक्छ । नयाँ नयाँ गन्तव्यको प्रचार गर्ने हिसाबले म लागिरहेको छु । देशमा अहिले आर्थिक मन्दी छ । त्यसैले मेरो योजना अगाडि बढाउन ढिलाई भएको हो । रानीकोटमा भएको रिसोर्टमा पर्यटकहरुको थप कोठा र हलको माग भइरहेको छ । रानीकोटको रिसोर्ट नजिकै रहेको बाघभैरवनेर पाँच सय जना जति अटाउने हल निर्माण गर्ने कि ? भन्ने योजना छ । 

Advertisement

Advertisement