पर्यटन बोर्डले बजेटको ८० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा खर्च गर्ने

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ल्याउन लागेको बजेटका सम्बन्धमा निजी क्षेत्रसँग छलफल गरेको छ । बोर्डले आगामी बर्षका लागि रु. डेढ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।  

बिहीबार बोर्डमा भएको छलफलमा चालुसहित विगत आर्थिक वर्षहरुको बजेटको समीक्षा र अबको नयाँ बजेटबारे निजी क्षेत्रको राय सुझाव माग गरिएको थियो । छलफलमा पर्यटनसम्वद्ध संघसंस्थाका प्रतिनिधि र अगुवाहरु सहभागी थिए । 

Advertisement

उनीहरुले कार्यान्वयन गर्नसक्ने खालको बजेट मात्रै ल्याउन सुझाव दिँदै कार्यान्वयन गर्न नसक्ने बजेट नल्याउन आग्रह गरेका थिए । व्यवसायीहरुले बोर्डले गर्ने काम र सेवाको आधुनिकीकरणमा जोड दिएका थिए ।  

व्यवसायीहरुले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन कार्यक्रम गर्दा परम्परागतभन्दा पनि नयाँ ढंगले गर्न आग्रह गर्दै पर्यटन व्यवसायीहरुले आन्तरिक तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा निजी क्षेत्रको सहभागिता बढाउन आग्रह गरेका थिए । बजेट निजी क्षेत्रमैत्री हुनुपर्ने उनीहरुको माग थियो । 

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बोर्डले निजी क्षेत्रको सुझावलाई समेटेर बजेट बनाउने आश्वासन दिए । उनले निजी क्षेत्रबाट रचनात्मक सुझाव आएको उल्लेख गर्दै ती सुझावलाई समेटेर बजेटलाई अन्तिम रुप दिने बताए । 

बोर्डको मुख्य काम नै पर्यटन प्रवर्द्धन रहेको परिप्रेक्ष्यमा निजी क्षेत्रबाट प्राप्त सुझावले बजेट कार्यान्वयनमा सहजता ल्याउने बजेट समितिका संयोजक तथा बोर्ड सदस्य मिलन देवकोटाले बताए । उनले बोर्डले आर्थिक वर्ष २०८०–८१ का लागि करिब सवा अर्ब रूपियाँ भित्रको बजेट ल्याउने तयारी गरेको समेत जानकारी दिए । 

संयोजक देवकोटाका अनुसार आगामी आर्थिक वर्षमा ८० प्रतिशत बजेट अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गर्न र बाँकी रकम आन्तरिक पर्यटन प्रर्वर्द्धन तथा पूर्वाधार निर्माणमा खर्च गरिने छ । 

बोर्डका अर्का सदस्य मदन आचार्यले निजी क्षेत्रसँग गरिएको छलफल फलदायी भएको र यसले बजेट निर्माण तथा कार्यान्वयनमा सहजता ल्याउने बताए ।

छलफलका क्रममा होटल संघ नेपाल (हान), प्यासिफक एशोसिएसन अफ ट्राभल ऐन्टस (पाटा) ट्रेकिङ ऐजेन्सिज एशोसिएसन अफ नेपाल (टान) नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्सिज (नाटा), नेपाल र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल माउण्टेनियरिङ एशोसिएसन (एनएमए) एनटीभीए, एनटीबीए, सोट्टोलगायतका संस्थाहरुका प्रतिनिधिहरु सहभागी थिए । 

Advertisement