रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउने तयारी

Advertisement

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार प्रसार गर्दै, रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु गर्ने भएको छ । 

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले नेपाल पर्यटन बोर्डसगँको सहकार्यमा काठमाडौंमा आयोजना गर्न लागिएको ‘जाउँ हिँड रेसुङ्गा’ विशेष प्रर्वधनात्मक कार्यक्रमको पूर्व सन्ध्यामा आयोजना गरिएको जानकारी दिए । 

Advertisement

नगर प्रमुख खिलध्वज पन्थिले गुल्मी रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अभियान स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा बैशाख २० गते काठमाडौंबाट अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरू रहेको रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन वर्षै भरि विभिन्न कार्यक्रम आयोजना गरिने पन्थिले बताए । 

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भौतिक पूर्वाधारको विकाससंगै रेसुङ्गाको प्रर्वद्धनको लागि प्याकेज निर्माण गर्न आग्रह गरे । उनले सो क्षेत्रको पर्यटन प्रर्वद्धनको लागि बोर्डको साथ सहयोग रहने बताए ।

बोर्डका निर्देशक लक्ष्मण गौतमले रेसुङ्गा तपोभूमि अध्यात्म र संस्कृतिले जति दिव्य छ त्यति प्राकृतिक सम्पदाले पनि भव्य रहेको उल्लेख गर्दै रेसुङ्गाको पर्यटन प्रर्वद्धन गर्दा छिमेकी जिल्लाहरुको समेत पर्यटन प्रर्वद्धन हुने बताए ।  

कार्यक्रममा डा.नारायाचार्य तिसिमल्सेना (देवबाबा) ले गुल्मीको पर्यटन प्रर्वद्धनका लागि रुरु क्षेत्रको रेहको शालिग्रामको संरक्षण आवश्यक रहको बताउँदै शालिग्रामको संरक्षणको लागि ऐन बनाउनु पर्ने बताए । 

रेसुङ्गा भौगोलिक, जैविक र वानस्पतिक विविधताले भरिएको क्षेत्र हो । यो क्षेत्र क्षेत्रमा वन क्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, जलस्रोत, पाटीपौवा, यज्ञशाला, धर्मशाला एवं भग्नावशेषहरू रहेका छन् । यस क्षेत्रमा दुर्लभ चरा, पुतली, सरिसृप एवं स्तनधारी जीवहरू पाइने हुनाले जैविक विविधताले पनि यो क्षेत्र अत्यन्तै महत्वपूर्ण रहेको छ । 
 

Advertisement

Advertisement