जलविद्युत बीमा जटिल बन्दै, उर्जा उत्पादक, बीमा कम्पनी र प्राधिकरणको आ–आफ्नै गुनासा

Advertisement

काठमाडौं । नेपालका जलविद्युत आयोजनाहरु प्राकृतिक विपत्तिहरुको जोखिममा छन् । बाढी पहिरोका कारण धेरै आयोजनाहरुमा बर्षेनी अर्बौं रुपियाँको क्षति भएबाट पनि सो कुरा पुष्टि हुन्छ । यस्ता जोखिम हुनसक्ने आधारमा नै बीमाको अवधारणा आएको हो र जलविद्युत आयोजनाको पनि बीमा गर्ने चलन विश्वभर छ । 

तर नेपालका बीमा कम्पनीहरुले भने जलविद्युत आयोजनाको बीमा गर्न आनाकानी गर्ने गरेको जलविद्युत कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरुले गुनासो गर्दै आएका छन् । बीमाको आवश्यकता रहेको बेलामा नै बीमा पोलिसि महंगो बनाउने, बीमा गर्न कम्पनीहरु आनाकानी गर्ने, गरेको बीमाको दावी भुक्तानी दिन पनि ढिलाई गर्ने काम हुँदै आएको उनीहरुको भनाई छ । 

Advertisement

यता बीमा कम्पनीहरुले नेपालका जलविद्युत आयोजनाहरु बढी जोखिममा रहेको, सुरक्षा मापदण्ड कम पालना गर्ने गरिएको, सानो क्षतिमा पनि ठूलो मूल्यांकन गर्ने चलन रहेको, स्वदेशी पुनर्बीमा कम्पनीहरु पनि अर्बौंको जोखिम बहन गर्ने क्षमतामा नहुँदा विदेशी कम्पनीसँग पुनर्बीमा गर्न कठाई गरिएको बताउँदै आएका छन् । 

जलविद्युत कम्पनीका प्रवर्द्धकहरुले बीमाको आवश्यकता बढ्दै गएको बेला यसलाई सहजीकरण गर्नुपर्नेमा नेपाल बीमा प्राधिकरणले नै जलविद्युत बीमा महंगो र जटिल बनाउने काम गरेको बताएका छन् । उर्जा उत्पादकहरुको संस्था इप्पानको अध्यक्ष गणेश कार्कीले आफूहरु बीमाबाट पीडित रहेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूहरु बीमाबाट पीडामा रहे पनि सडकमा ढुंगा हान्न जान नैतिकताले रोकेको बताएका थिए । कार्कीले बीमासम्वन्धी नीति बनाउँदा सरोकारवालासँग कुनै छलफल नगरी जबरजस्ती जलविद्युत बीमाको पोलिसि जारी गर्ने काम भएको बताए । 

युनाईटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवणकुमार रावलले जलविद्युत बीमामा कम्पनीहरुको आकर्षण घटेको स्वीकार गरे । उनले भने, ‘मुख्य कुरा भनेको विदेशी पुनर्बीमा कम्पनीहरुले नेपाली बीमा कम्पनीहरुलाई जलविद्युत पुनर्बीमा गर्न आनाकनी गरेको अवस्था छ । अब जोखिम बढेको बीमामा पुनर्बीमा नै भएन भने त विश्वमा कुनै पनि बीमा हुँदैन् । बीमा कम्पनीले पनि आफू एक्लैले त जोखिम लिने होइन् । हामीले पनि पुनर्बीमा कम्पनीहरुलाई बाँड्ने हो ।’

नेपालमा भूकम्पीय जोखिम, बाढी पहिरो, असुरक्षित र गुणस्तरहिन निर्माणका कारण पनि नेपाली जलविद्युत आयोजनाको बीमा चाहे जस्तो हुन नसकेको रावलको भनाई छ । 

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपालका बीमा कम्पनी र जलविद्युत कम्पनी दुवैलाई सहज होस् भनेर आफूहरुले दररेट तोकेको बताए । तर त्यसमा सहमति जुट्न केही समस्या भएको स्वीकार गरे । 

पौडेलले भने, ‘जलविद्युत बीमामा बीमा गर्न रबीमांक पाउन समस्या आउने गरेकाले समस्या समाधान होस् भनेर निश्चित दर तोक्देको हो । जलविद्युत कम्पनीका सञ्चालकहरुले उक्त दर निकै महङ्गो भयो भन्नु भएको छ । सस्तो दरमा जलविद्युत आयोजनाहरुको बीमा गराउँदा पुनर्बीमा नहुने ।’

उनले जलविद्युत कम्पनीहरुको समेत रेटिङ, ग्रेड आफूहरुले मागेको बताए । पौडेलले राम्रोसँग निर्माण गरिएका र उच्च रेटिङ भएका आयोजनाहरुको पनि राम्रो ग्रेडिङ भएकै पुनर्बीमा कम्पनीहरुले जोखिम सहजै लिने र दाबी भुक्तानी पाउन कुनै कठिनाई नहुने दावी गरे । 

उनले थपे, ‘हामीले कुनै पनि जलविद्युत आयोजनाहरुमा समस्या नआओस् भनेर उचित दर निर्धारण गरेका हौं । यसले भोली बीमा कम्पनीहरुले पनि दाबी भुक्तानीमा ढिलाई गर्ने अधिकार हुँदैन् भनेर हो । यसरी दर बढाउँदा जहाँसम्म महङ्गो भयो भन्ने कुरा छ, त्यसमा विदेशीले पुनर्बीमा गर्न चाहेको बीमा, बीमा नै गर्दैनौं भनेको ठाउँमा हामीले बजारको अध्ययन गरेर न्यायोचित ढंगले दररेट निर्धारण गरेको हो । अरु नियामक निकायले सहजीकरण गरे जस्तै हामीले पनि जे आवश्यक थियो, त्यही मात्र गरेका हौं ।’

Advertisement