रक्सी, चुरोट, ‘ननभेज’मूलक व्यापारबाट पैसा कमाउने प्रस्ताव आए, तर कहिल्यै स्वीकारेनौंः दुगड़

Advertisement

काठमाडौं । विवेक दुगड़ व्यापारिक घराना दुगड. समूहका एक प्रतिनिधि पात्र हुन् । नेपालको आर्थिक तथा व्यवसायिक विकासमा दुगड़ ग्रुपको योगदान महत्वपूर्ण छ । आफ्नै विशिष्ठ इतिहास पनि छ । त्यो विरासतलाई जोगाएर निरन्तरता दिने दायित्व दुगड़ समूहको छोरा पुस्ताका एक प्रतिनिधि विवेक दुगड़को काँधमा पनि आएको छ ।  

विवेक दुगड़ले एमभी दुगड ग्रुपका एक युवा उद्यमी हुन् । नेपालको निजी क्षेत्रको व्यवसायिक इतिहासमा दुगड़ परिवार शताब्दी अघिदेखि सक्रिय छ । दुगड़हरुले दाल, चामल, नुन, तेलदेखि कपडा हुँदै अटोमोबाइल्स, बैंक, बीमा, जलविद्युत जस्ता थुप्रै क्षेत्रमा लगानी गरेका छन् । त्यो व्यवसायिक साम्राज्यलाई जोगाउँदै फैलाउन विवेक लागिरहेका छन् ।

Advertisement

बाल्यकालदेखि नै व्यापारको ज्ञान

विवेकको बाल्यकाल व्यापारिक माहौलमै बित्यो । त्यतिबेला दुगड़ परिवार संयुक्त थियो । ‘व्यापारिक परिवारमा जन्मिएकोले व्यापारकै कुरा हुने नै भयो । प्रत्येक दिन डाइनिङ टेबलमा व्यापार व्यवसायकै कुरा हुन्थ्यो’, उनी भन्छन् । 

विवेक दुगड़का बुबाहरु चार भई थिए । चार भाईका आठ सन्तानमा उनी सातौं नम्बरमा पर्छन् । सानैदेखि व्यापारको कुरा सुन्दासुन्दै उनमा पनि व्यापारको रस बसिसकेको थियो । विवेक भन्छन्, ‘मान्छेले जे कुरा बढि हेर्छ । सुन्छ । त्यसैमा इच्छा हुन्छ ।’ 

विवेक सानो हुँदा दुगड़ समूहको घर र अफिस राजधानीको कान्तिपथमा थियो, जहाँ अहिले पनि उनीहरुको अफिस छ । घर पछाडीतिर सामानको गोदाम पनि थियो ।  ‘घरको माथिल्लो तलामा हामी बस्थ्यौं । तल अफिस हुन्थ्यो’ उनी भन्छन् । स्कुल पढ्ने र लेख्ने उमेरमा नै व्यापार कसरी गर्ने ? देखेभोगेका विवेक दुगड़ले भने, ‘हाम्रो गोदाममा सामान आउने जाने भइरहन्थ्यो । यति सामान आयो । यति गयो भनेर भनेको सुनिन्थ्यो । व्यापारी आउने जाने भेट्ने भइरहन्थ्यो । त्यतिबेला दुगड़ परिवारको सबैभन्दा ठूलो व्यापार कृषि थियो ।’

दुगड़ परिवारको एउटा विशेषता जसले जे काम हेर्छ, उसलाई अरुले सुझाव र हौसला दिने पनि हो । त्यही संस्कारले गर्दा विवेकलाई अघि बढन् सहज हुँदै गयो । 

आगलागीले दिएको धक्का
कृषि क्षेत्रबाट पछि दुगड़ समूहले विस्तारै अन्य क्षेत्रमा पनि लगानी विस्तार गर्दै गयो । विशेषगरी नेपालको पूर्वी क्षेत्रमा औद्योगिकीकरणमा यो समूहको ठूलो योगदान छ । त्यतिबेला आफ्ना बाबुहरु हात्तिमा चढेर कारखाना जाने गरेको इतिहास विवेकले सुनाए । 

उनी भन्छन्, ‘हाम्रो सल्भेन्ट फ्याक्ट्री थियो । सडक पहुँच थिएन फ्याक्ट्री जानका लागि हात्तिमा बसेर जानुपर्थो । फ्याक्ट्री पुग्न बिहान ३ बजे नै उठेर हिड्नु हुन्थ्यो बुबाहरु ।’ पछि उक्त कारखानामा आगलागी भएर ठूलो नोक्सानी भयो । त्यतिबेला आगो निभाउने दमकल पनि थिएन् । भारतबाट दमकल बोलाउनुपर्थ्यो । तर सडक यातायातको सुविधा पनि थिएन् । यस आगलागीले दुगड़ परिवारको व्यापारिक अस्तित्व नै संकटमा पर्ने हो कि ? भन्ने अवस्था पनि आयो । एक महिनासम्म आगो निभाउन समय लागेको विवेकले पीडादायक अवस्था बताए । यद्यपि दुगड़ परिवार आफ्नो पीडा र क्षतिलाई भुल्दै क्रमसः लयमा फर्किन सफल भयो । 

डाक्टर इन्जिनियर बने यत्रो व्यापार कस्ले हेर्छ ? 
व्यवसायी विवेक दुगड़को विद्यालय तहको अध्ययन मोर्डन इन्डियन स्कुलबाट भयो । त्यसपछि उच्च अध्ययनका लागि उनी कोलकाताको सेन्टजेभियर्स कलेज गए । त्यहाँ उनले विजनेश एडमिनिष्ट्रेशनमा स्नातकसम्मको अध्ययन गरे । अध्ययनका क्रममा डाक्टर, इन्जिनियर बन्ने कि भन्ने सोच उनमा नआउने होइन् । तर अभिभावकको इच्छा र दबाबलाई टार्नसक्ने अवस्था उनमा थिएन् । 

विवेक भन्छन्, ‘कहिले इन्जिनियर बन्ने कि ? कहिले डाक्टर बन्ने कि ? भन्ने सोच मेरो मनमा आउँथ्यो । तर, बुबाहरुको सोच भने कहाँ डाक्टर बन्ने ? कहाँ इन्जिनियर बन्ने ? यत्रो ठूलो व्यापार कसले हेर्छ ? भनेर भन्नुहुन्थ्यो । यसपछि म बिजनेश एडमिनिट्रेशन पढ्न कोलकाता गएको हुँ ।’ पढाईको विषयले पनि उनलाई धेरै व्यापारिक ज्ञान हासिल गर्न सहज भयो ।

व्यापार सिक्न चीन भ्रमण
दुगड़ परिवारको ठूलो व्यापारिक विरासतलाई निरन्तरता दिनुपर्ने अभिभारा विवेक दुगडमाथि पनि थियो । त्यो अभिभारा निर्वाह गर्न अनुभव र ज्ञान हासिल गर्नु जरुरी थियो । सोही क्रममा विद्यालय तहमा अध्ययन गर्दा नै उनी पटक पटक चीन भ्रमण गर्ने मौका पाए । उनी कक्षा ७–८ मा पढ्दादेखि बुबा (मोतीलाल दुगड)सँग चीन जान्थे । 

विवेक भन्छन्, ‘त्यो बेला हामी चीन वर्षमा दुई पटक जान्थ्यौं। दशैंअघिको चीन भ्रमण विशेष हुनेगर्थ्यो । आयातमा आधारित हाम्रो ठूलो काम थियो । बुबाले नै हाम्रो आयातको व्यापार हेर्नुहुन्थ्यो। त्यो जमानामा काम सिक्ने हिसाबले स्कुलको छुट्टि मिलाएर बुबासँग चीन जाने गर्थें । बुबाले कसरी कुरा गर्नुहुन्छ ? हेर्ने । सुन्ने गर्थें । त्यो कुरा हेर्दाहेर्दै एलसी भनेको के हो ? भन्सारमा कसरी कर लाग्छ ? कसरी सामान आयात हुन्छ ? थाहा भइसकेको थियो । नबुझेको कुरा बुबालाई सोध्थें ।’  

मगाएको सामान आएपछि कस्तो सामान मगाएको हो ? कस्तो सामान आइपुग्यो ? कसरी बिक्री भइरहेको छ ? यसरी बिक्री हुनेरैछ ? यसरी पैसा उठ्ने रैछ ? बिलिङ कसरी गर्ने ? धेरै कुरा विवेकले सिक्ने मौका पाउँथे । पढाई सकेर इण्डियाबाट फर्किएपछि उनलाई बुबा मोतीलाल दुगड़ले आयात व्यवसाय नै हेर्ने जिम्मा दिए । ‘मैले काम सम्हाल्दा एक सय भन्दा धेरै प्रकृतिको सामान आयात हुन्थ्यो । त्यतिबेला चकलेट, चुइङ्गमदेखि खाना बनाउने भाँडाकुँडाको समेत आयात दुगड ग्रुपले गर्थ्यो । त्यतिबेला ३५ बर्षदेखि दुगड़ समूहले यस्ता सामानहरु आयात गर्दै आएको थियो ।’ 

विखण्डनको पीडा
व्यापारिक घराना दुगड ग्रुप विखण्डनको पीडाबाट मुक्त हुन् सकेन् । व्यापार व्यवसायमा सफल हुँदै आए पनि पारिवारिक कारण दुगड ग्रुप विभिन्न समूहमा विभाजित भयो । तीन दशकअघि यो ग्रुप तीन वटा उपग्रुपहरु बन्न पुग्यो । 

विवेक व्यापारमा आउने बेला उनका बुबाहरुको अंशबन्डा पनि भइसकेको थियो । छुट्टिने कुरा भएपछि व्यापार व्यवसाय छुट्याएर सबै दाजुभाई काम गर्न थाले । त्यस क्रममा कागजी प्रक्रिया मिलाउँदा केही विवाद पनि भए । यद्यपि यो दुगड परिवारको नयाँ पुस्ताका लागि त्यति खुशीको कुरा भने थिएन् । यो विवाद मिल्न निकै समय पनि लाग्यो । त्यसको असर अटोमोवाइल व्यवसायसम्म पर्यो । 

अंशबण्डापछि मोतीलाल दुगड र विवेकका ठूलो बुबा तोलाराम दुगड सँगै व्यापार सुरु गर्ने योजना बने पनि सन् २०१५ मा फाटो आयो । तोलाराम दुगडको निधनपछि  टीएम दुगड ग्रुप भनेर उनका छोराले छुट्टिएर व्यापार गर्न थाले । यसले उनीहरुको चलिरहेको व्यापार व्यवसायलाई पनि ठूलै धक्का लाग्यो । विशेषगरी अटोमोवाइल व्यवसायमा एमभी दुगड ग्रुपले बढी क्षति भोग्नुपर्यो । 

पैसा कमाउने अवसर छोडेर ‘इथिकल’ व्यवसाय
विवेक दुगडको परिवारले कहिल्यै पनि पैसा कमाउने नाममा आफ्नो पारिवारिक र व्यवसायिक मूल्य मान्यतासँग सम्झौता गरेन् । पैसा कमाउने धेरै अवसर आए । तर त्यसले उनीहरुलाई आकर्षित गरेन् । उनी भन्छन्, ‘बुबाले अर्बको व्यापार बनाइदिए, म यसलाई खर्बको बनाउँछु भन्ने सोच कहिले पनि आएन् । बुबाले मलाई व्यापार सिकाउँदा त्यही कुरा नै सिकाउनुभएको छ ।’ 

सबैभन्दा पहिले दरबारमार्गको अन्नपूर्ण होटल सञ्चालन हुनेबेलामा साझेदारीको प्रस्ताव दुगड ग्रुपलाई आएको थियो । तर उनका बुबाले ‘‘ननभेज’को काम हामी कहिल्यै गर्दैनौं’ भन्दै प्रस्ताव अस्वीकार गरिदिए । किनभने दुगड परिवार जैन समुदायबाट आएको हो, जो कहिल्यै पनि काटमारको पक्षमा रहेन् । होटल सञ्चालन भएपछि माम्सहारी कामलाई समर्थन जनाउने कुरा हुन्छ, जुन दुगड परिवारलाई स्वीकार्य थिएन् । यस्तो आकर्षक ठाउँमा लगानी किन नगरेको ? भनेर केहीले विवेकको परिवारलाई गाली पनि गरेका थिए । 

त्यस्तै, नेपालमा पहिलो बियर उत्पादन गर्ने बेलामा पनि विवेकको परिवारलाई लगानीको अवसर आएको थियो । त्यो अवसर पनि उनको परिवारले अस्वीकार गर्यो । विवेक भन्छन्, ‘त्यो बेलामा स्टार बियर भनेर आएको थियो । त्यो बियरमा लगानी गर्ने प्रस्ताव पनि बुबाहरुले अस्वीकार गर्नुभयो । चारै दाजुभाईलाई यो कुरा थाहा थियो कि यसमा पैसा धेरै छ । पैसा कमाउने राम्रो उपाय छ । तर बुबाहरुले यसलाई अस्वीकार गर्नुभयो । यसले मेरो दिमागमा पनि यो कुरा पर्यो कि पैसा कमाउन जे पनि काम गर्नु हुन्न ।’ 

त्यस्तै, दुगड परिवारलाई आएको लगानीको अर्को महत्वपूर्ण अवसर भनेको चुरोट उद्योग हो । सूर्य टोबागो (सुर्य नेपाल प्रा.लि.)मा लगानी गर्ने अवसर आउँदा समेत विवेकको परिवार अगाडि सरेन् । ‘ब्रिटिस पाटीसँग मिलेर केही प्रतिशत हिस्सेदार बन्न पाउँछ भन्दा पनि हामीले छाडेको हो’ उनले भने, ‘मान्छेको हेल्थ खराब हुने काम हामी गर्दैनौं ।’ 

विवेकले थपे, ‘यी तीन वटै कुरा लोटरी लाग्ने जस्तै विषय थियो । पैसा कमाउन चाहने व्यापारीको जीवनमा यस्तो लोटरी एउटा पायो भने ठूलो कुरा हुन्छ । तर हामीले ३–३ वटा मौका छाड्यो । पैसा धेरै कमाउने, बिलेनियर बन्ने हाम्रो चाहना होइन् । इथिकल व्यवसाय गर्ने हाम्रो चलन हो ।’ 

मदिरा आयात गरेर बिक्री गर्ने र प्रशस्त पैसा कमाउने अवसर पनि दुगड समूहले लत्याएको थियो । नेपालमा पहिला विदेशी मदिरा आयात गर्न अनुमति थिएन् । सरकारले करिव २५–३० बर्षअघि पहिलो पटक मदिरा आयातलाई अनुमति दिँदा विवेकको परिवार टेलिभिजनमा बजेट भाषण सुनेर बसिरहेको थियो । मदिराको आयात खुला भएको कुरा सुनेपछि विवेकले बुबा मोतीलाल दुगडलाई मदिरा आयात गर्ने ? भनेर सोधे । बुबाले ‘तिमी ठूलो भइसकेको छ । आफै निर्णय गर’ भने । विवेकले रातभर सोचे ‘बुबाले जीवनभर यस्तो व्यवसाय गर्नुभएन् । मैले किन गर्ने ?’ त्यसपछि उनले आफ्नो सोच बदले । त्यतिबेला विवेकले सुनेको मदिराको नाम ‘ब्ल्याक लेवल’ आफूले मदिरा आयात नगर्ने निष्कर्षमा पुगेपछि साथीलाई आयात गर्ने भए गर भनेर सल्लाह दिए । साथीले केही दिनमै जोनीवाकर ब्ल्याक लेवलको डिलर सुरु गरे । 

विवेक दुगड भन्छन्, ‘अर्बमा भएको पैसालाई खर्बमा बनाऔं भनेर हामीलाई कहिले पनि सोच आएन् । जे व्यापार गर्यौं, त्यो इमान्दारिका साथ गर्यौं । पैसा उठाउने मान्छेले जे चिजमा पनि उठाउन सक्छ । आफ्नो भित्रबाट यो हुन पर्यो कि मैले कसैको नराम्रो गरेको छैन् । कसैलाई हानी पुर्याएको छैन् । अर्को कुरा मैले बेइमानी गरेको छैन् । यी तीन कुरालाई आधार मानेर हामीले व्यापार गर्नुपर्छ । यदि पैसा नै कमाउने हो भने ड्रग्सकै कारोबार गरे हुन्छ । यसमा सबैभन्दा धेरै पैसा छ । सुनको स्मग्लिङ गरे भयो ।’ 

आफ्नो पुर्खाबाट सिकेको कुरालाई निरन्तरता दिँदै मूल्यमान्यतामा आधारित व्यापार व्यवसाय गर्ने संस्कार पछिल्लो समयमा कम हुँदै गएको बेला विवेक दुगड र उनको परिवारमा भने विचलन देखिन्न । उनी भन्छन्, ‘मैले मेरो पुर्खाबाट सिकेको यही हो । म चाहान्छु मेरो सन्ततीले पनि यही कुरा सिकुन् । तब हामीले भोली गएर यो कुरा भन्न सकौं कि हामीले इथिकल व्यापार गरेका हौं ।’ 

सानो परिवार, सानै व्यापार
दुगड ग्रुपको सुरुको व्यापार कृषि हो । पछि उद्योगहरुमा यो समूहले लगानी बढायो । जुसदेखि घ्यू, स्टिलको समेत उद्योग दुगड समूहले सुरु गरेको थियो । साथमा आयातको पनि ठूलो व्यापार थियो । विवेक भन्छन्, ‘त्यतिबेला मलाई लाग्छ आयातमा हाम्रो व्यापार सबैभन्दा ठूलो थियो ।’ 

तर विवेक परिवारमा अंशबण्डा भएर तोलाराम दुगड र मोतीलाल दुगडको छुट्टै समूह भएपछि भने समस्या भयो । दुवै दाजुभाईको परिवार सानो । सानो परिवार भएपछि धेरैतिरको व्यापार हेर्न कठिनाई पर्ने आंकलन हुन थाल्यो । उनी भन्छन्, ‘हाम्रो बुबाहरुले जहिले पनि युवा पुस्तालाई नै महत्व दिएर काम गर्नुभयो । तर मेरो ठूलो बुबा र मेरो बुबाको सानो परिवार भयो । सानो परिवार हुँदा हामीले धेरैतिर व्यापार छर्यौं भने प्रतिस्पर्धामा कहिले पनि अघि बढ्न सकिँदैन् । यस्तो परिस्थितिमा हाम्रो व्यापारको दायरा पनि सानो गर्नुपर्छ भन्ने भयो । मेरो त्यो सुझावलाई बुबाहरुले पनि सही मान्नुभयो ।’ 

यद्यपि जति पनि व्यापार तोलाराम दुगड र मोतीलाल दुगड्ले छोडे, कुनैमा पनि उनीहरु घाटा भएर छोडेका होइनन् । ‘जुन व्यापारहरुबाट हामी निस्किएका छौं, कुनै पनि व्यापार घाटामा छाड्नु परेको छैन् । सबै हामीले नाफामै छाडेर अर्को व्यापारमा गएका हौं’, विवेकले भने, ‘हामीले सुरुबाट नै भिन्न भिन्न बास्केटमा अण्डा राखेका थियौं । अब हामी व्यापार यस्तो गरौं कि एउटा प्रोफेसनलको जिम्मा दिएर हामीले ओभरलुक गरे पुगोस । नकी दिनदिनै निर्णायक भूमिकामा रहनुपरोस् ।’ 

आयातले देश बन्दैन्
खाद्यान्नको व्यापार गर्दा धेरै झन्झट हुने व्यवसायी विवेक दुगडको अनुभव छ । उनी भन्छन्, ‘टाउको दुखाइको विषय बन्छ खाद्यान्नको व्यापार । अष्ट्रेलियाको मौसम के छ ? थाहा हुनुपर्छ । राजस्थानमा कति वर्षा छ ? त्यो पनि थाहा पाउनुपर्छ । नेपालमा के छ ? त्यो पनि थाहा पाउनुपर्छ ।’ 

कृषिपछि आयात व्यापारमा रमाएको दुगड परिवारले तीन दशकसम्म यो क्षेत्रमा ठूलो हिस्सा कायम राख्दै आयो । तर लामो समयको आयातको अनुभवपछि आयातले देश बन्दैन भन्ने निष्कर्षमा दुगड समूह पुग्यो । त्यसपछि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन थाल्यो । 

अहिले यो समूहको अटोवाइलबाहेक अरु सबै उत्पादनमूलक क्षेत्रमा लगानी छ । कतिपय व्यापारबाट बाहिरिएको पनि छ । जलविद्युत क्षेत्रमा निकै ठूलो लगानी गरेको दुगड समूह जलविद्युतसम्वन्धी सरकारको नीतिबाट भने सन्तुष्ट छैन् । बैंकिङ, बीमा क्षेत्रमा पनि यो एमभी दुगड ग्रुपको ठूलो लगानी छ । 

कृषिमा नगद भुक्तानीको पायोनियर
नेपालमा कृषि क्षेत्रमा नगद भुक्तानीको सुरुवात गर्ने पहिलो व्यापारिक समूह भनेकै दुगड समूह हो भन्ने तथ्यलाई अहिलेसम्म कसैले पनि नकार्न सकेको छैन् । दुगड समूहले गर्दा नै तत्कालिन समयमा कृषकहरुमाथि हुँदै आएको ठूलो शोषण कम गर्न सहयोग पुगेको थियो । 

विवेक आफ्नो पुख्यौली इतिहास सुनाउँदै भन्छन्, ‘यो देशमा कृषि व्यवसायमा क्यास पेमेन्टको सुरुवात गरेकै दुगड ग्रुपले हो, जुन कृषिको व्यापार गर्नेलाई थाहा छ । त्यो बेलामा कृषिमा व्यापार उधारोमा कारोबार हुन्थ्यो । पैसावाला मानिसले किसानबाट सामान लिने, यसपछि हामी यसलाई बेच्न लैजादैछौं भन्ने । बेच्ने भनेर लैजाने । तर पैसा किसानलाई नदिने । पैसा आउन टाइम लाग्छ भन्ने । अनि सोही पैसालाई ब्याजमा दिने । त्यो बेला त एकै खेती हुन्थ्यो । सोही पैसा ब्याजमा लाएर कृषकको शोषण गरिन्थ्यो । यो खालको परम्परा भारतमा पनि थियो । नेपालमा पनि थियो । तर दुगड समूहले सामान किन्दा तत्कालै किसानलाई नगद भुक्तानी दिन थाल्यो । यो कुरा बीचमा बसेर फाइदा लिनेहरुलाई मन परेको थिएन् । किसानहरु पनि सुरुमा त डरले सुरुमा नै नगद लिन डरायो । पछि उनीहरुले पनि आफूहरु शोषित भएको बुझ्दै गयो ।’ 

उनले थपे, ‘त्यो बेला जुन खालको व्यवस्था थियो, त्यो हाम्रो बुबाहरुलाई मन परेको थिएन् । धनगढी, नेपालगञ्जमा हामीले सिधै सामान लिन्छौ र सिधै पैसा दिन्छौं । यो हिसाबले काम गर्दा कृषिमा नगदको सुरुवात भयो । यसका लागि हामीलाई नेपाल बैंक लिमिटेडले पनि लिमिट दिएको थियो । यसपछि हामीलाई सामान बिक्री गर्न किसानहरुको दुई किलोमिटरसम्म लामो लाइन लाग्न थाल्यो । विचौलियाहरुलाई सामान बेच्न उनीहरुले छोडे । हामीले त त्यसको सुरुवात गर्यो । तर उखु किसानहरुको भने समस्या अझै पनि त्यही छ । सामान बेचेर पनि बर्षौंसम्म पैसा पाउँदैन् । आज घ्यू, चामल, दाल किन नगदमा कारोबार हुन्छ ः भने त्यही धनगढीबाट सुरु भएको लहर हो । पछि यो लहर विराटनगरसम्म पुग्यो ।’

यो ‘कर्पोरेट वार’ होइन विकृति हो
उद्योग व्यवसाय क्षेत्रमा बढ्दो अस्वस्थ प्रतिस्पर्धाप्रति व्यवसायी दुगड खुशी छैनन् । पहिला र अहिलेको व्यापार व्यवसाय गर्ने शैलीमा धेरै भिन्नता आएको उनको अनुभव छ । 

विवेक भन्छन्, ‘बुबाहरुको पालामा र अहिले धेरै फरक भइसकेको छ । मेरो झण्डै तीन दशकको यात्रामा व्यापारको कल्चर नै खराब भइसकेको छ । अहिले जस्तो पहिला कहिले पनि सुन्नु पर्दैन्थ्यो । पहिले एक व्यापारीलाई अप्ठ्यारो पर्यो भने अर्कोले सहयोग गर्ने संस्कार थियो ।’ व्यवसायीलाई थुनछेक गर्ने र हतोत्साहित गर्ने कामप्रति उनी खुशी छैनन् । बालुवाटारको जग्गा किनेको नाममा व्यवसायी मीनबहादुर गुरुङलाई पक्राउ गर्ने वा मारुती सिमेन्टका सञ्चालकलाई बिना अध्ययन पक्राउ पुर्जी जारी गर्ने जस्ता कुराहरुतर्फ संकेत गर्दै उनले यस्ता कुराले समग्र उद्योगी व्यवसायीको मनोबल गिर्ने बताउँछन् । 

विवेक भन्छन्, ‘विना उद्योगी व्यवसायी मुलुक समृद्ध हुँदैन् । म मनदेखि भन्न चाहान्छु व्यवसायीहरुलाई चोर व्यापारी भन्ने । गाली गर्ने । यो देश व्यापारी बिना चल्न सक्छ ? सबै ठाउँमा नराम्रा मान्छे हुन्छन् । एक जनाले गरेर सबैलाई दोष दिने, पक्राउ गरिहाल्ने प्रथा गलत छ ।’ 

प्रतिस्पर्धाका नाममा एकले अर्कोलाई सिध्याउन लाग्ने कुरा पनि निजी क्षेत्रमा हुनु राम्रो होइन् भन्ने उनको विचार छ । ‘सबैले आफ्नो व्यापार व्यवसाय गरेर खान पुग्छ । मेरो उसले खाने, उसले मेरो खाने, यो सोच गलत हो । अहिले जुन मैले हेरिराखेको छु, यो निजी क्षेत्रबीचको अस्वस्थ प्रतिस्पर्धा हो । म यसलाई कर्पोरेट वार भन्दिन । विकृति भन्छु । वार भनेको नराम्रो कुरा हो । व्यापारी रसिया र युक्रेन जस्तो त होइन नि’ विवेक दुगडको तर्क छ । 

उनको बुझाईमा व्यापारीहरु मिलेर काम गर्ने वर्ग हो । मिलेर काम गर्ने स्कुलिङबाट हुर्किएका विवेक व्यापार गर्ने नाममा एकले अर्कोलाई सिध्याउन लाग्ने कुरालाई राम्रो मान्दैनन् । उनी भन्छन्, ‘मैले त व्यापारी भनेको यो बुझेको होइन । मैले बुझेको सँगसँगै हात मिलाएर जानु हो । हात मिलाएपछि मात्रै सबैको हित हुन्छ । म त्यही स्कुलिङबाट आएको हो ।’

Advertisement

Advertisement