एक अभिकर्ता एक कम्पनीको नीति अलपत्र, धेरै नियन्त्रण भइसक्योः प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जारी गरेको एउटा बीमा अभिकर्ता एउटा कम्पनीमा मात्रै अवद्ध भएर काम गर्नुपर्ने ‘एक अभिकर्ता एक कम्पनी’ नीति अलपत्र परेको छ । 

यो नीति आंशिकरुपमा कार्यान्वयन भए पनि पूर्ण कार्यान्वयन गर्न अभिकर्ता र बीमा कम्पनी दुवै पक्ष अनिच्छुक देखिएका छन् । उनीहरुलाई कारवाही गर्नसक्ने अवस्थामा पनि प्राधिकरण छैन् । बीमा कम्पनी र अभिकर्ताहरुले यो नीतिमा प्राधिकरणले पुनर्विचार गर्नुपर्ने अडान राख्दै आएको छन् । 

Advertisement

प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले भने बीमा ऐनमै भएको यो व्यवस्था कार्यान्वयन गर्नुको विकल्प नभए पनि कार्यान्वयन हुन नसकेको तथ्य स्वीकार गरे । 

उनले भने, ‘हामीले अभिकर्ताहरुको अनावश्यक आवद्धता रोकौं भनेर ऐनमा भएको व्यवस्था पालनाका लागि निर्देशन दिएको हो । पूर्ण कार्यान्वयन हुन सकेको छैन् । यो व्यवस्थाले लाभ अभिकर्ताहरुलाई नै पुग्ने थियो । उहाँहरु आफै पछि हट्नु भएको छ ।’ अधिकारीले केही बीमा कम्पनीमा यस्तो दोहोरोपन देखिए पनि केहीमा भने लुकिछिपि बीमा गर्ने काम भइरहेको बताए । 

उनले थपे, ‘हामीले भेट्यौ भने त कारबाही नै गर्छौं । कम्पनीहरुले आफ्नो व्यवसाय बढाउन भित्रभित्रै उनीहरुलाई परिचालित गरेको हुनसक्छ ।’ केही बीमा कम्पनीमा मात्रै यो समस्या रहेकाले अरु बीमा कम्पनीले यसको विरोध गरेको हुनसक्ने अधिकारीको तर्क छ । 

यसअघि कर्पोरेट नेपालसँगको कुराकानीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले अभिकर्ताहरुले एकभन्दा बढी कम्पनीमा काम गरेको पाइए सोझै कारवाही गर्ने बताएका थिए । उनले भनेका थिए, ‘बदमासी त बदमासी हो नि । जुनसुकै कम्पनीको अभिकर्ता भए पनि यदी उसले दुई–तीनतिर काम गरेको छ भने बाँकी राख्दैनौ ।’

Advertisement