प्रायोजितरुपमा मेरो कार्यकालबारे विवाद सिर्जना गर्न खोजिएको हो, केही फरक पर्दैन्ः सिलवाल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आफ्नो कार्यकालको विषयमा प्रायोजितरुपमा विवाद सिर्जना गर्न खोजिएको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले यस्तो प्रायोजन गर्नेहरु को हो हुन् ? आफूले पहिचान गर्न लागेको पनि बताएका छन् । 

सिलवालले आफ्नो नियुक्तिको विषयलाई लिएर कसैले पनि दुविधामा पर्नुपर्ने अवस्था नरहेको बताए । मन्त्रिपरिषदबाट आफूले नियुक्ति पाएको र बीमा समितिको अध्यक्षको कार्यकाल कति हुने भन्ने कुरा कानुन नै प्रष्ट रहेपछि त्यसलाई विवादित बनाउन खोज्ने कि प्रायोजित कि अनपढ नभए के हो त ? भनेर प्रश्न गरे । 

Advertisement

सिलवालको नियुक्तिपत्रमा नै बीमा ऐन र अर्थमन्त्रालयसम्वद्ध सार्वजनिक पदाधिकारी तथा सदस्यहरुको नियुक्ति र मनोनयनसम्वन्धी मापदण्डको दफा उल्लेख गरेर नै नियुक्ति गरेको देखिन्छ । बीमा ऐन, २०४९ को दफा ६ मा प्राधिकरणको अध्यक्षको कार्यकाल चार बर्षको हुने स्पष्ट उल्लेख छ । त्यस्तै, सार्वजनिक पदाधिकारी तथा सदस्यहरुको नियुक्ति र मनोनयनसम्वन्धी मापदण्ड, २०७३ को ३ (ग)मा ६५ बर्ष ननाघेको व्यक्तिलाई नियुक्ति गर्न पाउने व्यवस्था छ । 

सिलवालले भने, ‘कुनै व्यक्ति ६५ बर्ष पुग्ने बित्तिकै अवकाश हुने हो भने ६५ बर्ष पुग्नुभन्दा एक दिनअघि नियुक्ति भएको रहेछ भने के हुन्छ ? एक दिनमै अवकाश हुन्छ ? म यत्रो बर्ष प्रशासनमा काम गरेर नियम कानुन हेरेर काम गर्दै आएको मान्छे मलाई थाहा हुन्न । नियमले नमिल्ने भए म आफै एक सेकेण्ड पनि पदमा बस्दिन । म गलत काम पनि गर्दिन् । गलत कुरामा सम्झौता पनि गर्दिन् । कसैले गलत प्रचार गरेर मलाई तर्साउन खोजेको हो भने, त्यो नगरे हुन्छ ।’  

उनले थपे, ‘कहिले साउन ८ बाट अवधि सकिने भन्याछ । कहिले उमेर मिलेन भन्या छ । कहिले अब कति दिन कार्यालय आउने ? भन्या छ । मलाई नियुक्ति सरकारले होइन् कि यिनीहरुले गर्या जस्तो । मन्त्रिपरिषदले नियुक्ति दिँदा पनि कानुन नियम नहेरी दिन्छ र ? सरकारले मेरो योग्यता नापेर पद दिएको हो । योग्यतामा प्रश्न भए, प्रक्रिया नमिलेको भए म उहिल्यै आफै छोडिसक्थें । कोही मेरो पछि लाग्नै पर्दैन् ।’ 

सिलवाललाई सरकारले २०७७ माघ १९ गते अध्यक्ष नियुक्त गरेको थियो । सोअनुसार उनको कार्यकाल अब डेढ बर्ष कार्यकाल देखिन्छ । २०८१ माघ १८ गते उनको कार्यकाल सकिन्छ । उमेर भए दुई कार्यकाल अध्यक्ष हुन पाइने नियम भए पनि आफ्नो हकमा भने उमर हदका कारण दोहोरिन् नमिल्ने सिलवालले स्वीकार गरे । 

यस्तो छ सिलवालको नियुक्तिपत्र र कानुनी व्यवस्थाः

Advertisement